हुम्ला र डोल्पामा कहिले पुग्ला गाडी ?



देशका ७५ जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएका भए पनि कर्णालीका हुम्ला र डोल्पामा भने अझै मोटरबाटो पुग्न सकेको छैन । बजेट भाषणमा अर्थमन्त्रीले ‘यसै वर्ष हुम्ला र डोल्पामा सडक पुर्‍याउने लक्ष्य राखिएको छ’ भन्न थालेको वर्षौैँ बिते पनि यथार्थ भने भिन्न छ । अपर्याप्त बजेट, जटिल भौगोलिक बनोट र सुस्त निर्माणले अझै केही वर्ष गाडी हुइँकिन मुस्किल छ ।

हिल्सा–सिमकोट सडक आयोजना कार्यालयले छारे–खार्पुनाथ सडकखण्ड निर्माणका लागि टेन्डर आह्वान गरेको छ । हिल्सा सडक आयोजनाका अनुसार ४६.९० किलोमिटरका लागि टेन्डर आह्वान गरिएको हो । निर्माणका लागि सेनाको हेलिकोप्टरबाट सर्केगाँड गाउँपालिकामा स्काभेटर पुर्‍याइएको छ ।

चीनसँग जोडिन नौ किमि बाँकी
हुम्ला सदरमुकाम सिमकोटलाई चीनसँग जोडिन भने नौ किलोमिटर मात्रै बाँकी छ । नाम्खा गाउँपालिकाको ओखरथालसम्म गाडी पुगेको र त्यहाँबाट सिमकोटसम्म नौ किलोमिटर मात्रै बाँकी रहेको गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए ।

नाम्खाको मुचु तुम्कोट र हिल्साको बेलिब्रिज पुल निर्माणमा समय लागेकाले ढिलाइ भएकाले उनको भनाइ छ ।

२७ किमिलाई ५१ करोड
यता राष्ट्रिय सडक सञ्जालमा जोडिन पनि सल्लीसल्लाबाट दार्मासम्मका लागि १४ किलोमिटर सडक निर्माण भइरहेको छ । ग्रामीण पहुँच कार्यक्रमले सल्लीसल्लाबाट तीन वर्षअघि निर्माण सुरु गरेको हो । त्यस्तै गल्फादेखि श्रीनगरसम्म १२ किलोमिटर सडक निर्माण गरी अदानचुली गाउँपालिकामा सडक पुर्‍याइने ग्रामीण पहुँच कार्यक्रमले जनाएको छ ।

दुवै गरेर २७ किलोमिटर सडकका लागि ग्रामीण पहुँच कार्यक्रमले ५१ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । सल्लीसल्ला–दार्माका लागि २८ करोड २१ लाख ५२ हजार सात सय र गल्फागाँढ–श्रीनगर खण्डका लागि २२ करोड ९१ लाख ६१ हजार तीन सय ८० रुपैयाँ छुट्याइएको कर्मचारी शंकर पोखरेलले बताए ।

ट्र्याक खोल्दै सेना
कालिकोटको लालुबाट बाजुरा हुँदै हुम्लाको सिमकोटसम्म एक सय ९६ किलोमिटर सडकको ट्र्याक खेल्ने काम भइरहेको छ । नेपाली सेनाले जिम्मा पाएको हुम्लाको सल्लीसल्लासम्म एक सय ४५ किमिमध्ये कालिकोटको २२ किमि र बाजुराको २८ किमि ट्र्याक खोलिएको छ । कालिकोटको रातोडाँडाबाट बाजुराको कालीभिर, रूपखोलालगायत स्थानमा थप २० किमि ट्र्याक खोल्ने जिम्मा पनि सेनालाई नै दिइएको छ । सल्लीसल्लाबाट सिमकोटसम्मको ५१ किमि सडक भने सडक विभागले निर्माण गर्नेछ ।

दुनै पुग्न तीन किमि बाँकी
डोल्पा सदरमुकाम दुनैलाई सडक सञ्जालले जोड्न तीन किलोमिटर मात्रै बाँकी छ । जाजरकोट–डोल्पा सडकखण्डको एक सय १७ दशमलव ९ किमिमध्ये एक सय १४ किमि निर्माण भएको छ । अब दुनै जोड्न श्रीबिन्डे–त्रिपुराकोट खण्डको तीन किमि मात्रै बाँकी रहेको जनाएको छ । दुनै जोड्न जाजरकोटको त्रिपुराकोटबाट ०६७ मा सडक निर्माण सुरु भएको थियो । यो सडक तराईदेखि ठुलीभेरीको किनार भएर चीनको मोरिम्लासम्म पुग्नेछ ।

श्रीबिन्डे, सिउरेनी, चिप्ले, चुँगाडलगायत स्थानमा ‘कम्प्रेसर’ मेसिन राखेर काम भइरहेको जाजरकोट–डोल्पा सडकखण्ड निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले बताए । यो सडक निर्माणको अन्तिम चरणमा पुगेको पहाडीले बताए । उनले भने, ‘दुनैदेखि ६ घन्टामा खदाङ र त्यहाँबाट यातायात सञ्चालन भए दुई दिनमै नेपालगन्ज पुगिनेछ ।’

