देउवा सरकारको अन्तिम दिन : राजीनामा दिदै प्रधानमन्त्री



२ फागुन, २०७४
काठमाडौँ , प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभाको परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेसँगै देउवा राजीनामा दिने तयारीमा रहेको एक मन्त्रीले जनाए ।

आयोगले बुधबार प्रतिनिधिसभामा निर्वाचित सांसदको सूची राष्ट्रपतिलाई हस्तान्तरण गर्नासाथ नयाँ सरकार निर्माणको प्रक्रिया अघि बढ्ने छ । राष्ट्रपतिले नयाँ सरकारको प्रक्रिया अघि बढाउनुअघि नै प्रधानमन्त्री देउवा राष्ट्रको नाममा सम्बोधन गर्दै राजीनामा दिने सोचमा छन् । यसबारे उनले पार्टीका केही नेता तथा मन्त्रीसँग मंगलबार राति बालुवाटारमा छलफल गरेका थिए ।

‘सबैको सुझाव राजीनामा दिन उपयुक्त हुन्छ भन्ने आयो,’ स्रोतले भन्यो, ‘बुधबार नै प्रधानमन्त्रीले आफ्नो कार्यकालमा भएका उपलब्धिबारे सम्बोधन गर्दै राजीनामा दिने मनस्थिति बनाउनुभएको छ ।’

कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व लिने समझदारीअनुसार देउवा चौथो पटक गत जेठ २३ गते मुलुकको ४० औं प्रधानमन्त्री निर्वाचित भएका थिए । झन्डै साढे आठ महिना उनी पदमा रहे ।

प्रतिक्रिया दिनुहोस्