फ्यान संवाद : श्रीमतीकै अघि युवतीले अँगालो हाल्न भनिन्



सत्यराज आचार्य नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक हुन् । करिब २५ वर्षदेखि सांगीतिक क्षेत्रमा रहेका आचार्यले २ हजारभन्दा बढी गीतमा स्वर दिइसकेका छन् । उनी गायक मात्र नभएर अभिनेता पनि हुन् । उनले ‘आचार्य’, ‘कर्कश’लगायतका चलचित्रमा अभिनय गरिसकेका छन् । पछिल्लोपटक अभिनय गरेको चलचित्र ‘साढे सात’ फागुन ११ गते प्रदर्शनमा आउँदै छ । यसरी गायन र अभिनय यात्रामा अनवरत रूपमा लागिरहने आचार्यका फ्यान पनि त्यत्तिकै छन् । तिनै फ्यानका किस्सा उनले यसरी खोले :

बुवाका फ्यान नै हाम्रा फ्यान भए
सुरुवाती चरणमा जब म र स्वरूप सांगीतिक क्षेत्रमा प्रवेश ग¥यौँ, त्यो वेलामा जसले बुवालाई मन पराउँथे, सुन्न रुचाउँथे उहाँहरूले भक्तराजका छोराहरू पनि सांगीतिक क्षेत्रमा आए, अब उनीहरूले यो क्षेत्रलाई पूर्णता दिन्छन् भनेर उत्साहित हुनुहुन्थ्यो । त्यो वेलामा सिनियरदेखि जुनियरहरू हाम्रो फ्यान भएर आउनुभयो । त्यो हाम्रा लागि एकदमै खुसीको कुरा थियो । किनभने, कतिपय कलाकारको काम गर्दै गएपछि व्यक्तिगत रूपमा फ्यान हुन्छन् । तर, हाम्रोचाहिँ सुरुवाती चरणबाटै भए ।

कोल्डस्टोरमा फ्यानका चिठी आउँथे
त्यतिवेला अहिलेकोजस्तो टेलिफोन, मोबाइल, सामाजिक सञ्जालको व्यापकता थिएन । जसले गर्दा फ्यानहरूले हामीलाई सीधा सम्पर्क गर्न पाउँदैनथे । त्यसैले मनमै सजाएर राख्थे । तर, कतिपयले हामीलाई चिठी पठाउनुहुन्थ्यो । मेरो आफ्नै पोस्टबक्सचाहिँ थिएन । जसले गर्दा मेरो घरनजिकैको चोकमा रहेको राजेश कोल्डस्टोरमा चिठी आउँथे ।

धरानकी युवतीले बिहे गर्छु भनेपछि।।।
धरानकी एउटी युवतीले चिठी लेख्नुभएको थियो । उहाँ मेरो डाइहार्ड फ्यान हुनुहुँदो रहेछ । उहाँले चिठीमार्फत मलाई तपाईं एकदमै मनपर्छ, मैले आँखा चिम्लिएँ भने पनि श्रीमान्को रूपमा देख्छु, तपाईंसँग विवाह गर्न मन छ भन्नुभयो । म त छक्क परेँ । तर, मैले कुनै रिप्लाई दिइनँ ।

जाँड खाएपछि फोन गर्ने फ्यान
बिस्तारै मैले गाएका गीत हिट हुँदै गए । अनि मलाई सत्यराज आचार्य भनेर चिन्न थाल्नुभयो । त्यसपछि मलाई फ्यानहरूले फोन गर्न थाल्नुभयो । यतिसम्मकी बेलुका जाँड खाएर मातिन लागेपछि मलाई फोन गरेर एक लाइन गीत गाइदिनुस् न भन्ने धेरै हुनुहुन्छ । अनि मैले फोनबाटै गीत गाइदिन्थेँ ।

फ्यानले लेखेका गीत पनि गाएको छु
मेरा कतिपय फ्यानले गीत पनि लेख्नुहुँदो रहेछ । अनि मलाई फोन गरेर दाइ म तपाईंको डाइहार्ड फ्यान हुँ, मैले एउटा गीत लेखेको छु तपाईंले गाइदिनु, म तपाईंको आवाजमा मेरो गीत सजाउन चाहन्छु भन्नुहुन्छ । यसरी फ्यानहरूले आग्रह गरेपछि मैले उहाँहरूको गीत गाइदिएको छु ।


खुट्टा ढोग्न आउने फ्यान
हामीले ०५९ सालमा कान्तिपुर टेलिभिजनमार्फत सत्य स्वरुप सो गरेका थियौँ । त्यहाँ लो लेभलका मानिसलाई ल्याएर गायक बनाउँथ्यौँ । त्यो वेलामा हामीले भाँडा माझ्नेदेखि फोहोर उठाउने मानिसहरूको गीत रेकर्ड गराएका थियौँ । जुन १२ इपिसोडसम्म चल्यो । त्यो वेलामा फ्यानहरू हामीलाई भेट्न कान्तिपुर टेलिभिजनको गेटमा कुरेर बस्नुहुन्थ्यो । अनि हामीलाई भेटेर उहाँहरूले खुट्टा ढोग्न आउनुहुन्थ्यो । हामीले त्यस्तो काम गरेकोमा अहिले सम्झँदा पनि आनन्द आउँछ ।

