दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन फागुन ४ देखि



पोखरा, २ फागुन
अन्तर्राष्ट्रिय युथ समिट नेपालको आयोजनामा पर्यटकीय नगरी पोखरामा यही फागुन ४ देखि ८ गतेसम्म दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन हुने भएको छ ।

‘दिगो विकासका लागि सहभागितामूलक युवा नेतृत्व’ भन्ने नाराका साथ आयोजित पाँच दिवसीय सम्मेलनमा विभिन्न १८ राष्ट्रका २५० जनाको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सम्मेलनमा राष्टिय युवा परिषदका नेताहरू,विभिन्न राजनीतिक दलका युवा नेताहरु, वित्तिय क्षेत्रका विज्ञहरुको सहभागिता रहने युथ समिटका अध्यक्ष सुवास मल्लले बताए ।

उनका अनुसार सम्मेलनमा ओमनका पूर्वमन्त्री डा अल याहाई, अमेरिकाका शिक्षाविद् ट्रसी हेन्सन, अमेरिकाका जरुसिया हिल्टन, न्युजिल्याण्डका अहमद वारी र क्याथी सेपार्ड, मलेसियाका युवा व्यवसायी जसल्कारनाइन ताइव, भारत कर्नाटक राज्यका शिक्षाविद् प्राध्यापक कामनी केके, बहराइनका डा लुल्वा मुतलाक, पाकिस्तानका सूचना प्रविधि विज्ञ अम्मर जाफरी, इण्डोनेशियाका ट्रोएभन सारागिल, मेक्सिकोका डा हल्लेइट रिभास, सुडानका युवा व्यवसायी डा मेहद लगायतले प्रशिक्षण दिने कार्यक्रम छ ।

सम्मेलनमा युवा नेतृत्व विकास, उद्यमशीलता, दिगो विकास लक्ष्य, सुरक्षित आप्रवासन, गुणस्तरीय शिक्षा, विश्व युवा साझेदारी लगायतका विषयमा छलफल हुने बताइएको छ । सम्मेलनमा नेपालसहित अमेरिका, न्युजिल्याण्ड, भारत, मेक्सिको, इण्डोनेशिया, ओमन, मलेसिया, पाकिस्तान, बंगालादेश, बहराइन, सुडान, अफगानिस्तान लगायतको सहभागिता रहने समेत बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्