बाम सरकार बनेपछि सरकारले गरेका अधिकांश निर्णय पुर्नविचार गरिन्छः नेपाल



काठमाडौं, २६ माघ

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले गरेका अधिकांश निर्णय बाम सरकार बनेपछि पुनर्विचार गर्ने बताउनु भएको छ ।

कैलालीको धनगढी विमानस्थलमा बिहीबार सञ्चारकर्मीसंग नेता नेपालले बर्तमान सरकार काम चलाउ भई सकेकाले अहिले गरेका निर्णय पुनर्विचार गरिने बताउनुभयो ।

उहाँले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नयाँ सरकारलाई गाह्रो हुने गरी निर्णय गरिरहेको आरोप समेत लगाउनुभयो ।

नेता नेपालले एमाले र माओवादी केन्द्र बीच पार्टी एकता छिट्टै हुने पनि बताउनुभयो । सबै नेताको व्यवस्थापन गरेर पार्टी एकता गरिने बताउदै नेता नेपालले दुवै पार्टीका नेताहरुलाई उचित स्थान दिएर पार्टी एकता हुने प्रष्ट पार्नुभयो ।

नेता नेपालले सम्भावनाको खानी रहेको ७ नम्बर प्रदेशको विकास गर्नका लागि प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव समेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्