झार निकाल्न मेसिन फेवातालमा प्रयोग [तस्बिरहरु]



काठमाडौं, २६ माघ

वर्षामा जलाधार क्षेत्रका खोलाले बाढीसँगै फेवातालमा ल्याउने जलकुम्भी झार निकाल्न मेसिन प्रयोग गरिने भएको छ । अब एक्युटिक प्लान्ट हार्भेस्टिङ मेसिनको बिहीबार प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारी, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरूङले फेवाको खपौंदी क्षेत्रमा उद्घाटन गरेका छन् ।

क्यानाडामा निर्मित १ करोड ४१ लाख २५ हजारको मेसिन खरिदका लागि सांसद अधिकारीले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमबाट ५० लाख विनियोजन गरेका थिए भने बाँकी रकम महानगरपालिकाले व्यहोरेको मेयर जिसीले बताएका छन् ।

खहरे खोलाहरुबाट वर्षेनी १ लाख ५९ हजार ५ सय ५३ मेट्रिक टन माटो र गेग्रयान बगेर तालमा आउने एक अध्ययनले देखाएको छ । वर्षेनी तालमा जलकुम्भी पनि निकै नै बगेर आउने गरेको छ । यसले २२ हजार रोपनीमा फैलिएको भनिने फेवातालको आकार घटेर हाल १० हजार रोपनी हाराहारीमा सीमित भएको छ । ताल साँघुरिँदै र फोहोर हुँदै गएपछि सीमांकनसँगै सफाइको काम जरुरी भएको महानगरपालिकाले जनाएको छ । ‘फेवातालको सुरक्षा महानगरको मात्रै जिम्मेवारी होइन,’ मेयर जिसीले भने, ‘सबै मिलेर गरेमात्रै संरक्षण हुन्छ ।’जलकुम्भी हटाउन मेसिन ल्याएपछि अब संरक्षणको काममा सबैको हातेमालो जरुरी रहेको उनले बताए ।

हार्भेस्टिङ मेसिनका सप्लायर मेट ग्रुपका प्रबन्ध निर्देशक सरिन केसीले फेवातालको अध्ययनपछि मात्रै उपयुक्त मेसिन डिजाइन गरी झिकाइएको बताए । उनले भने, ‘हामीले नियमित सञ्चालनका लागि अपरेटरलाई तालिम पनि दिएका छौं । पाँच वर्षसम्म मेन्टेनेन्सको पनि कुनै झमेला आउने छैन ।’ २० लिटर डिजलले १२ घण्टा चलाउन सकिने हार्भेस्टिङ मेसिन फेवातालको भूगोलअनुसार उपयुक्त रहेको उनले बताए । सांसद अधिकारीले कास्कीका तालहरूको संरक्षण पोखराको पर्यटनको भविष्यसँग जोडिएको विषय भएको बताए ।

स्थानीय तह सञ्चालन ऐनअन्तर्गत तालहरुको स्वामित्व महानगरमा पर्ने भएपछि पोखरा महानगरले अतिक्रमण भएको जग्गा फिर्ता लिने र आवश्यक जग्गा ल्यान्ड पुलिङ विधिमार्फत प्रयोग गर्ने तयारी गरेको छ । यसका लागि तालहरुको अध्ययन गरी कार्यविधि बनाएर संरक्षण र उपयोग गर्ने पोखरा महानगरको योजना रहेको इञ्जिनियर महेन्द्र गोदारले बताए । कास्कीका नौ ताल र सेती जलाधार क्षेत्रमा पर्ने २६ हजार १ सय १० हेक्टर दुई वर्षअघि विश्व रामसारमा सूचीकृत भएका छन् ।- कान्तिपुर

प्रतिक्रिया दिनुहोस्