प्रदेश ५ को सभामुखमा घर्तीको एकल उम्मेदवारी



बुटवल, १ फागुन

प्रदेश नं ५ को सभामुखका लागि माओवादी केन्द्रका पूर्णबहादुर घर्तीको एकल उम्मेदवारी परेको छ । प्रदेशसभा संसद् सचिवालयमा आज बिहान १०:३० बजे एमाले र माओवादीका संयुक्त उम्मेदवार घर्तीले उम्मेदवारी दर्ता गरेका हुन् ।

उम्मेदवारी दर्ताको समय आज बिहान १० देखि दिउँसो ५ बजेसम्म कायम गरिएको थियो । उम्मेदवारी दर्ताको समयसम्म घर्तीको मात्र एकल उम्मेदवारी परेकाले ५ बजेपछि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेपछि सभामुखमा उनी निर्विरोध हुने निश्चित भएको छ ।

बुधबार अपराह्न १ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुखको निर्वाचनको कार्यसूचीउपर छलफल हुने संघीय संसद्का उपसचिव तथा प्रदेशसभा बैठकका सहजकर्ता सुरेन्द्र अर्यालले जानकारी दिए । प्रदेशसभा बैठकले सभामुखमा उनको उम्मेदवारीलाई अनुमोदन गरेपछि उनी निर्वाचित भएको घोषणा हुनेछ ।

बुधबारको बैठकअघि बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने समेत अर्यालले जानकारी दिए । कार्यव्यवस्था परामर्श समितिको बैठकले सभामुखको निर्वाचनबाहेक आवश्यकता अनुसार भोलिको बैठकको कार्यसूची तय गर्न सक्नेछ ।

माओवादी केन्द्रका प्रदेश ५ का प्रमुख सचेतक दधिराम न्यौपानेको प्रस्ताव र एमाले प्रमुख सचेतक भूमिश्वर ढकालको समर्थनमा उहाँले आज उम्मेदवारी गरेका हुन् । रुकुम पूर्व प्रदेश सभा ‘ख’ बाट निर्वाचित घर्ती पूर्वी रुकुम जिल्ला भूमे गाउँपालिका–९ का स्थानीयवासी हुन् । बुबा वीरबहादुर घर्ती र आमा जयकली घर्तीका छोराका रुपमा विसं २०२४ असार २९ गते उनको जन्म भएको हो ।

विसं २०३७ मा अनेरास्ववियुको सदस्यता प्राप्त गरेपछि वामपन्थी राजनीतिमा लागेका घर्तीले २०६४ सालमा नेपाल टेलिभिजनको अध्यक्षको समेत जिम्मेवारी सम्हालेका थिए । पछिल्लोपटक उनी नेकपा माओवादी केन्द्र ५ नं प्रदेश संयोजक तथा केन्द्रीय सचिवालय सदस्यसमेत रहेका थिए ।

साहित्य र जनवादी गीत–संगीतमा दख्खल राख्ने घर्तीले विसं २०४७ देखि २०५२ सम्म सामना परिवार र जनसांस्कृतिक संघको केन्द्रीय नेतृत्वमा रही विशेषतः राप्तीमा सांस्कृतिक अभियानको नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्