प्रथम मेयर कप क्रिकेट प्रतियोगिता शुरु



कपिलवस्तु, ८ फागुन
कपिलवस्तु नगरपालिकाको आयोजनामा प्रथम मेयर कप नकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ ।

फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताकाका विजेतालाई नगद रु २५ हजार र उपविजेता टोलीलाई नगद रु २० हजार र कप प्रदान गरिने प्रतियोगिताका संयोजक तथा कपिलवस्तु नगरपालिका–३ का वडाध्यक्ष प्रकाश गैरेले जानकारी दिनुभयो ।

प्रतियोगितामा नगरका आठ टोलीबीच प्रतिष्पर्धा हुने जनाइएको छ । युवालाई कुलतबाट बचाउन तथा शारीरिक सुगठनका लागि सचेत बनाउने उद्देश्यका साथ मेयर कपको आयोजना गरिएको प्रतियोगिताका संयोजक गैरेले जानकारी दिनुभयो ।

नगर प्रमुख किरण सिंहले यस वर्षबाट शुरु गरिएको मेयर कपलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । एक कार्यक्रमका बीच सोमबार तौलिहवाको बुद्धपद्धम माविको खेल मैदानमा नगरपालिकाका प्रमुख किरण सिंह, पूर्व राजदूत दीपकुमार उपाध्याय, पूर्वराज्यमन्त्री सुरेन्द्रराज आचार्य र संघीय संसद्का सांसद अतहर कमालले क्रिकेट खेलेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

प्रतियोगिताको उद्घाटनपछि मन्तव्य दिँदै पूर्व राज्यमन्त्री तथा नेपाली काँग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले नगरले शुरु गरेको मेयर कपले युवालाई सिर्जनशील बन्न सहयोग पु¥याउने बताउनुभयो ।

पूर्व राजदूत दीपकुमार उपाध्यायले नेपालले क्रिकेटसहितका खेलमा विश्वमै आफ्नो प्रदर्शनलाई सुधार गर्दै गएको बेला जिल्लामा समेत यस्ता खेललाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठको सञ्चालनमा सम्पन्न उद्घाटन सत्रको कार्यक्रममा क्रिकेट संघकी माया ज्ञवालीले मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्