तुलादानका नाममा पशुपतिमा लुट, समाचार संकलन गर्न गएका पत्रकारलाई कुटपिट



१३ फागुन २०७४, काठमाडौँ ।

पशुपति क्षेत्रमा भइरहेको कोटीहोम तथा तुलादान कार्यक्रमको समाचार संकलन गर्न गएका पत्रकारहरुलाई आयोजकको समुहले कुटपिट गर्नुका साथै क्यामेरासमेत लुटेका छन् ।
पाशुपत क्षेत्रमा जारी कोटिहोम तथा तुलादानमा वैदिक संस्कृतिविपरित चार वर्ष उमेरदेखिका बालबालिकादेखि ५० वर्ष माथिका सबैलाई तुलादान गराएको सुनेर परिवर्तन खवर डटकमका पत्रकारहरु समाचार संकलन गर्न पुगेका थिए । आयोजकले पाँच लाख जनालाई तुलादान गराउने योजना भएको बताएपछि विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिमा उजुरी परेको थियो । संघका अध्यक्ष सागर थापासँगै बास्तविकता बुझ्न पत्रकारहरु कार्यक्रम स्थल पुगेका थिए । आयोजकसँग कुरा गर्दा केही ब्यक्तिले अपशब्द प्रयोग गर्दै संघका अध्यक्ष सागर थापालाई हातपात गरेका थिए । त्यसको फोटो तथा भिडियो खिचिरहेका परिवर्तनखबर डटकमका फोटो पत्रकार मेघराज पहाडीको क्यामरा उनीहरुले लुटे । त्यसपछि लात्ती र जुत्ताले कुटपिट गरी घाईते बनाएको परिवर्तन संचारकर्मी राजु पोखरेलले बताए ।

पशुपत क्षेत्रमा फागुन ४ गतेदेखि जारी कोटिहोम तथा तुलादानमा अहिलेसम्म ५० हजारभन्दा बढी व्यक्तिहरुले तुलादान गरेको आयोजकले बताएका छन् । हिन्दू सास्त्रीय पद्दतिअनुसार बयासी वर्ष चार महिनापछि मात्र तुलादान गराउनु पर्ने परंपरा रहेको जानकारहरु बताउँछन् । आयोजकले अहिलेसम्म तुलादानका नाममा करोडौं रुपैयाँ बटुलिसकेका छन् । त्यसरी जम्मा गरिएको रकम कसले, के प्रयोजनमा प्रयोग गर्ने भन्ने खुलाइएको छैन । आयोजकले बालबालिकालाई समेत तुलादान गराइएको छ । यसलाई धर्म बुझेकाहरुले ठगिको संज्ञा दिएका छन् । आयोजकलाई बोलाइएका महाराज जी भनिने ब्यक्तिले बच्चादेखि बृद्धसम्म सबैले तुलादान गराउन सक्ने दावी गरे । विश्व हिन्दू युवा संघका अध्यक्ष थापाले कुन शास्त्रमा उक्त कुरा लेखिएको छ भनेर प्रश्न गर्दा महाराजजी निरुत्तर भएका थिए । उनले भगवान कृष्णले समेत बाल्यकालमै तुलादान गरेको भनेर टारेका थिए ।


कार्यक्रम स्थलमा आयोजकले बोलाइएका धर्मगुरु भनिएका महाराज जी स्वयम् आक्रमक शैलीमा प्रस्तुत भएका थिए । त्यसपछि उनका समर्थकहरुले अपशब्द प्रयोग गरी विश्व हिन्दू युवासंघ अन्तरराष्ट्रिय संघका अध्यक्ष सागर थापामाथि हातपात गरे । आयोजकहरु अराजक शैलीमा प्रस्तुत भएपछि विश्व हिन्दू महासंघ प्रदेश (३ संयोजक तथा पशुपति मन्दिरका भण्डारी केदारमान भण्डारीले वातावरण सभ्य बनाउने प्रयास गर्दा उनलाई समेत हातपात गरिएको थियो ।

लाठी र भाटा बोकेका ५० भन्दा बढी ब्यक्तिले आक्रमण गर्न थालेपछि ज्यान जोगाउन गाह्रो भएको सँगै गएका पोखरेलले बताए । आयोजक समुहले खोसेको परिवर्तन खबरको क्यामरा सुरक्षाकर्मीले फिर्ता गराएका थिए । क्यामराको फोटो तथा भिडियो भएको ६४ जीबीको मेमोरीकार्ड, ब्यागमा भएको क्यामराको ब्याट्री, मोवाइलको पावर बैंक, फ्लास लाईटका ४ थान ब्याट्री अझै उनीहरुले नदिएको परिवर्तन खबरका अर्का संवाददाता राजु पोखरेलले बताए ।
सार्वजनिक हितको लागि भनी आयोजना गरिएको महायज्ञको प्रक्रिया बुझ्न जाँदा आफूमाथि अभद्र व्यबहार भएको भन्दै विश्व हिन्दू युवा संघ अन्तराष्ट्रिय समिति, विश्व हिन्दू महासंघ अन्तराष्ट्रिय समिति प्रदेश ३ ले संयुक्त रुपमा आइतबार २ बजे रिपोटर्स क्लवमा पत्रकार सम्मेलन गर्ने भएको छ ।

