तुइन मुक्त बन्यो गोरखा



गोरखा, ४ फागुन

विसं २०७२ मा प्रधानमन्त्री हुँदा एमाले अध्यक्ष केपी ओलीले पहिलो घोषणा देशलाई तुइनमुक्त बनाउने गरेका थिए। उनी बिहीबार दोस्रो पटक प्रधानमन्त्री हुँदा गोरखा जिल्ला तुइनमुक्त भइसकेको छ।

सबै तुइन भएका ठाउँमा झोलुंगेपुल र गाडी गुड्ने पुल निर्माण गरी जिल्ला तुइनमुक्त बनाइएको गोरखाको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ।

‘यसवर्षदेखि गोरखा तुइनमुक्त बनेको छ’, कार्यालयका प्रमुख इन्जिनियर होमनाथ पौडेलले भने, ‘कतै झोलुंगेपुल बने, कतै मोटरेबल पुल बने।’ १ सय २० मिटरभन्दा छोटा पुल जिल्ला प्राविधिक कार्यालयले र त्यसभन्दा लामा पुल सस्पेन्सन ब्रिज डिभिजनले निर्माण गरेको उनले बताए।

तुइनको ठाउँमा झोलुंगे पुल बनेपछि स्थानीय खुसी छन्। ‘पहिले र अहिले आकास पातालको फरक छ’, भुम्लिचोक थुम्काका चन्द्र चेपाङ भन्छन्, ‘तुइनमा झुण्डिएर त्रिशुली वारपार गर्नु कम्ती डरलाग्दो थियो र रु अहिले त ढुक्क। बिरामीलाई पनि पुलबाट औषधि गर्न लैजान सकिन्छ।’

स्थानीय उत्पादन पनि पुलबाट बोकेर बजार लान सकिएको भन्दै किसान खुसी भएको उनले सुनाए। ‘ससाना विद्यार्थी असार साउनमा उर्लिएको त्रिशुलीमाथि तुइन, खिर्खिरेमा झुण्डिएर स्कुल जान्थे। अब भने सजिलै पुलबाट तर्न पाउने भएका छन्’, उनले भने, चन्द्रले भने, ‘त्रिशुलीमा कहिले को कहिले को खसेको खबर सुन्नुपथ्र्यो, अहिले दुर्घटना पनि शून्य भएको छ।’

अहिले खिर्खिरे पनि घरघरमा थन्किएको उनले बताए। गोरखामा सबैभन्दा धेरै त्रिशुलीमाथि तुइन थियो। यसअघि पृथ्वीराजमार्गबाट चेपाङ गाउँ जाने गरी मौवाखोलामा, फिस्लिङमा, गोर्दीटारमा, कुरिनघाटमा, ठौवाटारमा, हिक्लुङघाट, कौदीफाँट, इटार, ज्यामिरेघाट, चाइनाघाट, धवादीघाट, बाँदरेमा तुइन रहेको स्थानीय शिक्षकसमेत रहेका चन्द्रले बताए।

जिल्ला प्राविधिक कार्यालयका प्राविधिक लालु गुरुङका अनुसार पृथ्वीराजमार्ग र मनकामना जोड्ने भुवानीटारमा मस्र्याङदीमाथि पनि तुइन थियो। दरौंदीमाथि खहरेमा, जलबिरेमा, फिनामटारमा, खरिबोट र लम्जुङ जोड्ने चेपेमा, बुढीगण्डकीमाथि खानीवेंसी र सोतीमा पनि तुइन थियो। ‘ती सबै तुइन अहिले उपयोगविहीन छन्’, उनले भने, ‘तर कसले हटाउने अन्योलले हटाइएको भने छैन।’

प्रतिक्रिया दिनुहोस्