फेरिदै मूलपानीको पहिचान



काठमाडौं, २२ माघ

कुनै बेला काठमाडौं उपत्यकाको फोहर फाल्ने ठाउँ मूलपानीको नागदह अहिले नेपाली क्रिकेटको नयाँ गन्तव्यका रूपमा स्थापित हुने क्रममा छ।

केही महिनाअघि माथिल्लो मैदान निर्माण सम्पन्न भएर सञ्चालनमा आएयता राष्ट्रिय टोलीको प्रशिक्षणदेखि अन्य थुप्रै प्रतियोगिताका लागि मूलपानी मैदान कीर्तिपुरको विकल्पका रूपमा प्रयोग भइरहेको छ । नेपाली राष्ट्रिय टोलीको समेत प्रतिनिधित्व गरिरहेका खेलाडीहरूलाई समेट्दै पछिल्लो एक सातादेखि मूलपानी मैदानमा दोस्रो खुकुरी कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता भइरहेको छ, मूलपानीको पहिचान परिवर्तन गर्दै।

‘यहाँ हुने सबैखाले गतिविधिमा नगरपालिकाको स्टेक हुनुपर्छ । मूलपानीले दिएको यति ठूलो जग्गामा ठूलो काम हुँदा त्यसबाट सबभन्दा पहिला मूलपानीवासी लाभान्वित हुन पाउनुपर्छ ।’
‘मूलपानी क्रिकेट मैदान यहाँको पहिचानसँग गाँसिएको सम्पत्ति हो । पहिला फोहोर फाल्दा हाम्रो पहिचान नकारात्मक थियो । अहिले यसले अन्तर्राष्ट्रिय क्रिकेट गन्तव्यका रूपमा नयाँ पहिचान स्थापित गरेको छ,’ मैदान पर्ने कागेश्वरी मनोहर नगरपालिकाको वडा नम्बर ६ का वडा अध्यक्ष प्रकाश फुयाल भन्छन्, ‘यो मैदानले समग्र रूपमा यहाँको आर्थिक र सामाजिक विकासमा पनि योगदान गर्नेछ । त्यसैले हामी पक्कै पनि खुसी छौं।’

खुकुरी कपको आयोजक खुकुरी इएनटीका विनायकविक्रम थापा मूलपानीलाई त्रिवि क्रिकेट मैदानको विकल्पका रूपमा पाउँदा निकै हर्षित मुद्रामा भेटिए । राष्ट्रिय स्तरका प्रतियोगिता गर्दा सधंै कीर्तिपुर धाउनुपर्ने र त्यसको व्यस्तताका कारण निराश हुनुपर्ने अवस्थाबाट मूलपानी मैदानले मुक्ति दिएको बताए ।

‘यहाँको विकेट राम्रो भए पनि मैदान स्तरअनुसारको छैन । यो मैदान स्तरीय बनाउन अझै बाँकी छ । यो मैदान कसले कुन उद्देश्यले व्यवस्थापन गर्छ भन्नेमा यसको भविष्य निर्भर रहन्छ,’ सुनील धमला, नरेश बुढाऐर, प्रदीप ऐरी, सागर पुन, राजु रिजाल र कुशल भुर्तेललगायत राष्ट्रिय टोली तथा विभिन्न उमेर समूहबाट खेलिसकेका खेलाडीहरूलाई समेट्दै प्रतियोगिता गरिरहेका थापाले भने, ‘यसलाई सही ढंगले व्यवस्थापन गरे नेपाली क्रिकेटलाई मूलपानीले धेरै योगदान गर्न सक्छ।’

क्रिकेट गन्तव्यका रूपमा आफ्नो ठाउँ परिचित भइरहेकोमा खुसी भए पनि नेपाली खेल प्रशासनको कार्यशैलीबाट भने फुयाल आक्रोशित छन् । ‘मैदान निर्माण तथा व्यवस्थापनमा हामीलाई पूर्णत बेवास्ता गरिएको छ । उनीहरूले मनलागी काम गरिरहेका छन् । हामी अधिकार सम्पन्न प्रतिनिधि हांै । हामीले बिनासर्त ४ सय रोपनीको हाराहारीमा जग्गा दिएका होइनौं,’ फुयालले आक्रोश पोखे, ‘यहाँ हुने सबैखाले गतिविधिमा नगरपालिकाको स्टेक हुनुपर्छ । मूलपानीले दिएको यति ठूलो जग्गामा ठूलो काम हुँदा त्यसबाट सबभन्दा पहिला मूलपानीवासी लाभान्वित हुन पाउनुपर्छ।’

लामो समयदेखि मूलपानीमा बसोवास गर्दै आएकी दोलखाकी भगवती थापाले मैदानको माथिल्लो भागमा चटपटे र पानीपुरी बेच्न थालेको पनि धेरै भइसक्यो । तर मूलपानी मैदान सञ्चालनमा आएदेखि उनको व्यापार बढ्न थालेको छ । पहिला यस्तो पसल उनकोमात्र थियो भने अहिले अरु व्यापारीसँग पनि प्रतिस्पर्धा गर्नु पर्न थालेको छ।

‘खेल भएको बेला अरू दिनभन्दा बढी मानिस आउँछन् । व्यापार पनि धेरै हुन्छ,’ खुकुरी कप भइरहेको मैदानतिर देखाउँदै उनले नागरिकसँग भनिन्, ‘यो अहिलेको जस्तो खेल हुँदा त्यतिसारो भीड हुँदैन । तर क्याम्पसको खेल हुँदा चाँही पानीपुरी र चटपटे खानेको घुँइचो नै लाग्छ । यहाँ खेल धेरै हुन थालेपछि व्यापारी पनि बढ्न थालेका छन् । प्रतिस्पर्धा धेरै छ।’

केही स्थानीय व्यापारीले सामान्य लाभ पाए पनि मूलपानी रंगशालाका कारण यहाँको समग्र जनजीवनमा सकारात्मक असर देखिनुपर्ने वडा अध्यक्ष फुयाल बताउँछन् । ‘खेलकुदका लागि समुदायजस्तै समुदायका लागि पनि खेलकुद हुनुपर्छ । मूलपानीवासीले ४ सय रोपनी जग्गा क्रिकेटका लागि दिएपछि यसबाट हुने प्रतिफलमा पनि मूलपानीवासीकै पहिलो हक हुनुपर्छ,’ फुयालले भने।

माथिल्लो मैदान निर्माण सम्पन्न भए पनि त्यहीं बन्न लागेको रंगशालाको जग्गा विवाद स्थानीय निकायकै पहलमा समाधान भएको प्रसंग कोट्याउँदै फुयालले थपे, ‘जग्गा चाहिए हामीले दिनुपर्ने, विवाद आए हामीलाई गुहार्ने, अनि अरू कामचाहिँ हामीलाई पूरा बेवास्ता गर्दै मनपरी ढंगमा गरिरहेका छन् । अहिले राष्ट्रिय खेलकुद परिषद्ले मनलाग्दी ढंगमा यहाँको मैदान उपयोग गरिरहेको छ । हामीले यस विषयमा छलफल गर्न चाहँदा सदस्यसचिव केशवकुमार विष्ट सम्पर्कमा आउन चाहनुभएको छैन । तर नगरपालिका चुप लागेर बस्दैन।’ -नागरिक

प्रतिक्रिया दिनुहोस्