आफ्नै शैली



काठमाडौँ — प्रेम गर्नेहरूले ‘रातो गुलाफ’ लाई प्रेमको प्रतीकको रूपमा लिने गर्छन् । बुधबार भ्यालेन्टाइन डेको अवसरमा रातो गुलाबसहितको शुभकामनाका पोस्टहरूले फेसबुकका भित्ताहरू रंगिए ।

अभिनेता भुवन केसीको फेसबुकमा भने भिन्नै दृश्य देखियो । उनले नीलो सर्टमा सजिएर नीलै गुलाबको फूल समाएको तस्बिर पोस्ट गरे । नीलो गुलाब प्रेम प्रकट गर्न प्रयोग गरिँदैन । तर, यसको गहकिलो अर्थ हुन्छ– ‘म तिमीलाई पाउन सक्दिनँ तर तिम्रो बारेमा नसोचिरहन पनि सक्दिनँ ।’ भुवनले भने स्टाटसमा केही खुलाएका छैनन् । नीलो सर्ट, गगल्स र नीलै गुलाबको कम्बिनेसनचाहिँ सुन्दर देखिन्थ्यो ।

भ्यालेन्टाइन डेकै रौनकमा अभिनेत्री वर्षा शिवाकोटीले गुलाबको फूलमा आफूलाई सजाएकी छन् । उनले फेसबुकमा राखेको तस्बिर मन छुने छ । हातभरि गुलाबको बुके समाएकी उनले कानमा समेत गुलाबै सिउरिएकी छन् । हातको फूलले जति उल्लास प्रकट गर्छ, उनको मीठो मुस्कानले झनै गुलाबी महसुस गराउँछ ।

अभिनेता राजेश हमालले चाहिँ पत्नी मधुका साथ केही तस्बिर अपलोड गरे । तस्बिरमा गुलाब, बुके या कुनै गिफ्ट थिएनन् । थम्स देखाउँदै मधुका साथमा हर्षित देखिएका राजेशले स्टाटस लेखेका छन्, ‘सुखी रहनूस्, खुशी रहनूस् ।’ उनको स्टाटसले प्रेममा खुसीको अनिवार्यतालाई झल्काउँथ्यो ।

पछिल्लो समय अभिनेता आयुष्मान देशराजसँगको प्रेमसम्बन्धलाई खुला बनाउँदै आएकी अभिनेत्री प्रियंका कार्कीले देशराजसँग खेलेको विज्ञापनलाई फेसबुकको कभर बनाएकी छन् । मुटुको आकृतिमा उनीहरू फोन गर्दै गरेका देखिन्छन् । विज्ञापन भए पनि तस्बिरमा उनीहरूको रियल फिलिङ महसुस गर्न सकिन्छ ।

कवि/गीतकार उषा शेरचनले ‘प्रेमिल कामना’ शीर्षक मुक्तक पोस्ट गरेकी छन् । मुटुको चित्रसहित राखिएको मुक्तकको मूल भाव ‘प्रेम घृणामय कहिल्यै नहोस्’ भन्ने छ ।

कविबाट आख्यानकारको छवि बनाएकी सरस्वती प्रतीक्षाले भने प्रेमका विषयमा गुलाबका फूल राखेर बुझाउन प्रयास गरेकी छैनन् । उनले शब्दबाटै गहिरो प्रेम प्रस्टयाएकी छन् । प्रेम बेहिसाब हुन्छ भन्ने भनाइमा उनले स्टाटसमार्फत तर्क दिएर गलत सावित गरेकी छन् । उनले लेखेकी छन्, ‘अरू सम्बन्धहरूमा एकमा एक जोडदा दुई हुन्छ । प्रेममा भने एकमा एक जोडदा एक नै हुन्छ । यसरी प्रेम बेहिसाब मात्र हुँदैन, प्रेममा हरहिसाबको नियम र सूत्र फेल खान्छ ।’ (कान्तिपुर)

प्रतिक्रिया दिनुहोस्