सिरहा खुल्ला दिसामुक्त जिल्ला बन्दै



लहान, ४ फागुन : सिरहा जिल्लालाई प्रदेश नं २ कै पहिलो खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ ।

जिल्लाका ९९ दशमलव ६९ प्रतिशत भन्दा बढी घरधुरीमा शौचालय निर्माण भइसकेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिरहाका प्रमुख राजेश कुशवाहाले जानकारी दिनुभयो ।

प्रमुख कुशवाहाका अनुसार सिरहाको कूल एक लाख १८ हजार ५९८ घरधुरीमध्ये हालसम्म एक लाख १८ हजार २३६ घरधुरीमा शौचालय निर्माण भइसकेको छ । बाँकी रहेको करिब १ प्रतिशत अर्थात ३६२ घरधुरीमा पनि शौचालय निर्माण अन्तिमचरणमा पुगेको उहाँले बताउनुभयो ।

शौचालय बनाउन बाँकी रहेको घरधुरीमा पनि छिट्टै शौचालय निर्माण भएपछि जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिने प्रमुख कुशवाहाले बताउनुभयो ।

उहाँका अनुसार, प्रदेश नं. २ का आठ जिल्लामध्ये सिरहामा ९९ दशमलव ६९ प्रतिशत, सप्तरीमा ९६ प्रतिशत, धनुषामा ८७ प्रतिशत, महोत्तरीमा ८२ प्रतिशत, सर्लाहीमा ८२ प्रतिशत, बारामा ६७ प्रतिशत, पर्सामा ८३ प्रतिशत र रौतहटमा ८७ प्रतिशत घरधुरीमा शौचालय निर्माण भएका छन् ।

यसरी हेर्दा सबै भन्दा बढी सिरहामै शौचालय निर्माण भइसकेकोले २ नं प्रदेशकै पहिलो खुल्ला दिसामुक्त जिल्ला सिरहालाई नै बनाउने हाम्रो तयारी रहेको प्रमुख कुशवाहाले बताउनुभयो ।

हालसम्म सिरहाको १७ वटा स्थानीय तहमध्ये ११ वटा स्थानीय तह खुल्ला दिसामुक्त घोषणा भइसकेको र ६ वटा स्थानीय तह पनि खुल्ला दिसामुक्त घोषणाको अन्तिम चरणमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लहान सिरहाले जनाएको छ ।

सिरहाको धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, कल्याणपुर नगरपालिका, गोलबजार नगरापलिका, कर्जन्हा नगरपालिका, अर्नामा गाउँपालिका, बरियारपट्टी गाउँपालिका, लक्ष्मीपुर पत्तारी गाउँपालिका, सखुवानन्कारकट्टी र औरही गाउँपालिका खुल्ला दिसामुक्त घोषणा भइसकेको प्रमुख कुशवाहाले बताउनुभयो ।

उहाँले बाँकी रहेको सिरहा नगरपालिका, लहान नगरपालिका, मिर्चैया नगरपालिका, विष्णुपुर गाउँपालिका, नरहा गाउँपालिका, औरही गाउँपालिका, नवराजपुर गाउँपालिका र भगवानपुर गाउँपालिकाको अधिकांश वडा खुल्ला दिसामुक्त घोषणा भइसकेको र घोषणा हुनबाँकी रहेका वडामा पनि शौचालय निर्माणको काम अन्तिमचरणमा पुगेको प्रमुख कुशवाहले जानकारी दिनुभयो ।

सरसफाइको दृष्टिकोणले सिरहा जिल्ला मुलुकमै ७४ आँैं स्थानमा रहेको राष्ट्रिय तथ्यांकले देखाएको छ । मुलुकमै सिरहाको सरसफाइको अवस्था अत्यन्तै कमजोर रहेकाले त्यसमा सुधारल्याई २०१५ भित्रमा सिरहा जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिइए पनि विभिन्न कारणले हालसम्म पनि सिरहा खुल्ला दिसामुक्त हुनसकेको छैन् ।

सन् २०१७ सम्ममा नेपाललाई खुल्ला दिसामुक्त गर्ने लक्ष्य लिएको छ । सरकारको सोही लक्ष्यअनुसार जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने अभियान विगत चार वर्षदेखि सञ्चालन हुँदैआएको छ ।

(रासस)

प्रतिक्रिया दिनुहोस्