श्रीमतीकै अघि युवतीले अँगालो हाल्न भनिन्
केही समयअघि म श्रीमतीसहित अस्ट्रेलिया गएको थिएँ । मैले त्यहाँ फ्यानहरूलाई भेट्ने मौका पाएँ । एक युवतीले श्रीमतीकै अगाडि मलाई अँगालो हाल्नुस् न भनिन् । मलाईचाहिँ अलि अप्ठ्यारो महसुस भयो । तर, त्यो कुरा श्रीमतीले बुझिसकेकी थिइन् ।

श्रीमान् छैन भनेर बोलाउने कलंकीकी एक महिला
कलंकी बस्ने एकजना महिला मेरो फ्यान हुनुहुँदो रहेछ । आजभन्दा ३ वर्षअघिको कुरा हो । उहाँले मलाई कहिलेकाहीँ फोन गर्नुहुन्थ्यो । बिस्तारै बेलुका पनि फोन गर्न थाल्नुभयो । उहाँले फोन गर्नेक्रम बढ्दै जान थाल्यो । मैले त्यसलाई सामान्य रूपमा लिन्थेँ । उहाँले घरिघरि फोन गरेको देख्दा कहिलेकाहीँ त दिक्कै लागेर फोन उठाउँदिनथेँ । अनि उहाँले चाहिँ के तपाइँंले मलाई इग्नोर गर्न खोज्नुभएको हो, तपाईंले मेरो फोन रिसिभ गर्नुभएन मैले त रक्सी खाइदिएँ भन्न थाल्नुभयो । मलाई झन् तनाव भयो । उहाँले मलाई फेरि बेलुका पनि फोन गर्न थाल्नुभयो । मलाई उहाँको घरमा खाना खान आउनु भनेर बोलाउन थाल्नुभयो । म कुनैदिन आउँला भनिदिन्थे । यहीक्रममा उहाँले मलाई मातेर नै बोल्न थाल्नुभयो । कहिले त मेरा घरमा आउनु भनेर रुनु हुन्थ्यो । उहाँ विवाहित हुनुुहुँदो रहेछ अनि कहिलेकाहीँ त मेरो घरमा श्रीमान् हुनुहुन्न आज आउनु न पनि भन्न थाल्नुभयो । त्यसपछि मैले उहाँको श्रीमान्सँग फोनमा कुराकानी गरेँ । उहाँ मानसिक रोगी हुनुहुँदो रहेछ ।

फोन गरेर रिस उठाउने झापाकी युवती
एकजना झापाकी युवतीले मलाई निरन्तर फोन गरिराख्नुहुन्थ्यो । यो धेरै वर्षअघिको कुरा हो । त्यो वेलामा हाम्रो धेरै सुटिङ हुन्थ्यो । उहाँले फोन गरेर सारै तनाव दिनुहुन्थ्यो । तपाईंको फ्यान हुँ भन्नुहुन्थ्यो । एकदिन मलाई साह्रै रिस उठ्यो अनि मेरो एउटा गीत भन्नुस् त भनेँ, तर उहाँले मेरो गीत एउटा पनि भन्न सक्नुभएन ।

म्यासेज रिप्लाई नगरेको भनेर धम्क्याउने र घुक्र्याउने पनि छन्
म कहिलेकाहीँ फुर्सद भएको समयमा फेसबुकमा आउँछु । त्यो वेलामा थुप्रै फ्यानले म्यासेज पठाउनुहुन्छ । सुरुमा त राम्रै शैलीमा म्यासेज गर्नुहुन्छ । तर, मैले म्यासेजको रिप्लाई दिन भ्याउँदिन । अनि तैँले भाउ दिन लाग्या, तैँले सान दिएको भनेर घुर्कीलगाउने अनि थर्काउने गर्नुहुन्छ । जसले गर्दा म त्यति धेरै अनलाइन पनि बस्दिनँ ।

७२ पटक एउटै कुराले दिक्क लगाउने फ्यान
केही समयअघि म एउटा कार्यक्रममा अमेरिका गएको थिएँ । त्यहाँ करिब ६० वर्षको मानिससँग मेरो भेट भयो । उहाँले हल्का ड्रिंक्स पनि गरिरहनुभएको थियो । मलाई भेटिसकेपछि म तपाईंको एकदमै फ्यान हो, तपाईंलाई भेट्नु मेरो भाग्यको कुरा हो भन्नुभयो । मैले धन्यवाद भनेँ । अनि एकछिनपछि आएर तपाईंलाई भेट्नु भाग्यको कुरा हो भन्नुभयो । फेरि आएर त्यही कुरा ७२ पटकजति भन्नुभयो । अनि मलाई सारै रिस उठ्यो । मैले पनि उहाँलाई तपाईंले मलाई भेट्नु तपाईंको भाग्यको कुरा रहेछ मैले तपाईंलाई भेट्नुचाहिँ आज ठूलो दुर्भाग्य रहेछ भन्दिएँ । त्यसपछि उहाँ मेरो अगाडि आउनै छाड्नुभयो ।

प्रस्तुति : महेश तिमल्सिना / तस्बिर : चन्द्रकला क्षेत्री (गज्ज़ब)

प्रतिक्रिया दिनुहोस्