“प्रधानसेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७४” समापन



नेपाली सेनाद्वारा आयोजित “प्रधानसेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७४” को आज मिति २०७४ फाल्गुन १२ गते प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहल, लगनखेलमा एक विशेष समारोहका बीच समापन भएको छ । मिति २०७४ फाल्गुन ०६ गतेदेखि लगनखेलमा संचालन भएको सो प्रतियोगिता अन्तर्गत आज अपरान्ह नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चल भलिबल टीम बीच भएको फाईनल खेलमा त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल भलिबल टिमलाई ३–१ को सेटमा पराजित गरी प्रथम भएको छ ।

यसअघि, हिजो मिति २०७४ फाल्गुन ११ गते तेश्रो स्थानको लागि भएको खेलमा नेपाल प्रहरीको भलिबल टिमले सशस्त्र प्रहरी बलको भलिबल टिम माथि विजय हासिल गरी तेश्रो स्थान हासिल गर्न सफल भएको थियो । “प्रधानसेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७४” मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एक/एक तथा तत्कालिन पाँच विकास क्षेत्रका पाँच भलिबल टिमगरी जम्मा आठ टिमको सहभागिता रहेको थियो ।प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा आयोजित उक्त समापन समारोहमा प्रधानसेनापति श्री क्षत्रीले प्रतियोगितामा सर्बप्रथम हुने नेपाली सेनाको त्रिभुवन आर्मी क्लब टिमलाई प्रमाण पत्र, मेडल, ट्रफी र रु.३,००,०००।– (तीनलाख) को चेक प्रदान गर्नु भएको थियो । त्यसैगरि, उक्त समापन समारोहमा द्धितिय तथा तृतिय स्थान हासिल गर्न सफल क्रमशः पश्चिमाञ्चल भलिबल टिम र नेपाल प्रहरी भलिबल टिमले प्रमाण पत्र, मेडल तथा रु. १,५०,०००।– (एकलाख पचास हजार) रु. ७५,०००।– (पचहत्तर हजार) को चेक प्राप्त गरेको थियो ।

उक्त प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक त्रिभुवन आर्मी क्लब भलिबल टिमका प्रशिक्षक कपिल किशोर श्रेष्ठ, उत्कृष्ट स्पाईकर त्रिभुवन आर्मी क्लबका मान बहादुर श्रेष्ठ, उत्कृष्ट ब्लकर त्रिभुवन आर्मी क्लबका भैरव बम, उत्कृष्ट डिफेन्डर पश्चिमाञ्चल भलिबल टिमका दिपक थापा, उत्कृष्ट लिफ्टर नेपाल प्रहरी टिमका इम बहादुर मगर र उत्कृष्ट सर्भर पश्चिमाञ्चलका अमृत के.सी.ले पुरस्कार स्वरुप जनही रु. १०/१० हजार नगद प्राप्त गर्नु भएको थियो । उक्त प्रतियोगिता भरिकै सर्वोत्कृष्ट खेलाडी तर्फ त्रिभुवन आर्मी क्लबका ईश्वर के.सी. ले १६० सि.सि.को पल्सर मोटरसाईकल प्राप्त गर्नु भएकोे थियो । कार्यक्रमकै दौरान प्रधानसेनापति श्री क्षेत्रीले विगतमा नेपाली सेनाको तर्फबाट राष्ट्रिय भलिबल टिमको प्रतिनिधित्व गरी राष्ट्र तथा नेपाली सेनाको छबीलाई उच्च बनाउन अहम भुमिका खेल्नु हुने नेपाली सेनाका अवकाश प्राप्त खेलाडीहरु गम्भीर भण्डारी, छवीलाल वली, ईन्द्र कुमार श्रेष्ठ र यस भलिबल प्रतियोगितालाई विगत २ बर्षदेखि निरन्तर प्रायोजन गर्दै आई रहेको नेपाल ईन्भेष्टमेन्ट बैंकका प्रतिनिधिहरुलाई सम्मान गर्नु भएको थियो ।

उक्त समापन समारोह कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, रक्षा सचिव, नेपाली सेनाका बहालवाला तथा अवकास प्राप्त रथीबृन्दहरु, सुरक्षा निकायका प्रमुखहरु, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष, नेपाल इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत, खेलकुद सम्बद्ध पदाधिकारीहरु, अन्य सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिहरु, सञ्चारकर्मीहरुलगायत खेलप्रेमी दर्शकहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो । “प्रधानसेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७४” मा खेलाडीहरुले गरेको प्रदर्शन तथा खेल प्रतिको बिश्वासले यस प्रतियोगितालाई अझ बढी सार्थक तथा भविष्यमा पनि निरन्तरताको आवश्यकता महसुश गराएको छ । यस किसिमको प्रतियोगिताहरुले नागरिक—सैनिक सम्बन्ध सुदृढ एवम् प्रगाढ बनाउन मद्दत पुग्नुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको बिकासमा समेत थप टेवा पुग्न जाने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्