डिप्रेसन र एन्जाइटीको समस्या भोगिरहेकी छु : सेलेना गोमेज



हलिउड अभिनेत्री एवम् गायिका सेलेना गोमेजले गम्भीर प्रकारको स्वास्थ्य समस्यासँग जुधिरहेको सार्वजनिक गरेकी छिन् । उनले आफूलाई डिप्रेसन र एन्जाइटी समस्या भएको बताएकी हुन् । यी समस्याले आफू तनावमा रहँदै आएको पनि उनले स्विकारेकी छिन् ।

सेलेनाले डिप्रेसन र एन्जाइटी समस्याबाट आफू जुधिरहेको र यसबाट कहिल्यै पार नपाउने हो कि भन्ने लागिरहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘म सधैँ यो समस्याबारे बोल्दै आइरहेकी छु, तर मलाई लाग्दैन कि यो समस्याबाट बाहिर आउन सक्छु । यद्यपि, स्वस्थ रहने मेरो चाहना र कोसिस जारी छ ।’

सेलेनाले केही महिनाअघि मिर्गौला प्रत्यारोपण गरेकी थिइन् । उनकी नजिककी साथी फ्रेन्सिया रेसाले दान गरेको मिर्गौलाले अहिले उनी बाँचिरहेकी छिन् । मिर्गौलामा समस्या देखिएपछि नै सेलेनाको जीवनमा तनाव सुरु भएको थियो । तर, सफल प्रत्यारोपणपछि उनलाई अर्को समस्याले सतायो । अहिले आफूले बेहोरिरहेको डिप्रेसन र एन्जाइटी त्यसै समस्याको साइड इफेक्ट भएको पनि सेलेनाले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्