वडाध्यक्ष सिंह भन्छन्– देउताको पनि जिम्मा लिएर छाउगोठ भत्काउर्दैछु



महेन्द्रनगर, २३ माघ

कञ्चनपुरकै पहिलो छाउगोठ मुक्त वडा बनेका छन् वेदकोट नगरपालिकाका वार्ड नम्बर १ र २ । यी दुई वडा गैरसरकारी संस्थाको भरमा मात्र होइन, यहाँका निर्वाचित जनप्रतिनिधिको मिहिनेतका कारण छाउगोठ मुक्त भएका हुन्।

वडा नम्बर १ का अध्यक्ष हरि गिरी र २ का नरेशबहादुर सिंह आफू निर्वाचित भएपछि नै यो अभियानमा लागेका थिए। वडा समितिमा निर्णय नै गरेपछि दुई महिना उनीहरु निरन्तर यो अभियानमा खटे। फलस्वरुप गत सोमबार भव्य सांस्कृतिक कार्यक्रमसहित यी दुई वडा छाउगोठ मुक्त घोषणा भए।

‘अहिलेको समयमा कञ्चनपुरजस्तो जिल्लामा छाउगोठ हुनु निकै लाजमर्दो अवस्था हो,’ कार्यक्रम हुनुअघि वडा नम्बर २ का वडाध्यक्ष नरेशबहादुर सिंहले भने। उनी जिल्लाकै सबैभन्दा कान्छा वडाध्यक्ष हुन्। महेन्द्रनगरमै एमबिएम पढ्दै गरेका २६ वर्षीय सिंहले एमालेबाट वडाध्यक्ष जितेका हुन्।

घोषणा कार्यक्रममा वडाध्यक्ष सिंह

उनी अहिले एमालेनिकट अनेरास्ववियुको जिल्ला उपाध्यक्ष छन्। स्थानीय चुनावमा जिल्लाभरमा ७ जना विद्यार्थी नेता उठेका थिए। बाँकी ६ जनाले जित हात पार्न सकेनन्। स्थानीय चुनाव जित्ने उनी एक्ला विद्यार्थी नेता पनि हुन्।

चुनाव जितेपछि गत कात्तिकमा बसेको वडा समितिको बैठकमा उनले छाउगोठ हटाउने अभियान चलाउने निर्णय गरेका थिए। त्यसयता उनी निरन्तर यो अभियानमा लागिरहेका छन्। करिब एक वर्षदेखि काठमाडौंको साथी संस्था र स्थानीय द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले यहाँ छाउपडी प्रथा विरुद्ध काम गरिरहेका थिए।

‘सरकारले कानुन नै बनाएर छाउपडी प्रथालाई अपराधका रुपमा लिएपछि यसविरुद्ध काम गर्नु जनप्रतिनिधिको जिम्मेवारी पनि भयो,’ उनले भने, ‘कात्तिकमा निर्णय गरेपछि म निरन्तर रुपमा काम गरिरहेको छु।’

दैलेखकी तुल्सी शाहीको मृत्यु पश्चात छाउपडी प्रथालाई गम्भीर रुपमा लिँदै सरकारले यसविरुद्ध कानुन बनाएको छ। छाउगोठमा राख्नेलाई ३ महिना कैद वा ३ हजार रुपैयाँ जरीवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

यही समाजमा हुर्किएका सिंह आफ्नो गाउँको यस्तो पछौटे अवस्थासँग लज्जित थिए। यतिमात्रै होइन, छाउगोठका कारण धेरै विद्यार्थीको पढाइ छुटिरहेको, बिरामी परेको पनि उनलाई थाहा थियो। अरु ठाउँमा छाउगोठभित्र महिला बलात्कृत भएको, सर्पले डसेको, जंगली जनावरले आक्रमण गरेको खबर पनि सुनिरहेकै थिए। अछाममा छाउगोठभित्रै सर्पले डसेर तुल्सी शाहीको मृत्यु भएको खबर पुरानो भएकै छैन। त्यसैले, उनमा आफ्नो गाउँबाट छाउगोठ हटाइहाल्ने चाहना थियो।

उनको घरमा न त छाउगोठ थियो, न त छाउ (महिनावारी) हुँदा गोठमा बस्ने चलन नै। सानै उमेरदेखि उनले छरछिमेकका छाउगोठ देख्थे। मान्छे मुस्किलले पस्न सक्ने यी गोठ किन बनाएको होला भन्ने उनलाई लागिरहन्थ्यो।

