राष्ट्रियसभा चुनाव : वाम गठबन्धनलाई ३६ सिट, कांग्रेसलाई १३ सिट ९.५२ प्रतिशत मतदान



२५ माघ २०७४

काठमाडौं : राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ३६ सिट जितेको छ । ५६ सिटमध्ये एमाले २५ सिट र माओवादी केन्द्रले ११ सिट जितेको हो। त्यस्तै, कांग्रेसले १३ सिट जितेको छ । संघीय समाजवादी फोरम र राजपाले दुई–दुई सिट जितेका छन् । मतदान सकिएलगत्तै अपराह्नदेखि मतगणना सुरु भएको थियो ।

प्रदेश १ मा दलित र अपांग–अल्पसंख्यक कोटामा एमालेका खेमराज नेपाली, अगमप्रसाद बान्तवा राई निर्वाचित भएका छन् । प्रदेश १ बाटै एमालेका परशुराम मेघी गुरुङ, हरिचरण रायमाझी, नैनकला ओझा, कांग्रेसका रमेशजंग रायमाझी, सरिता प्रसार्इं, माओवादी केन्द्रकी बीना पोखरेल निर्विरोध भएका थिए । सबै विजयीलाई बुधबार साँझ प्रमाणपत्र वितरण गरिएको मुख्य निर्वाचन अधिकृत राजु खतिवडाले जानकारी दिए ।

प्रदेश २ बाट एमालेका सुमनराज प्याकुरेल, कांग्रेसका जितेन्द्रनारायण देव र मुक्ताकुमारी यादव, माओवादी केन्द्रका शशिकला दाहाल, संघीय समाजवादी फोरम नेपालका प्रमिलाकुमारी, रामप्रित पासवान, राष्ट्रिय जनता पार्टी नेपालका वृषेशचन्द्र लाल र रामप्रसाद यादव निर्विरोध निर्वाचित भएका थिए । निर्विरोध सबैलाई बुधबार नै विजयी भएको प्रमाणपत्र दिइएको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए।

प्रदेश ३ मा दलिततर्फ एमालेका सिंहबहादुर विश्वकर्मा र अल्पसंख्यकबाट एमालेकै रामचन्द्र राई निर्वाचित भए । महिलातर्फ एमालेकी उदया शर्मा पौड्याल, दिलकुमारी थापा र कांग्रेसबाट धनकुमारी खतिवडा विजयी भएकी छन् । त्यस्तै, खुलातर्फ एमालेका बलरामप्रसाद बास्कोटा, कांग्रेसका राधेश्याम अधिकारी र माओवादी केन्द्रका रामबहादुर थापा विजयी भएका छन्।

प्रदेश ४ मा एमालेबाट गणेश तिमिल्सेना, शान्ति अधिकारी र दीपा गुरुङ विजयी भएका छन् । कांग्रेसबाट सुरेन्द्रराज पाण्डे, विन्दादेवी आले (राना) र प्रकाश पन्थ विजयी भए । पन्थ निर्विरोध भएका हुन् । त्यस्तै, माओवादीबाट दीनानाथ शर्मा, खिमकुमार विक निर्वाचित भए।

प्रदेश ५ मा एमालेका खिमलाल भट्टराई, कांग्रेसका दुर्गाप्रसाद भट्टराई, माओवादीबाट चन्द्रबहादुर खड्का निर्वाचित भएका छन् । त्यस्तै, दलितबाट एमालेका रामलखन चमार र अल्पसंख्यकबाट माओवादीका राजकुमार कुँवर निर्वाचित भएका छन् । प्रदेश ५ मा एमालेकी कोमल वली, मीना बुढा र कांग्रेसकी अनिता देवकोटा निर्विरोध निर्वाचित भएका हुन्।

प्रदेश ६ मा एमालेबाट नरपति लुवार, कविता बोगटी र नन्दा शर्मा चपार्इं विजयी भएका छन् । त्यस्तै, माओवादी केन्द्रबाट जीवन बुढा र युटोल तामाङ विजयी भए । तीन पदको मतगणना जारी छ।

त्यस्तै, प्रदेश ७ मा एमालेका चक्रप्रसाद सुवेदी र माओवादी केन्द्रका महेशकुमार महरा विजयी भएका छन् भने एमालेका शेरबहादुर कुँवर, इन्दु कडरिया, कमलाकुमारी ओली, कांग्रेसका बद्रीप्रसाद पाण्डे, तारादेवी भट्ट, माओवादीका हरिराम चौधरी निर्विरोध भएका छन् । निर्वाचित सबैलाई बुधबार साँझ नै प्रमाणपत्र प्रदान गरिएको मुख्य निर्वाचन अधिकृत जयानन्द पाण्डेले जानकारी दिए।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बुधबार ६ वटै प्रदेशमा मतदानमा उत्साहजनक सहभागिता रहेको बताए । निर्वाचनमा ९९.५२ प्रतिशत मतदान भएको थियो । ६ वटा प्रदेशका १ हजार ६ सय ७७ जना मतदातामध्ये १ हजार ६ सय ६९ जना मतदाताले मतदान गरेका थिए । ८ जना अनुपस्थित भएको आयोगले जनाएको छ।

यसअघि २४ जना निर्विरोध भएकाले बुधबार ३२ सदस्यका लागि निर्वाचन भएको हो । ५२ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । संविधानमा प्रत्येक प्रदेशबाट आठ जनाका दरले ५६ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुने व्यवस्था छ । निर्वाचित हुने आठ सदस्यमध्ये महिला तीन, दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक र अन्य तीन जना हुनुपर्ने व्यवस्था छ ।

बिहीबार दललाई पत्राचार
राष्ट्रियसभा सदस्यको मतपरिणाम आएलगत्तै आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपरिणाम सार्वजनिक गर्र्ने तयारी गरेको छ ।

प्रतिनिधिसभा समानुपातिकतर्फ विभिन्न दलले प्राप्त गरेको सिट संख्या, समावेशी समूहबाट हुने प्रतिनिधित्व, न्यूनतम मत सीमा (थे्रसहोल्ड) ३ प्रतिशतभन्दा बढी मत ल्याउने दलको संख्या र सिट तोकी बन्द सूचीमा रहेका उम्मेदवारमध्ये निर्वाचित हुने उम्मेदवारको नाम सिफारिस गर्न दललाई तीन दिनको समय दिई बिहीबार नै पत्राचार गरिने आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

‘फागुन ५ भित्रै सबै परिणाम राष्ट्रपतिलाई बुझाउने आयोगको योजना छ’, प्रवक्ता ढकालले अन्नपूर्णसँग भने। दलहरूले गरेको सिफारिसअनुसार समावेशी समूह मिले/नमिलेको जाँच गरी नमिलेको भए मात्रै दललाई सच्याउन पुनः दुई दिनको समय दिइनेछ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले ४१ सिट, कांग्रेसले ४०, माओवादीले १७ र संघीय समाजवादी फोरम तथा राजपाले ६/६ सिट प्राप्त गरेका छन्। (साभार: अन्नपूर्ण पोष्ट )

प्रतिक्रिया दिनुहोस्