आर्मीलाई सिमरा गोल्डकपको उपाधि



त्रिभुवन आर्मी क्लबले शनिबार दोस्रोपटक सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । यस सिजनमा आर्मीले पाँचौँ उपाधिका रूपमा सिमरा गोल्डकप उचालेको हो ।

सिमरा रंशालामा सम्पन्न फाइनलमा आर्मीले उत्कृष्ट फर्ममा रहेको थ्री स्टार क्लबलाई २–० ले उपाधि हातपारेको हो । आर्मीले ०७१ मा छैटौँ संस्करणको सिमरा गोल्डकप पहिलोपटक जितेको थियो ।

दिनेश र नवयुगको गोल
आर्मीलाई उपाधि दिलाउने क्रममा दिनेश हेम्जन र नवयुग श्रेष्ठले समान एक–एक गोल गरेका थिए । पहिलो हाफमा थ्री स्टार र आर्मीबीच गोलरहित बराबरी भएको थियो । खेलको ५८औँ मिनेटमा दिनेशले आर्मीलाई अग्रता दिलाएका थिए ।

खेलको ७४औँ मिनेटमा आर्मीका नवयुगले २–० को अग्रता दिलाए । खेलको म्यान अफ दी म्याच त्रिभुवन आर्मीका सन्तोष तामाङ घोषित भए । खेलका विजेता तथा उपविजेतालाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले पुरस्कृत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्