२ दिन विद्यालय गएर ३० दिनको तलब बुझ्छन् : सरकारी विद्यालयका प्र.अ. रमेश खड्का



१० फागुन २०७४, काठमाडौँ ।

ध्रुवप्रसाद घिमिरे

एउटा विद्यालयमा जागिर खाएको शिक्षकले १ महिनामा कति दिन पढाउनु पर्छ ? लगभग २६ दिन । सार्वजनिक विदा, भैपरी विदा लगायत शिक्षा नियमावलीले तोकेको विदा लिएर बाँकी समय विद्यालय जानै पर्छ । यो नियम अरुलाई लागेपनि यसको अपवाद हुन – चार्टर प्रा.वि. बुढानिलकण्ठ -१० का प्र. अ. रमेश खड्का । उनी महिनामा २ देखि ४ दिन विद्यालय जान्छन् । कुनै दिन विद्यालयमा पढाउंदैनन् तरपनि महिना भरिको तलब लिन्छन । सरोकारवाला निकायलाई यो विषयमा जानकारी नै छैन ।

स्थानीय तहको निर्वाचनमा लोकप्रिय मत ल्याएर विजयी भएका जनप्रतिनिधिहरु जन विश्वासलाई दीगो बनाउन दिनरात खटिरहेका छन् । बूढानीलकण्ठ नगरपालिका वडा नं. १० ले पनि जन चासोका विषयहरु सम्बोधन गर्न योजना बनाएको छ । यस्तै सार्वजनिक विद्यालयको गुणस्तर सुधार गर्ने उद्देश्यले पूर्व शिक्षक तथा वडा सदस्य भुवप्रसाद रेग्मीलाई वडाको सार्वजनिक विद्यालय हेर्ने जिम्मेवारी तोकिएको रहेछ । वडा कार्यालयको अनुरोधमा वडा सदस्य भुवप्रसाद रेग्मीको नेतृत्वमा परिवर्तन खबरको टिम १० नं. वडाका २ ओटा सरकारी विद्यालयको छड्के अनुगममा सहभागी भयो । अनुगमनको क्रममा विद्यालय प्रशासन र विद्यार्थीसँग गरिएको छलफलबाट प्राप्त विवरण जस्ताको त्यस्तै, यस्तो भेटियो ।

चार्टर प्रा.वि. साप्रेढुंगा, फागुन ९ गते, समय : २:१५ बजे
विद्यालयमा परिक्षा भएकोले विदा भै सकेको थियो । २ जना शिक्षिकाहरु केहि विद्यार्थीहरुलाई अतिरिक्त कक्षामा पढाई रहेका थिए ।  विद्यालयमा अस्थायी शिक्षक प्र.अ. रमेश खड्काको मात्र सरकारी दरबन्दी रहेछ । ११० जना विद्यार्थी रहेको उक्त विद्यालयमा ४ जना शिक्षिकाहरु अति थोरै (मासिक चार हजार) पारिश्रमिकमा पढाई रहेका भेटियो । सरकारी स्केलको तलब खाएका प्र.अ. रमेश खड्का महिनामा २ दिन मात्र विद्यालय आउने र कुनै पनि कक्षामा नपढाउने गरेको पाईयो । विद्यार्थीको सूचनालाई पुष्टी गर्न खोज्दा उनले फागुन २ गते देखि हाजिरी नगरेको पाईयो । विद्यार्थीले दिएको जानकारी बारेमा शिक्षिकाहरुलाई सोध्दा विद्यार्थीको कुरा सत्य भएको बताए ।

प्र.अ.को बारेमा सरोकारवालाको धारणा :
रमेश खड्काले कसरी तलब खान्छन र अब कुन हिसावको कारवाही हुन्छ भन्ने हाम्रो प्रश्नमा बुढानिलकण्ठ नगरपालिका शिक्षा अधिकृत नवराज नेपालले आजसम्म निजको बारेमा कुनै गुनासो नआएको बताए । अहिले मात्र जानकारी आएकोले तत्काल यस बारेमा आवश्यक कदम चाल्ने उनको जवाफ थियो । विद्यालय व्यवस्थापन समिति पनि यसमा प्रमुख जिम्मेवार हुने उनको तर्क थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सँग सम्पर्क गर्दा छिमेकी विरामी भएर हस्पिटलको आकस्मिक कक्षमा भएकोले केहि प्रतिक्रिया लिन सकिएन।

विद्यालयमा अनुगमपछि पुस्तिकामा लेख्दै वडा सदस्य भुवप्रसाद ।

प्र.अ. खड्का विद्यालयमा सरुवा भएर आएको मितिदेखि हालसम्म वर्षमा २५ -३० दिन मात्र विद्यालयमा उपस्थित भएको र विद्यालय आएको दिनमा पनि कुनै दिन विद्यार्थीहरुलाई १ पिरियड नपढाएको पाईयो । सामाजिक न्यायको सिद्धान्तमा उनले आजसम्म बुझेको तलब फिर्ता गरी नियमित पढाउने शिक्षिकाहरुलाई वितरण गर्नुपर्ने हैन र ? भन्ने प्रश्नमा वडा नं. १० का वडा अध्यक्ष नवराज भट्टराईले सहमति जनाए । उनले थपे,” कानुनी प्रक्रिया बुझ्छु, गुणस्तरीय शिक्षाको लागि वडा/नगरपालिकाले जस्तोसुकै सहयोग वा कारवाही गर्न पनि पछि पर्दैन ।”

