कपन बहुमुखी क्याम्पसको ५ औँ वार्षिकोत्सव सम्पन्न



५ फागुन २०७४

काठमाण्डौ, ‘गुणस्तरीय शिक्षा आर्थिक मितव्ययीता, कपन बहुमुखी क्याम्पसको विशेषता’ भन्ने मूल सन्देशका साथ आज एक भव्य कार्यक्रम बीच पाँचौं बार्षिकोत्सव सम्पन्न भएको छ । प्रमुख अतिथिका रुपमा उपस्थित बूढानिलकण्ठ नगरपालिका प्रमुख उद्धव खरेलले ल्यापटपमा एक क्लिक गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

वार्षिकोत्सवमा बूढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राई विशेष अतिथि, वडा नं. १० का अध्यक्ष नवराज भट्टराई अथिति लगायत पुष्पलाल मेमोरियल क्याम्पस, जोसेफ मा.वि., रिलायन्स मा.वि., बाल उद्दार मा. वि. का प्रतिनिधिहरु, स्थानीय समाजसेवी, क्याम्पस आजीवन सदस्यहरु र अभिभावक समेत उपस्थित थिए । उपस्थितहरुलाई विधार्थीहरुले विविध सांस्कृतिक कार्यक्रमको माध्यमले मनोरञ्जन समेत गराएका थिए  ।

कपन बहुमुखी क्याम्पसले थोरै शुल्कमा गुणस्तरीय शिक्षा दिएको, विविध अतिरिक्त कार्यक्रमको माध्यमबाट प्रतिभावान विधार्थीहरुलाई अगाडि बढ्न प्रेरणा दिएको, प्रथम तथा राम्रो अंक ल्याउने विधार्थीहरुलाई विशेष छात्रवृतिको समेत व्यवस्था गरिएको जानकारी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कुमार ओझाले बताए ।

क्याम्पसमा थालनीको वर्ष २०६९ सालमा ४० जना विद्यार्थीले पठनपाठन गरेका थिए भने अहिले २०७४ सालमा विद्यार्थी संख्या ४२६ जना रहेका जानकारी समेत कार्यक्रममा गराइएको थियो । २६४ आजीवन सदस्यहरुको विशेष सहयोग मार्फत संचालित क्याम्पसमा स्नातक तहका बिबिएस र बीए गरी दुई संकायमा पठनपाठन हुने जानकारी समेत गरिएको थियो ।

व्यबस्थापन समितिका अध्यक्ष कुमार ओझाको अध्यक्षतामा भएको कार्यक्रम सहायक क्याम्पस प्रमुख डोर प्रसाद आचार्यले संचालन गरेका थिए भने व्यवस्थापन समितिका उपाध्यक्ष ठाकुर प्रसाद खकुरेलले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्