रमाइला रोनाल्डिन्हो



सन् १९९७ को यु–१७ फिफा विश्वकपबाट अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पाइला टेकेका ब्राजिलियन खेलाडी रोनाल्डिन्होले आफ्नो जादुयी फुटबल र मनमोहक मुस्कानले सबैका प्रिय बन्दै फुटबलबाट सन्न्यास लिएका छन् । उनी फुटबलका यस्ता दुर्लभ खेलाडी हुन् जो उनका समर्थकको मात्र होइन, विपक्षीको पनि सदा प्रिय रहे । आफ्नो खेलजीवनमा क्लब र देशका लागि २०० भन्दा बढी गोल गरेका रोनाल्डिन्होले २००२ मा ब्राजिललाई विश्वकप जिताउन उल्लेखनीय भूमिका खेलेका थिए । बार्सिलोना, एसी मिलान र पिएसजीजस्ता क्लबबाट व्यावसायिक फुटबल खेलेका रोनाल्डिन्होले आफ्नो एकल बलबुतामा रियल म्याड्रिडको सर्वोत्कृष्ट टिमलाई हराउँदै बार्सिलोनालाई ला लिगा जिताएका थिए । हालै फुटबलबाट सन्यास घोषणा गरेका रोनाल्डिन्होको बिदाइमा उनले खेलेका टिमले मात्र होइन, उनका विपक्षमा खेलेका टिमले पनि उनको जादुयी फुटबल कौशलको मुक्तकण्ठले प्रशंसा गर्दै फुटबललाई अपूरणीय घाटा भएको बताएका थिए । तिनै रोनाल्डिन्होका बारेमा केही रोचक तथ्यहरू यहाँ प्रस्तुत गरिएको छ:

रोनाल्डिन्होको टोली २३–० ले विजयी
रोनाल्डिन्हो सानैदेखि दर्शनीय फुटबल खेल्ने गर्दथे । आठ वर्षको उमेरबाट फुटबल खेल्न थालेका उनले आफ्नो कला र दक्षताले १३ वर्षको कलिलो उमेरमै उनी ब्राजिलभर चर्चित भएका थिए । ब्राजिलको एक स्थानीय खेलमा उनको टोली २३–० ले विजय भएपछि सम्पूर्ण ब्राजिली मिडियाको ध्यान उनीतर्फ केन्द्रित भएको थियो । सो खेलका सबै २३ गोल उनले एक्लै गरेका थिए ।

पेप्सी पिउँदा सात लाख ५० हजार डलर गुम्यो
एटलेटिको मिनेरोले आयोजना गरेकोे एक पत्रकार सम्मेलमा पेप्सीको क्यानसहितको फोटो बाहिर आएपछि रोनाल्डिन्होले सात लाख ५० हजार डलरबराबरको प्रायोजन गुमाएका थिए । सन् २०१४ को विश्वकपलाई लक्षित गरेर कोका–कोलाले उनीसँग २०१३ मा सो रकमबराबरको प्रायोजन सम्झौता गरेको थियो । तर, सो पत्रकार सम्मेलनमा पेप्सीको क्यान अगाडि राखेर बोल्दै गरेको फाटो सार्वजनिक भएपछि सम्झौताको एक वर्ष पनि नबित्दै कोका–कोलाले प्रायोजन रद्द गर्यो । पेप्सी उनको तत्कालीन क्लब एटलेटिको मिनेरोको प्रायोजक रहेका कारण पत्रकार सम्मेलनमा पेप्सी राखिनु स्वाभाविक थियो । फोटोमा उनले पेप्सी पिएको देखिएको थिएन, तर सम्झौता उल्लंघन गरेको भन्दै कोका–कोलाले विश्वकपअघि नै प्रायोजन खारेज गर्दियो ।

फुटबलको खेल, कन्डमको व्यापार
फुटबलमा डेभिड बेकह्याम, क्रिस्टियानो रोनाल्डो, पिएर एमरिक अबमेयाङजस्ता खेलाडीले खेलमा पाएको सफलतापछि आफ्नै फेसन ब्रान्ड सुरु गरेका उदाहरण प्रशस्त छन् । रोनाल्डिन्होले पनि पूर्वक्लब एटलेटिको मिनरोमा छँदा आफ्नै कन्डम ब्रान्ड सुरु गरेका थिए । ‘सेक्स फ्री’ नामको कन्डम बजारमा ल्याएका उनले त्यसको खोल सोही क्लबको जर्सीसँग मिल्दो बनाएका थिए भने खोलमा उनको तस्बिर र हस्ताक्षर पनि राखेका थिए ।
रमाइलो के छ भने, उक्त कन्डम ब्रान्डको ट्यागलाइन ‘इउ सोउ गालो’ अर्थात् ‘म हुँ गालो’ थियो । ‘गालो’ उनको क्लब एटलेटिको मिनरोको उपनाम हो । साथसाथै, ‘गालो’को अर्को अनुवाद ‘कुखुराको भाले’ पनि हुन्छ, जसलाई अंग्रेजीमा ‘कक’ पनि भनिन्छ ।