खड्कालाई गर्ने कानुनी कारवाही पछि थोरै तलबमा पढाईरहेका शिक्षिकाहरुलाई न्यायोचित तलब/सुविधाको व्यबस्था गर्ने तर्फ स्थानीय सरकारले ध्यान पुर्याउनु जरुरी देखिन्छ ।

बाल उद्दार मा.वि. कपन, फागुन ९ गते, दिनको ३:१० बजे
बाल उद्दार मा.वि. कपन पुग्दा ६ जना शिक्षक /शिक्षिकाहरु विदामा बसेको जानकारी पाईयो । कक्षागत रुपमा विद्यार्थीहरुसँग छलफल गर्दा प्रा.वि. तहका विभिन्न कक्षामा पढाउने शिक्षक राजेन्द्र बुढाथोकी नियमित रुपमा कक्षामा नआउने, बुझाएर नपढाउने भन्दै धेरै विद्यार्थीहरुले गुनासो गरे ।

मा.वि. तहको कक्षा ९ सी.का विद्यार्थीहरुले अंग्रेजी शिक्षक विष्णु घिमिरे नियमित नपढाउने, पढाउने दिनमा पनि ढिलो गरी कक्षामा आउने, अंग्रेजी व्याकरणको कुनै पनि पाठ नपढाउने गरेको गुनासो गरे । आफ्नो समस्या प्र.अ.लाई बताउँदा समेत प्र.अ. ले वास्ता नगरेको उनीहरुको गुनासो थियो । विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष नभएको र छानिएका सदस्यहरुको पनि बैठक नियमित नबसेको कारणले व्यवस्थापन समितिसँग गुनासोको विषयमा छलफल गर्न सकिएन । विद्यालयका प्र.अ. समेत विदामा भएकोले प्रशासनिक जवाफ पनि पाउन सकिएन ।

विद्यार्थीको गुनासो पछि विष्णु घिमिरेसँग कुरा गर्दा विद्यार्थीको गुनासोलाई उनले गम्भीर रुपमा लिएनन । उनको प्रतिक्रिया सुन्दा अध्यापन विषय प्रति उनको ज्ञान र ध्यान कमि पाईयो । विद्यालयमा डिजिटल हाजिरीको पद्दति भएपनि केहि शिक्षकहरु हाजिरी गरेर जाने अनि फेरि हाजिरी गर्ने समयमा आउने गरेको बुझियो ।

बालउद्धार मा.वि.का अंग्रेजी शिक्षक विष्णु घिमिरे

सरोकारवाला निकायप्रति विद्यालय र विद्यार्थीको अपेक्षा :
कक्षा ९ सी का विद्यार्थीहरुले अंग्रेजी शिक्षक फेर्नुपर्ने माग गरे । १० कक्षामा मात्र अतिरिक्त कक्षा संचालन हुने भएको र बाहिर अतिरिक्त पढ्नुपर्दा महँगो शुल्क तिर्नुपर्ने भएकोले कक्षा ८ र ९ मा समेत विद्यालयमा नै अतिरिक्त कक्षा संचालन हुनुपर्ने माग गरे । त्यसैगरी विद्यालय प्रशासनले विद्यालयमा भएका विद्यार्थी संख्याको आधारमा डेक्स/बेन्च अपुग भएकोले नगरपालिकाबाट सहयोगको अपेक्षा गरे ।

अनुगमनको नेतृत्व गर्नु भएका वडा सदस्य भुव प्रसाद रेग्मीले गुनासो र अपेक्षा प्रति वडा कार्यालयले तत्काल आवश्यक निर्णय गराउन आफुले पहल गर्ने बताए । अनुगमन नियमित गरेर गुनासो सम्बोधन गर्दै शिक्षाको गुणस्तर बढाउन आफु निरन्तर लागिरहने प्रतिवद्धता पनि रेग्मीले गरे ।

बाल उद्धार मा.वि.का विद्यार्थीसँग अन्तरक्रिया गर्दै वडा सदस्य रेग्मी

सरकारी विद्यालयमा पढाउने शिक्षक/शिक्षिकाहरु राजनीतिक पार्टीका सदस्य हुने, विद्यालयमा नियमित नजाने, सरकारी निकायको पुरस्कार र दण्ड नीति कडा नहुँदा सरकारी शिक्षाको स्तर अति नै कमजोर भएको छ । जसको कारणले आफ्नो हैसियत नभएका अभिभावकहरु आधा पेट खाएर भएपनि निजी विद्यालयमा पढाउन बाध्य भएका छन् । संस्थागत विद्यालयमा राजनीति गर्न नपाउने र प्रशासनले जस्तोसुकै कारवाही गर्न सक्ने भएकोले थोरै सुविधामा पनि राम्रो नतिजा ल्याउन सफल भएका छन् ।

अधिकार संम्पन्न हुँदै गरेको स्थानीय तहले सरकारी विद्यालयका राम्रा पक्षहरु यथावत राखी निजी विद्यालयले प्रयोग गरेको व्यबस्थापन पक्षलाई परिस्कृत रुपमा लागु गर्ने हो भने केहि वर्षमा नै सरकारी स्कूलको गुणस्तरमा आमुल सुधार गर्न सकिन्छ । देशको भविष्यका रुपमा रहेका लाखौ बालबालिकाहरुको गुणस्तरीय शिक्षाका लागि अब पनि सरोकारवालाहरुले साईत कुर्नु पर्छ र ?

प्रतिक्रिया दिनुहोस्