अलि ठूलो भएपछि उनले थाहा पाए, यी गोठहरु महिनावारी भएका बेला आमा दिदीहरुलाई बस्न बनाइएका हुन्। सुरुमा उनलाई यो कुनै अनौठो कुरा लागेन। समाजमा सदियौंदेखि चलेको चलन यही समाजमा हुर्किएको बालकलाई अनौठो लाग्ने कुरा पनि थिएन। जब उनी कक्षा ९ मा पढ्ने भए, तब भने उनलाई जिज्ञासा हुनथाल्यो। स्कुलमा पढाइहुने किताबमा ‘महिनावारी हुनु महिलाको स्वभाविक प्रक्रिया हो, यो कुनै अपवित्र कुरा होइन’ लेखिएको हुन्थ्यो। तर, आफ्नै कक्षाका केटीहरु छाउ हुँदा स्कुल आउन पाउँदैन थिए। उनीहरु त्यही छाउगोठमा बस्नुपर्थ्यो।

यसैबेला उनी बाल क्लबको अध्यक्ष बने। उनले जिल्लामा हुने विभिन्न सचेतनामूलक कार्यक्रमहरुमा भाग लिन पाए। बाल क्लबमै पनि यसबारे छलफल हुन थाल्यो। अनि मात्र उनले छाउप्रथाबारे राम्रोसँग बुझ्ने अवसर पाए। यही बेला उनी अनेरास्ववियुमा पनि आबद्ध भए। विद्यार्थी राजनीतिका क्रममा पनि उनले छाउप्रथाबारे बुझ्ने अवसर पाए।

‘यो हाम्रो समाजमा रहेको अत्यन्तै नराम्रो कुप्रथा हो भन्ने मैले त्यतिबेला मात्र बुझ्न सकें,’ उनले भने, ‘बुझे पनि हामीले यसविरुद्ध केही गर्न सक्ने अवस्था थिएन।’

‘बाल क्लबमार्फत केही सचेतनामूलक काम गर्ने प्रयास गर्यौं। तर, केटाकेटीको कुरा भनेर कसैले चासो दिएनन्,’ उनले पुराना दिन सम्झिए, ‘यी केटाकेटीले अहिले कुरा बुझेका छैनन् भन्थे सबैले।’

प्लस टु पढ्न थालेपछि उनी आफ्नै गाउँको युवा क्लबमा आबद्ध भए। चाँडै उनी क्लबको अध्यक्ष पनि बने। तत्कालीन दैजी गाविस वडा नम्बर ६ मा दिव्यज्योति युवा क्लबका माध्यमबाट उनी छाउगोठ विरोधी अभियानमा लागे।

‘दुईपटक त हामीले छाउगोठ भत्कायौं पनि,’ उनले भने, ‘सुरुमा गोष्ठी, भेला गरेर चेतना जगाउने प्रयास गर्यौं र अन्तिममा भत्काउनै गएका थियौं।’

क्लबको एक्लो प्रयासले समाजमा जकडिएको अन्धविश्वासलाई हल्लाउन सकेन। बरु छाउगोठ भत्काउन सजिलो थियो, हजारौं वर्षदेखि मानिसको मनमा गाडिएको अन्धविश्वास उखेलेर फाल्न सजिलो थिएन। यो कति गाह्रो काम रहेछ भन्ने उनले त्यसबेला महशुस गरे। छाउगोठ भत्काउने क्रममा कतिपटक त झगडा पनि भयो। आफ्नो संस्कृतिविरूद्ध उत्रिएको भन्दै उनले आलोचना पनि खेप्नुपर्योे।

‘क्लबकै साथीहरुलाई बुझाउन समय लाग्यो,’ उनले भने, ‘कतिपय महिला साथी नै संस्कारविरुद्ध क्लब लाग्नु हुँदैन भन्थे।’ उनीहरु अन्धविश्वास चिर्न सक्ने भएकै थिएनन्।

अहिले वडाध्यक्षका रुपमा काम गर्दा भने त्यो अनुभव उनलाई काम लागेको छ। त्यसो त उनलाई वडाध्यक्ष बन्ने बाटो पनि यही क्लबले नै बनाइदिएको हो। क्लबमा हुँदा गरेका कामको बदलामा यहाँका मतदाताले वडाध्यक्षमा विजयी गराएको उनी स्वीकार गर्छन्।

‘छाउपडी कञ्चनपुरको मौलिक समस्या होइन, यो सरिआएको समस्या हो,’ उनले आफ्नो गाउँको वास्तविकता बताए। छाउप्रथा कञ्चनपुरमा नै परापूर्वकालदेखि बसिआएका थारुलगायत अन्य समुदायमा छैन। जति छ, पहाडबाट बसाइँ सरेर आएका समुदायमा मात्रै छ। त्यसमा पनि वेदकोट नगरपालिकामा खासगरी अछामका मानिसहरुको आवादी बाक्लो छ। अछाम आज पनि सुदुरपश्चिममा छाउप्रथाको सबैभन्दा जटिल समस्या भएको जिल्ला हो।