युट्युबको पहिलो एक मिलियन भ्यु
रोनाल्डिन्हो आफ्नो करिअरको उत्कर्षमा रहँदा युट्युब सुरु भएको थियो । युट्युबमा त्यतिवेला रोनाल्डिन्होका फुटबल स्किल्स् र सानदार गोलका भिडियो सदाबहार टे«न्डिङमा रहन्थे । चर्चित स्पोर्टस् ब्रान्ड नाइकीको एम्बेसडर रहेका रोनाल्डिन्होले सो ब्रान्डको नयाँ फुटबल बुटको विज्ञापनमा भुइँमा बल नखसाई लगातार चारपटक क्रसबारमा हानेको भिडियोले इन्टरनेटमा सनसनी मच्चाएको थियो । युट्युबले आधिकारिक रूपमा सो भिडियो युट्युबको पहिलो एक मिलियन भ्यु पुगेको भिडियो भएको विज्ञप्ति निकालेको थियो ।
नाइकी कम्पनीले भिडियो रिलिज भएको १० वर्ष पुगेको अवसरमा ‘गोल्डेन टच’ नाममा सो बुटको लिमिटेड संस्करण र त्यो भिडियोको उन्नत संस्करणसँगै रिलिज गरेको थियो । युट्युब र रोनाल्डिन्हो एकैपटक चर्चामा आएका र युट्युबका ट्रेन्डिङ भिडियोमा एकछत्र राज गरेका कारण उनलाई ‘युट्युब फुटबलर’ पनि भन्ने गरिन्छ ।

रियल म्याड्रिडमा ‘स्टेन्डिङ ओवेसन’
रियल म्याड्रिड र बार्सिलोनाबीचको टक्कर यति भीषण छ कि दुई क्लबका कट्टर समर्थकका बीच लगभग पानी बाराबारजत्तिकै अवस्था छ । अझ एउटा क्लबका समर्थकले अर्को क्लबका खेलाडीलाई एकरत्ति रुचाउँदैनन् । तर, रोनाल्डिन्हो दुर्लभ सीमित खेलाडी हुन् जसलाई चाहेर पनि कसैले घृणा गर्न सक्दैनन्, विपक्षीले पनि । सन् २००५ मा रियल म्याड्रिडको घरेलु मैदान सान्टिएगो बर्नबाउमा भएको ‘एल क्लासीको’मा बार्सिलोना ३–० ले विजयी हुँदा रोनाल्डिन्होले दुई गोल गरेका थिए । त्यसवेला पर्खालजस्तै मानिने रियल म्याड्रिडको कडा डिफेन्सलाई एक्लै चिर्दै दर्शनीय दोस्रो गोल गरे । विपक्षी, त्यसमाथि बार्सिलोनाका खेलाडी भए पनि उनले त्यसवेला देखाएको जादुयी फुटबलले सो खेल हेर्न मैदानमा उपस्थित रियल म्याड्रिडका समर्थक यति प्रभावित भए कि उनको सम्मानमा उठेर ताली बजाउँदै उनलाई ‘स्टेन्डिङ ओवेसन’ दिएका थिए । अर्जेन्टिनी खेलाडी डिएगो म्याराडोनापछि सान्टिएगो बर्नबाउमा ‘स्टेन्डिङ ओवेसन’ पाउने उनी बार्सिलोनाका दोस्रो खेलाडी हुन् ।

तीन रातो कार्ड
रोनाल्डिन्हो फुटबलमा आफ्नो कला र कौशलबाहेक अन्य दुई चिजका लागि पनि विशेष चिनिन्छन्– मुस्कान र अनुशासन । उनले आफ्नो खेलजीवनमा केबल तीनवटा मात्र रातो कार्ड पाए । एक खेलमा उनलाई रेफ्रीले झुक्किएर पहेँलोको सट्टा रातो कार्ड देखाउँदा उनले विरोध जनाएनन् बरु उल्टै हँसिलो अनुहार लाएर मुस्कुराए । गलत कार्ड देखाएको थाहा पाएपछि रेफ्रीले आफैँले देखाएको रातो कार्डमा आफैँ ‘रुल्ड आउट’ गरेर पहेँलो कार्ड देखाए । त्यति ठूलो गल्तीमा पनि रोनाल्डिन्होको त्यस्तो सरस र मुस्कानसहितको भद्र प्रतिक्रिया पाएर प्रभावित भएका रेफ्रीले पछि रोनाल्डिन्होलाई देखाएको पहेँलो कार्डमा उनको अटोग्राफ लिएका थिए ।

मेसीको पहिलो गोल
बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसी निःसन्देह फुटबलका महान् खेलाडी हुन् । बार्सिलोनाका लागि सबैभन्दा बढी गोल गरेका मेसीको पहिलो गोलका लागि अवसर जुराइदिने खेलाडी भने
रोनाल्डिन्हो थिए । रोनाल्डिन्होले मैदानको देब्रे भागबाट मेसीलाई उत्कृष्ट क्रस उपलब्ध गराएपछि मेसीले विनाकुनै गल्ती बार्सिलोनाका लागि पहिलोपटक बल पोस्टमा छिराएका थिए । दुर्भाग्यवश रेफ्रीले सो गोललाई अफसाइड करार दिए ।

केही समयपछि मैदानको सोही ठाउँबाट रोनाल्डिन्होले मेसीलाई ठ्याक्कै पहिलेकै ठाउँमा पहिलेकै जस्तै क्रस उपलब्ध गराए र दोस्रो प्रयासमा मेसीले बार्सिलोनाका लागि पहिलो गोल गरे । मेसीले रोनाल्डिन्होलाई फुटबलमा आफ्ना अभिभावकसरह मान्छन्, त्यसैले उनले सन्न्यास लिँदा मेसी निकै भावुक भएका थिए । (गज्ज़बबाट) एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्