नेपाल एक विकेटले विजयी



२६ माघ २०७४

काठमाडौं : ब्याटिङकै समस्या बल्झिँदा आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा जितका लागि नेपाललाई निक्कै संघर्ष गर्नु पर्यो । नेपालले बिहीबार भएको आफ्नो पहिलो खेलमा आयोजक नामिबियाविरुद्ध अन्तिम ओभरमा एक विकेटको जित हात पार्यो ।

जितसँगै नेपालले महत्वपूर्ण दुई अंक जोड्दै प्रतियोगिताको शीर्ष दुईमा रहेर डिभिजन एकमा फर्कने र सन् २०१९ को विश्व कपको अन्तिम चरणको छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्ने अवसर सिर्जना गरेको छ । नामिबियाको राजधानी विन्दहोइकस्थित अफिज पार्क मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले घरेलु टोलीलाई ३४.२ ओभरमा एक सय ३८ रनमै समेटेको थियो ।

जवाफमा ४९.२ ओभरमा नेपालले महत्वपूर्ण नौं विकेट गुमाउँदै जित भे­ट्टाएको हो । बसन्त रेग्मीले अन्तिम दुई ओभरमा केही ठूला सट प्रहार गरेपछि नेपालको मरिसकेको जितको आशा जिवन्त बनेको थियो । अन्तिम १२ बलमा नेपाललाई जितका लागि १६ रनको आवश्यकता थियो । चौथो बलमा छक्का प्रहार गर्दै १८ औं ओभरबाट नौं रन लिएपछि नेपाललाई अन्तिम ६ बलमा जितका लागि सात रन आवश्यक थियो ।

बसन्तले अन्तिम ओभरको पहिलो बलमा दुई रन तथा दोस्रो बलमा चौका प्रहार गर्दै नेपालको योगफल एक सय ३९ रन पुर्याएका थिए । तेस्रो बलमा एक वाईड पाएपछि नेपालको जित पक्का बनेको हो । नेपालको जितमा बसन्तले २४ बलमा अबिजित २४ रनको योगदान दिए । उनले आफ्नो पालिमा एक छक्का र दुई चौका प्रहार गरे ।

त्यसअघि सुरुवातबाटै विकेट गुमाउँदा नेपाललाई जित निक्कै मुस्किल बनेको थियो । प्रारम्भिक ब्याट्सम्यान दिलीप नाथ दोस्रो ओभरको पहिलो बलमै डक आउट हुन पुगे । दिलीप आउट हुँदा नेपालको खातामा मात्र एक रन थियो । त्यसपछि क्रिजमा आएका कप्तान पारस खड्का (१९) ले अर्का प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल (१५) सँग मिलेर दोस्रो विकेटका लागि ३३ रनको साझेदारी गर्दै नेपाली टोलीको पालि सम्हाल्ने प्रयास गरेका थिए ।

यद्यपि १२.२ ओभरमा कप्तान पारस क्रेग विलियम्सद्धारा बोल्ड भएपछि नेपालको विकेट पतन फेरि सुरु भयो । कप्तान पारसपछि क्रिजमा आएका आरिफ शेख पनि बिना रन पभेलियन फर्किए । त्यसपछि लगत्तै अर्काे ओभरमा उप्कप्तान ज्ञानेन्द्र पनि आउट हुन पुगे । १३औं ओभरमा कप्तान पारस, १४ औं ओभरमा आरिफ तथा १५ औं ओभरमा उप कप्तान ज्ञानेन्द्रलाई लगातार गुमाउदा नेपाल संकटमा देखिएको थियो ।

पाँचौ क्रममा ब्याटिङका लागि क्रिजमा छिरेका शरद भेषावकरले टिकेर खेल्दा फेरी आशा पलायो । क्रिजमा शरद र यसै प्रतियोगिताबाट डेब्यू गरेका युवा खेलाडी रोहित कुमार पौडेलको जोडी रहदा नेपाललाई निक्कै अघि लगेका थिए । ३७.१ ओभरमा शरद पनि २९ रन जोड्दै क्याच आउट भए । उनी मध्यम गतिका बलर तङ्गेनी लुङ्गामेनीको बलमा क्रेग विलियम्सद्धारा क्याच आउट हुनु पुगे ।

उनी पछि रोहीत पनि १७ रनमा आउट हुन पुगे । त्यस अघि दीपेन्द्र सिंह ऐरी ६ रन तथा करण केसी तीन रनमा आउट भएका थिए । नवौं क्रममा क्रिजमा आएका सोमपाल कामीले १३ रन जोडे । बसन्तसँगै शन्दिप एक रनमा अबिजित रहे ।

नामिबीयाका बर्नार्ड स्कोल्जले नौं ओभरमा तीन मेडनसहित मात्र ११ रन खर्चेर चार विकेट लिदा नेपाललाई जित मुस्किल बनेको हो । बलिङतर्फ नेपालले पनि शसक्त प्रदर्शन गर्यो । युवा स्पिनर शन्दिप लामिछानेले चार तथा मध्यम गतिका बलर सोमपाल कामीले तीन विकेट लिदा नामिबीया सहज योगफलमा रोकिएको थियो । नामिबीयाका लागि क्रेज विलियम्सले सर्बाधिक ४१ रन, जेन ग्रिन र जान फ्रिलिङकले समान २२ रन तथा स्टेफन बार्ड र जेजे स्मिटले समान १८ रनको योगदान दिएका थिए ।

८.२ ओभर बलिङ गरेका शन्दिपले दुई मेडनसहित १ रन खर्चेर चार विकेट लिएका थिए । सात ओभर बलिङ गरेका सोमपालले एक मेडनसहित ३५ रन खर्चेर तीन विकेट लिएका थिए । त्यस बाहेक बसन्त रेग्मी, कप्तान पारस र शरद भेषावकरले एक/एक विकेट लिएका थिए । प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा शुक्रबार ओमानसँग प्रतिस्पर्धा गर्ने छ । (अन्नपूर्ण पोष्ट)

प्रतिक्रिया दिनुहोस्