श्रीदेवीको जीवनमा २८ फेब्रुअरीको रोचक संयोग



एजेन्सी। बलिउड अभिनेत्री श्रीदेवीको हिजो अन्तिम संस्कार गरिएको छ । पति बोनी कपुरले श्रीदेवीलाई मुखाग्नी दिएका थिए । उनको अन्तिम संस्कारअघि उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्न बलिउडका कैयौ कलाकार र उनका प्रशंशकहरु मुम्बईको सेलिब्रेशन स्पोर्टस क्लवमा पुगेका थिए । उनको अन्तिम संस्कार भने भिले पार्ले समाज दाहसंस्कार स्थलमा गरिएको हो ।

सडकमा श्रीदेवीको शवयात्रामा सर्वसाधारणको भीड लागेको थियो । शनिबार दुबईमा उनको निधन भएको थियो । मंगलबार उनको पार्थिव शरीर मुम्बई ल्याएर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको हो । बुधबार साँझ श्रीदेवीको अन्तिम संस्कार गरियो । ५४ वर्षीय श्रीदेवीको दुबईको एउटा होटलको कोठाको बाथटबमा शव फेला परेको थियो । दुबई प्रहरीले श्रीदेवीको निधन होश गुमेपछि दुर्घटनावश डुबेर भएको बताएको छ ।

श्रीदेवीको नाम बलिउडका ती सीमित अभिनेत्रीहरुका रुपमा लिने गरिन्छ जो बक्स अफिसमा सफलताको ग्यारेन्टीका रुपमा हेरिन्थ्यो । यसलाई संयोग वा त्रासदी नै भन्न सकिन्छ कि आजभन्दा ठिक २१ वर्षअघि २८ फेब्रुअरीकै दिन श्रीदेवीको चलचित्र ‘जुदाई’ रिलिज भएको थियो । संयोगले श्रीदेवीको अन्तिम संस्कार पनि २८ फेब्रुअरीकै दिन गरियो ।

प्रतिक्रिया दिनुहोस्