बगरलार्इ ह्याप्पी ल्यान्ड बनाए युवाले



बिर्तामोड, ५ फागुन

स्वदेशमा रोजगार पाइएन भन्दै दैनिक सयौं युवा खाडीतर्फ हानिन्छन्। तर, मिहिनेत र लगानी गर्नेलाई स्वदेशमै पनि धेरै अवसर छन्। यस्तै अवसरलाई सदुपयोग गरेका छन् झापा कन्काई नगरपालिकाका दुई युवाले।

कन्काई नगरपालिका २ का काका–भतिज मनोज शिवाकोटी र दिनेशले सन्का खोलाको चार बिघा प्रयोगविहीन जग्गालाई सिँगारेर पर्यटक भित्राउन सफल भएका छन्। बगरलाई सजाउन र त्यसलाई आम्दानीयोग्य बनाउन दुवैले निकै मिहिनेत गरेका छन्। बगरलाई मनोरञ्जन क्षेत्र बनाएपछि अहिले त्यहाँ घुम्न जानेको भीड थेगिनसक्नुको हुन थालेको छ।

‘पहिले आफ्नै लगानीमा स्कुल खोल्न भनेर सो क्षेत्रमा काम सुरु गर्‍यौं, तर विद्यालय प्रक्रिया लामो हुने भएपछि ज्ञान दिने क्षेत्र नै खोलौं भन्ने सोच आयो त्यसैले मनोरञ्जनसँगै ज्ञान पनि लिने ठाउँको रूपमा ‘ह्याप्पी ल्यान्ड’ नामाकरण गरी काम सुरु गरेका हौं,’ सञ्चालकमध्येका एक मनोजले भने।

सो क्षेत्रलाई डाँडा बनाउँदै डाँडालाई ‘सेल्फी डाँडा’ नामाकरण गरिएको र सोही क्षेत्रभित्र बगैंचा, पार्क, स्विमिङ पुल, होमस्टेसँगै धिमाल, थारू, गुरुङ र राजवंशी जातिका संग्रहालय र संस्कृति जोगाउन उनीहरूको झाँकी तथा नृत्य प्रस्तुत गर्ने स्थानसमेत बनाइएको मनोजले जानकारी दिएका छन्।

मनोज भन्छन्, ‘विद्यालयले पनि शिक्षा दिने नै हो, हामीले पनि एकै ठाउँबाट धेरै शिक्षा लिने वातावरण मिलाएका छौं, यहाँको बनावट, पार्क, पोखरी, बगैंचा र डाँडाबाट विज्ञान पढ्ने विद्यार्थीले धेरै सिक्न सक्छन्।’ विद्यार्थीलाई नै लक्ष्य गरी ठूलो क्षेत्रमा यो पार्क खोलिएको बताउँदै मनोजले व्यवस्थापनको पाटोलाई मुख्य प्राथमिकता दिएको बताए।

पहिला देशभर पाइने तर अहिले लोप हुन लागेका जीव, तिनका तस्बिर, मूर्ति साथै देशैभरका स्थल तथा जलप्राणी, फलका प्रजाति सबै यसै क्षेत्रमा पाइने भएकाले विद्यार्थीका लागि घुम्न र नयाँ कुरा सिक्न यो क्षेत्र उपयुक्त भएको पाक घुम्न आएका कनकाई नगरपालिकाका स्थानीय शिक्षक शिव थापाले बताए।

झापामा बिदा वा फुर्सदको समयमा घुम्न जाने धेरै ठाउँ भए पनि फरक अनुभूतिसहितको स्थानका रूपमा ह्याप्पी ल्यान्ड स्थापना भएको राम्रो भएको थापाले बताए। नेपालका धैरै विद्यालयले अवलोकनका लागि भन्दै भारतका विभिन्न स्थानमा विद्यार्थी लैजाने भएकाले देशमै ‘साइन्स सिटी’ निर्माण गरी विद्यार्थीलाई शिक्षा दिने उद्देश्यले निर्माण भएको यस ल्यान्ड निर्माणमा स्थानीयले पनि प्रोत्साहन गरेका उनले बताए।

ह्याप्पी ल्यान्ड नयाँ गन्तव्य भएकाले घुम्न र अवलोकन गर्न आउनेको संख्या पनि बढेको सञ्चालक मनोज बताउँछन्। सो स्थान दैनिक करिब हजार बढीले अवलोकन गर्ने उनले बताए। बिदाका दिन उक्त संख्या झनै बढ्ने पनि उनले बताए।

पाँच करोडको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो क्षेत्रमा संरचना निर्माणको काम अझै बाँकी र निर्माण कार्य जारी रहको सञ्चालक दिनेश बताउँछन्। कन्काई नगरपालिकाले पनि सो क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा प्रोत्साहित गर्दै आवश्यक सहयोग गर्ने बताएको दिनेशले बताए।

यस क्षेत्रमा युवा वर्ग र विशेषगरी विद्यार्थीको आकर्षण बढी रहेको पाइएको छ। समथर भागमा कृत्रिम पहाड बनाइएको र सो पहाडको अग्लो भागमा चढी फोटो खिच्ने अन्य स्थानको अवलोकन गर्नेको संख्या बढी पाइएको अवलोकनमा पुगेकी स्थानीय प्रज्ञा ढकालले बताइन् । अन्नपूर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस्