राजनीतिका लागि समाजसेवा गरेको होइन : सुन्तली



सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को जोडीले लामो समयसम्म हास्य–कलाकारितामार्फत दर्शकको मुहारमा मुस्कान छरे । टेलिसिरियल, फिल्मदेखि स्टेज कार्यक्रमसम्म चर्को माग छ उनीहरुको । तर, ०७२ को भूकम्पपछि उनीहरु समाजसेवामा विछट्टै सक्रिय हुन थालेका छन् । काभ्रेमा पहरी बस्ती, सिन्धुपाल्चोकमा गिरानचौर बस्ती, महोत्तरीमा मुसहर बस्ती बनाएर वाहवाही पाएका यिनीहरुले रौतहटको सन्तपुरमा एकीकृत नमुना बस्ती निर्माण गरेर स्थानीयलाई हस्तान्तरण गरेका छन्, २३ माघमा । यही सन्दर्भमा घिमिरेसँग गरिएको कुराकानी :

बस्ती निर्माणको जोस र प्रेरणा कसरी पाउनुहुन्छ ?
सबैको साथ, समर्थन र विश्वासले गर्दा नै हो । पीडितलाई देखेपछि हाम्रो मन पोल्छ । त्यही भएर लागिपर्छौं । आफूले पहिले गरेको कामले थप आत्मविश्वास दिँदो रहेछ ।

अघिल्ला बस्ती निर्माणभन्दा यसपटक के भिन्न अनुभव गर्नुभयो ?
जति बढी काम गर्‍यो, उति परिपक्वता आउँदो रहेछ । सुरुमा भूकम्पपीडितका लागि बस्ती बनायौँ । मानवता र सद्भावका लागि मुसहर बस्ती निर्माण गरियो । यसपटक बाढीपीडितका लागि बस्ती बनायौँ । अहिले बनाएको बस्तीमा समुदायका लागि चाहिने विद्यालय, मन्दिर, टावर, बगैँचा सबै थोक छन् । समथर भूभागलाई पाँच फिट माथि उठाएर झलमल्ल बस्ती तयार पारेका छौँ ।

आर्थिक स्रोत कसरी जुटाइरहनु भएको छ ?
नेपाली र नेपालीभाषीबाटै हो । भुटानी समुदायको पनि ठूलो साथ छ । त्यस्तै, आशीर्वाद मिल्छ भनेर बिरामीहरूले पनि सहयोग गर्नुहुन्छ । विवाह, जन्मदिन वा अन्य उत्सवमा हुने खर्च कटाएरै हामीलाई रकम दिनुहुन्छ । यस्तै साथले त हो, हामीलाई हौसला दिने ।

यसपटक अझ ६० लाख रुपियाँ नपुगेको भनिन्छ । खास कुरा के हो ?
हो । तर, धेरैले सहयोग गर्ने वचन दिनुभएको छ । हामी त्यसकै प्रतीक्षामा छौँ । त्यसपछि बाँकी भएको रकम भुक्तानी गर्छौं । त्यति रकम उठ्छ भन्नेमा ढुक्क छौँ ।

कलाकारिताभन्दा समाजसेवालाई प्राथमिकता दिनुभएको हो ?
त्यस्तो त होइन । कलाकारिताले चिनाएको परिचयबाटै यो सम्भव भएको हो । हामी पनि रमाइरहेका छौँ । कलाकारका रूपमा समाजप्रति एउटा दायित्व हुन्छ, सकेसम्म त्यसलाई पूरा गर्ने प्रयास हो, हाम्रो । अचेल त बानी परिसक्यो, अरूलाई खुसी बनाउने, सहयोग गर्ने । तर, कलाकारितालाई बेवास्ता गरेको चाहिँ होइन ।

तपार्इंको जोडीले भोलि राजनीति गर्न अहिले समाजसेवामार्फत आधार बनाइरहेको आरोप पनि छ । के भन्नुपर्छ ?
यो त अरूको सोच हो । हामीले समाजसेवा पनि योजनामा गरेको होइन । परिस्थिति र इच्छाशक्तिले डोर्‍याएको हो । भोलि राजनीति गरिएला/नगरिएला, त्यो भिन्नै कुरा हो । तर, ‘ प्लेटफर्म’ तयार पार्न अहिले सेवा गरेको चाहिँ हुँदै होइन ।

कलाकार सहकर्मीबाट चाहिँ कत्तिको साथ पाउनुहुन्छ ?
हाम्रो निरन्तरता र इमानदारीले सबैको मन जितेको छ । हिजो खुट्टा तान्नेहरू अहिले मनबाटै साथ दिन थालेका छन् ।

सीतारामजी र तपाईंको समाजसेवाको विषयमा कत्तिको कुरा मिल्छ ?
हाम्रो सोच मिल्छ । इच्छाशक्ति पनि छ । काममा उहाँ बढी खट्नुहुन्छ । त्यसलाई मैले साथ दिने र दिशा दिने काम गर्छु । समझदारीकै फल हो यो ।

बेलाबेलामा पारदर्शिताका बारेमा पनि सवाल उठ्छ नि ?
त्यस्तो कुरा आउँदै गर्छ । तर, तीन करोड नेपालीलाई विश्वासघात कहिल्यै गर्दैनौँ । सबै हिसाबकिताब छ हामीसँग । त्यस्तो प्रवृत्तिबाट हतोत्साही हुने कुरा छैन ।

अब फेरि कुनै बस्ती बनाउने वा अरू कुनै समाजसेवामूलक कार्य गर्ने योजना छ ?
अब हामी पूर्ण रूपमा नमुना नेपालमा केन्द्रित हुन्छौँ । फिल्ड सर्भे भइरहेको छ, ललितपुरको लेलेमा । त्यसमा पनि सहयोगी हातहरू प्रशस्तै भेटिसकेका छौँ ।

प्रतिक्रिया दिनुहोस्