कुटपिट भएपछि परिवर्तनकर्मी ध्रुवप्रसाद घिमिरेले सागर थापासँग गरेको संक्षिप्त कुराकानीः


युवासंघको खास उद्देश्य के हो ?
हामी हाम्रो सनातन धर्म, साँस्कृति र वौद्दिक सभ्यताको वास्तविक जानकारी आम नेपालीहरुमा पुर्याउन चहान्छौ । यसको लागि पशुपति महोत्सवदेखि धर्मसभाको आयोजना गर्ने हाम्रो उद्देश्य छ ।  हिन्दू धर्मको नाममा सनातन वौद्धिक संस्कारविपरित हुँदै आएका जातिय छुवाछुत, लैगिक विभेद, जन्मको आधारमा गरिने ब्राम्हणको परिभाषा र हिन्दू धर्मको संरक्षकको नाममा निरंकुश शासन पुर्नस्थापना गर्ने प्रयासको विपक्षमा छौ । यस्ता कुरितिहरुलाई धर्मसभाको माध्यमले प्रस्ट पारी नेपालको रास्ट्रप्रमुख हिन्दु धर्मको संरक्षक हुने पद्धतिको थालनी गर्न चहान्छौ । हाम्रो तत्कालिन कार्य योजना धर्मसभाको आयोजना गरी हाम्रो सनातन सेवामुखी संकृतिलाई पुनर्जागृत गर्दै हिन्दू संकृतिको सहि भाव विस्तार गर्न चाहन्छौ ।

हिन्दू धर्मका संस्थाहरु विचमा एकता हुनु पर्ने । आज तपाई आफै सहभागी छलफलमा झडप भयो । कारण के हो ?
हो, हामी सबै ओमकार परिवार मिल्नु पर्छ । हाम्रो योजना यसैमा केन्द्रित हुनेछ । आज विश्व जागरण महाअभियानका संस्थापक श्रद्धेय श्री ईश्वरकृष्ण माहाराज जीद्वारा आयोजना तथा प्रवचन गरिएको पशुपति कोटिहोम महामहोत्सव – २०७४ मा हिन्दू दर्शन र संस्कार पद्धतिविपरित ४ वर्षका नावालकदेखि ५० वर्ष माथिका व्यक्तिहरुलाई विज्ञापनको माध्यामले प्रभाव पारी ठगी गरी अधार्मिक कार्य गरेको उजुरी परेपछि हाम्रो गम्भीर ध्यानाकर्षण भएको थियो । वास्तविकता पत्ता लगाउने उद्देश्यले गएका हाम्रो समुहका मलगायत साथीहरुलाई आयोजकले दुर्व्यवहार गरी हातपात समेत गरेपछि अवस्थाले फरक मोड लियो ।

यसलाई कसरी लिनु भएको छ?
हामी धर्मको नाममा ठगि हुनुहुन्न, हिन्दु संस्कारको अपव्याख्या गर्नु हुन्न भन्ने पक्षमा छौ । मेरो वुझाई अनुसार हिन्दु धर्मको कुनै ग्रन्थले ४ बर्षका नावालक बच्चा देखि ५० माथिका सवैलाई अनिवार्य तुलादान गर्ने व्यवस्था गरेको छैन । यो बारेमा हामीले बुझ्ने र जान्ने अधिकार छ । गुरु महाराज उपाधि विभूषित व्यक्ति नै हिंसात्मक गतिविधि सामेल भएपछि म आफै अचम्मित भएको छु ।

तुलादान भनेको के हो ?
सामान्य भाषामा भन्दा हिन्दु संस्कार अनुसार मानवीय कर्मपछि जीवनको अन्तिम समय वा ८२ बर्षभन्दा माथिका व्यक्तिहरुले जीवनको अन्तिम कर्मको रुपमा तुलादान गर्ने हाम्रो परम्परा हो । तराजुमा एकापटि मान्छे वस्ने र अर्कापट्टि सोहि तौल बराबरको सिक्का राखी जोखिएर आफ्मो तौल बराबरको पैसा दान गर्नु तुलादान हो । उहाँहरुले ४ वर्षदेखि १६ वर्ष उमेर समुहका हजारौ बालबालिकाहरुलाई तुलादान गराई सक्नु भएको छ । ५ लाख व्यक्तिहरुलाई तुलादान गराउने तयारीमा हुनुहुन्छ । यसप्रति हाम्रो गम्भीर ध्यान गएको छ । धर्मको अपव्याख्या गर्न पाईदैन । गलत कार्य प्रति सरोकारवाला सबै निकायले ध्यान दिनु जरुरी छ ।

अब के गर्नु हुन्छ ?
हामी हाम्रो सस्कार रक्षाको लागि छलफल र सम्मेलनको माध्यमले हाम्रो पुरातन संस्कार, संस्कृति बुझाउन चाहन्छौ । हामी कुनै खाले हिंसाको पक्षमा छैनौ । हाम्रो संस्कृति झुटो बोल्ने र ठग्ने होईन । हामी स्वार्थरहित र सेवामुखी संकृतिको विकास गर्न चाहन्छौ । यो सबै विषयमा हामी आइतबार दिनको २ बजे रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरी हाम्रो धारणा सार्वजनिक गर्छौ ।

विषयसँग सम्बन्धित थप समाचारहरु:

प्रतिक्रिया दिनुहोस्