एपिएफलाई १—० ले हराउँदै मनाङमस्र्याङ्दी सेमिफाइनलमा



सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा शनिबारबाट सुरु भएको तेस्रो हेटौँडा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मनाङमस्र्याङ्दीले एपिएफलाई १—० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

मनाङले खेलमा १ मात्र गोल पेनाल्टीबाट गरेको थियो । सो गोल सुजल श्रेष्ठले गरेका हुन् । खेलको २८औँ मिनेटमा एपिएफका सुरज गुरुङले मनाङका भिक्टरलाई डिबक्सभित्र ट्याकल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै श्रेष्ठले गोल गरेका हुन् ।

उनकै १ मात्र गोल मनाङको अन्तिम चारको यात्रामा काफी भयो । पहिलो हाफमा अग्रता लिएको मनाङविरुद्ध अन्तिम समयसम्म बराबरी गोल फर्काउने प्रयास एपिएफले गरेको थियो । तर, एपिएफले प्राप्त अवसरलाई सदुपयोग गर्न सकेन ।

मनाङका अञ्जन विष्टले डिबक्सभित्रबाट गरेको प्रहार पोस्टनजिकबाट बाहिरिएको थियो । पहिलो हाफमा एपिएफका रञ्जन विष्टको प्रहारलाई मनाङका गोलरक्षकले सहजै विफल बनाए ।

प्रतिक्रिया दिनुहोस्