एकीकृत नमुना बस्ती उद्घाटन गर्दै राष्ट्रपति



राैतहट, २३ माघ
धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरेको रौतहट सन्तपुरस्थित मुसहर बस्तीको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन् । माघ २४ गते हस्तान्तरण गर्ने गरी निर्माण भएको एकीकृत नमुना सन्तपुर बस्तीको एक दिन अगावै उद्घाटन गरिएको छ ।

कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को पहलमा रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नं ८ सन्तपुरमा बाढी प्रभावित मुसहर एवं दलितका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर सहित ५० वटा संरचनाको निर्माण कार्य सम्पन्न भएको हो। उद्घाटन कर्यक्रममा प्रदेश प्रमुख रन्तेश्वर लाल कायस्थ, मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायतको उपस्थिति रहेको थियो ।

नमुना बस्ती गत असोज ४ गते शिलान्यास गरिएको थियो । २८४ जना बासिन्दाका लागि ४७ वटा घरका साथै सामुदायिक भवन, मन्दिर, क्लबघर, भ्यु टावर जस्ता विभिन्न संरचना निर्माण भएका छन् । गत साउनमा आएको बाढीले उक्त गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो । करिब ६ करोडको लागतमा निर्माण भएको सन्तपुर बस्ती कलाकार धुर्मुस दिनरात आफैं खटेर काम गर्दै आएका थिए ।

फोटो : मदन ठाकुर 

प्रतिक्रिया दिनुहोस्