‘अछामबाट बसाइँ आउने क्रममा उनीहरुले आफ्नो संस्कृति पनि सँगै लिएर आए,’ सिंहले भने, ‘उनीहरुले राम्रो संस्कृति पनि ल्याए, नराम्रो संस्कृति पनि ल्याए। यसले नै यहाँ छाउगोठको समस्या अलि धेरै भएको हो।’

यो समस्याविरुद्ध जुध्न उनले वडामा निर्णय गरेपछि सबै राजनीतिक दलसँग छलफल गरे। पटकपटक छलफल गरेपछि यसमा अघि बढ्न उनलाई सहज भयो।

यसपछि उनले स्थानीय धामीझाँक्रीसँग छलफल सुरु गरे। उनको वडामा करिब २५ जना धामी छन्। सुरुमा सबै उनको विरुद्धमा थिए। छाउ हुँदा गोठमा नबसे देउता रिसाउने र अनिष्ट हुने चेतावनी उनीहरुले दिइरहे।

‘सुरुमा त कोही पनि मानेका थिएनन्,’ वडाध्यक्ष सिंहले भने, ‘हामीले धेरै पटक भेला गरेर कुरा गर्यौं । मैले उनीहरुलाई एक्लैएक्लै भेटेर पनि कुरा गरेँ। कानुनको डर समेत देखाएँ।’

अन्ततः उनीहरु सहमत भए। यसपछि उनलाई काम गर्न धेरै सहज भयो। अन्धविश्वास व्याप्त समाजमा धामीझाँक्रीका कुरा धेरैले मान्छन् भन्ने बुझेरै आफूले धामीझाँक्रीलाई हातमा लिएको उनले बताए।

वडा नम्बर १ का अध्यक्ष हरिबहादुर गिरीको साथले पनि उनलाई धेरै सजिलो भयो। गिरी आफैं धामी हुन्। त्यसैले धामीझाँक्रीदेखि सर्वसाधारणलाई कुरा बुझाउन गिरीको भूमिकाले धेरै सहयोग पुर्‍यायो।

धामीझाँक्रीसँगको छलफलपछि यिनै धामीझाँक्री अघि लगाएर सर्वसाधारणसँग छलफल सुरु गरे। धेरैलाई सहमत गराए। कतिपयले आफैं छाउगोठ भत्काए। बितेका १५ दिन भने छाउगोठ भत्काउने काममा नरेश आफैंअघि सरे।

‘अलि बुढापाकाले त गाली गरे,’ उनले आफ्नो अप्ठ्यारो सुनाए, ‘राम्रो काम गर्छौ भनेर भोट दिएको त हाम्रै गोठ भत्काउन पो आयौ त भने।’

उनलाई कतिपयले भोलि केही भैपरी आयो भने जिम्मा लिन्छौ भनेर समेत सोधे। उनी डराएनन्। कुनै संयोग पर्योक भने अप्ठ्यारो हुनसक्छ भन्ने जान्दाजान्दै उनले आँट गरे र ‘मेरो जिम्मा भयो’ भनिदिए। कागजमा लेखेरै दिए।

उनी हाँसे, ‘देउताको पनि जिम्मा लिएर काम गर्नुपरेको छ।’

अभियानका दौरान दुई वटा वडामा करिब ५० जति छाउगोठ भत्काए। वडा नम्बर २ मा मात्रै २४ वटा छाउगोठ भत्काएको सिंहले बताए।

वडा नम्बर १ र २ को घेाषणापछि अब नगरपालिकालाई नै छाउगोठ मुक्त बनाउने उनीहरुको योजना छ। नरेश नगर कार्यसमिति सदस्य र न्यायिक समिति सदस्य पनि रहेकाले उनलाई नगरपालिकाभरि काम गर्न सजिलो छ। नगरपालिकामा अब ३ सय जति छाउगोठ रहेको उनले सुनाए।

‘हामीले नगरपालिकाको बैठकमा पनि यसबारे छलफल गरेका छौं,’ उनले भने, ‘अब हामी बाँकी रहेका ७ वटा वडालाई पनि छाउगोठ मुक्त बनाउँछौं।’

छाउगोठ भत्काउनु नै छाउपडी प्रथा अन्त्य हुनु होइन, यसलाई दीगो बनाउन र यससँग सम्बन्धित अरु अन्धविश्वास तोड्न उत्तिकै चुनौतिपूर्ण ठान्छन् सिंह। उनी भन्छन्, ‘अझै पनि छाउ भएका महिलाले किताब पढे विद्याकी देवी सरस्वती रिसाउँछिन्, दहीदूध छोए भैंसी रुख चढ्छन् भन्नेजस्ता अन्धविश्वास समाजमा बाँकी नै छन्।’ – नेपाल लाइभ

प्रतिक्रिया दिनुहोस्