प्रियंकाको बच्चा जन्माउने रहर



काठमाडौं, २१ माघ

बलिउड र हलिउडमा स्थान बनाइसकेकी अभिनेत्री हुन् प्रियंका चोपडा । तर, बलिउडमा उनले जति सफलता चुमिन्, हलिउडमा ‘पिकअप’ लिन नसकेको आलोचना भारतीय मिडियाहरूले गर्दै आएका छन् । जे होस्, उनी ‘भर्सटाइल’ अभिनेत्रीका रूपमा चर्चित छिन् ।

प्रियंका निजी जीवनबारे मिडियामा कमै खुल्ने अभिनेत्रीका रूपमा चिनिन्छिन् । तर, एक पत्रिकालाई दिएको पछिल्लो अन्तर्वार्ताका कारण उनी चर्चामा छन् । अन्तर्वार्तामा उनले सन्तानको चाहना व्यक्त गरेकी छिन् ।

‘म धेरै बच्चा चाहन्छु । तर, समस्या यो छ कि मेरो चाहना कोबाट पूरा हुन सक्छ, पत्ता लगाउन सकिरहेकी छैन,’ उनले अन्तर्वार्तामा भनेकी छिन् । साथै, उनले लामो समयदेखि कसैसँग प्रेममा नरहेको दाबी पनि गरेकी छिन् । ‘कसैको ध्यानाकर्षण गराउन मैले यो कुरा भनेको होइन । वास्तविकता जे छ, त्यही कुरालाई व्यक्त गरेकी हुँ,’ उनले अगाडि भनिन्, ‘म विवाहको विषयलाई लिएर निकै गम्भीर छु । मलाई परिवारजस्तो संस्थामा पूरा विश्वास छ ।’

प्रियंकाको अन्तर्वार्ता अझै रोचक यसकारण छ कि उनले जीवनसाथीको योग्यताका लागि सर्त पनि राखेकी छिन् । ‘यदि मेरो पार्टनरले मेरो हेरचाह गरेन र स्मार्ट देखिएन भने वैवाहिक जीवन लामो समयसम्म जान सक्दैन । पार्टनरले मलाई केही काममा व्यस्त बनाएन भने पनि त्यस्तो व्यक्तिसँग म बस्न सक्दिनँ,’ उनले भनेकी छिन्, ‘आफू रोमान्टिकसँगै भावुक पनि भएकाले पार्टनरले मेरो सम्मान गर्न सक्नुपर्छ ।’

प्रियंकाको नाम विगतमा अक्षय कुमार, हरमन बाबेजा र शाहरुख खानसँग जोडिएर आउँथ्यो । हलिउड छिरेपछि ‘बेवाच’ को–स्टार ड्वाने जोनसनसँग पनि अफेयरमा रहेको चर्चा चलेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्