‘महाशिवरात्री तथा सेना दिवस २०७४’ सम्पन्न



१ फागुन २०७४

काठमाण्डौ, आज टुँडिखेलस्थित सैनिक मञ्चमा विविध रोचक कार्यक्रमहरुका साथ ‘महाशिवरात्री तथा सेना दिवस २०७४’ सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति श्रीमती बिद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । सेना दिवसको शुभ अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती बिद्यादेवी भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्नु भई वीर शहिदहरुप्रति श्रद्धान्जली अर्पण गर्नु भएको थियो । यसैगरी नेपाली सेनाले सम्माननीय राष्ट्रपतिको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो ।


सेना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरद्वारा व्यानर प्रदर्शन गरिएको थियो भने राईफल र तोपबाट महाशिवरात्री बढा“ई गरिएको थियो । सोही समारोहमा प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीबाट निशान प्राप्त गरेका श्री नंं.२ तथा नं.३ जगदल गण, श्री गोरखकाली गुल्म र प्रधानसेनापति ब्यानर प्राप्त गरेको श्री दुर्गाबक्स गणले इज्जत अर्पण कवाज प्रस्तुत गर्नुको साथै संयुक्त राष्ट्र संघको आब्हानमा शान्ति सेनामा सहभागी भएको ६० वर्ष पुरा भएको अवसरमा नेपाली सेनाद्वारा मिशनमा भएको सहभागीताको झलक प्रस्तुत गरिएको थियो ।

समारोहमा नेपाली सैनिकहरुबाट फ्रि–फल जम्प, सशस्त्र सैनिक कला, महिला सैनिकहरुले Synchronized Drill, खुकुरी मार्सल आर्ट तथा ‘कथा गाथा नेपाली सेनाको’ नामक संगितमय नाट्य प्रस्तुत गरिएको थियो भने गोर्खा रेजिमेण्ट व्याण्ड (भारत), विग्रेड अफ गोर्खा व्याण्ड (वेलायत) र नेपाली सेनाको सैनिक ब्याण्डबाट छुट्टाछुट्टै तथा संयुक्त ब्याण्ड प्रस्तुती प्रदर्शन भएको थियो ।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि सम्माननीय राष्ट्रपतिद्वारा नेपाली सेनाको वार्षिक प्रकाशन ‘सिपाही बार्षिक २०७४’ को विमोचन गर्नुका साथै फ्रि–फल जम्पमा प्रथम हुने सह सेनानी दुर्गा बहादुर श्रेष्ठ र द्वितिय हुने सह सेनानी जगन्नाथ दनैलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, सम्माननीय प्रधानन्यायाधीश, माननीय उपप्रधान मन्त्री, माननीय रक्षा मन्त्री, नेपाल सरकारका अन्य माननीय मन्त्रीहरु, मित्रराष्ट्र बेलायतका राज्यमन्त्री Rt. Honorable Mark Lancaster, मित्रराष्ट्र भारतका भारतीय सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथी General Bipin Rawat, विभिन्न संवैधानिक निकायका प्रमुखहरु, रक्षा सचिव, नेपाल सरकारका सचिवहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका अन्य विशिष्ट पदाधिकारीहरु, विभिन्न विदेशी दुतावासका महामहिम राजदुतहरु, नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरु, विभिन्न मुलुकहरुका सैनिक सहचारीहरु, सञ्चारकर्मीहरुलगायत ठूलो संख्यामा परिवारजन तथा सर्वसाधारणहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्