पाँच हजार मिटर उचाइमा मोटरसाइकल
डोल्पा सदरमुकाममा मोटरसाइकल गुड्न थालेका छन् । जुन समुद्र सतहबाट पाँच हजार मिटरको उचाइ हो । दुनैदेखि चीनको मरिम्ला नाकासम्म एक सय २० किमि छ । मरिम्लादेखि दुनैतर्फ ७० किमि सडक निर्माण भइसकेको छ । त्यस्तै दुनैदेखि उत्तरतर्फ २५ किमि पनि बनिसकेको छ । अब बीचको २५ किमि मात्रै बाँकी छ । त्यसपछि दुनै चीनसँग जोडिनेछन् ।

५–६ महिनाभित्रै डोल्पाको दुनैसम्म सडक पुग्ने डोल्पाका सांसद धनबहादुर बुढाले बताए । पाँच वर्षमा सबै गाउँमा बाटो पुग्ने बताउँदै बुढाले नयाँ पत्रिकासँग भने, ‘पाँच वर्षभित्र उत्तर चीनको मरिम्ला र क्याटोदेखि दक्षिण भारतको जमुना नाका (रुपैडिया)सम्म मोटरबाटो जोड्नेछौँ ।’

यो डोल्पासम्म पुग्ने मात्रै नभई राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बताउँदै सांसद सत्या पहाडीले भनिन्, ‘यसलाई चीन र भारत जोड्ने अन्तर्देशीय व्यापारिक मार्गका रूपमा पनि विकास गर्न सकिन्छ ।’

कर्णाली द्रुतमार्गको प्रस्ताव
प्रदेश ६ को राजधानी सुर्खेतबाट तिब्बतको हिल्सा जोड्ने गरी दु्रतमार्ग निर्माणका लागि कर्णाली विकास आयोगले १० वर्षे विकास योजनाको मस्यौदा तयार गरेको छ । यसमा प्रदेश सभा तथा प्रतिनिधिसभा सदस्यहरूले सहमति जनाएका छन् । आयोगको परिषद् बैठकले पास गरेपछि काम सुरु हुनेछ । यसमा करिब दुई खर्ब ७६ अर्ब रुपैयाँ लाग्ने आयोगको अनुमान छ । हुम्लाका प्रदेश सभा सदस्य दलबहादुर रावलले द्रुतमार्ग निर्माण गर्दा सुरुङ निर्माणमा जोड दिनुपर्ने बताए ।

दुई दशकमा ७१ किमि
हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न ०५५ मै निर्माण कार्य सुरु भएको थियो । तर, दुई दशकमा दुई सय ९० किलोमिटर सडक पनि बन्न सकेको छैन । उत्तरी हिल्सा नाकाबाट नाम्खा गाउँपालिकाको ओखरथलासम्म ७१ किलोमिटर सडक बनेको छ । त्यसभन्दा दक्षिणमा सडक नभएकाले हुम्लावासीलाई खासै सुविधा पुगेको छैन । कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमकोट सडकखण्ड निर्माण भइरहेको छ । कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको १५४ किलोमिटर सडक सेनाले निर्माण गरिरहेको छ ।

सडक खन्दा पागल भन्थे : जीवनबहादुर शाही, सांसद हुम्ला

हुम्लामा सडक बाटो जोड्न ०५५ मा नै प्रयास गरेको हुँ । सिमकोटदेखि हिल्सा सडक निर्माण योजना थियो । जिल्लाको बजेट करिब ६० लाख थियो । त्यसले सडक बनाउन पुग्ने त थिएन तैपनि प्रयास गरियो । डोजर चलाउन गएको छु । हेलिकोप्टरबाट ट्र्याक्टर लगेर पनि चलाइयो । कतिपयले मलाई पागल पनि भने । निर्माणको जिम्मा सेनालाई दिँदा ठेकेदारहरूले मुद्दा हाले । उत्तरी नाकाको बाटो खन्न लागेको भनेर गृहले सतायो ।

पाँच वर्षभित्र मोटरबाटो : धनबहादुर बुढा, सांसद, डोल्पा

पाँच वर्षभित्र डोल्पाका सबै गाउँमा मोटरबाटो पुर्‍याउने लक्ष्य लिएको छु । चीनको मरिम्ला र क्याटोदेखि दक्षिणको भारत जमुना नाका (रुपैडिया)सम्म जोडिनेछ । उत्तरको मरिम्ला बोर्डरदेखि ७० किमि सडक निर्माण भए पनि अहिले मोटरसाइकल गुडिरहेका छन् । दुनै जोडिएपछि गाडी गुड्छन् । तिब्बतको मरिम्ला क्याटोदेखि तिन्जे, धो, दुनै, जाजरकोट हुँदै भारतको जमुना नाका (रुपैडिया)सम्म जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस्