प्रदेश ३ को मुख्यमन्त्रीमा अष्टलक्ष्मीलाई राजेन्द्रको चुनौती



काठमाडौं : नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई प्रदेश ३ को मुख्यमन्त्रीमा अर्का नेता राजेन्द्र पाण्डेले कडा चुनौती दिएका छन् । एमाले भित्रको चर्को गुटगत राजनीतिका कारण अष्टलक्ष्मीलाई एक्लो मुख्यमन्त्री बन्न चुनौतीको पहाड नै छिचोल्नुपर्ने अवस्था आएको हो ।

मुख्यमन्त्रीकी दाबेदार अष्टलक्ष्मीसँगै राजेन्द्रप्रसाद पाण्डेले सशक्त दाबेदारी प्रस्तुती गरेपछि प्रतिस्पर्धा कडा हुँदै गएको हो । पार्टीको ‘सिनियर’ नेताका रुपमा रहेकी शाक्यको प्रतिस्पर्धीका रुपमा पार्टी उपाध्यक्षमा पराजित राजेन्द्र पाण्डे देखिएका छन् । मुख्यमन्त्रीको दौडमा नेताहरु पशुपति चौलागाईँ, अरुण नेपाल, सानुकुमार श्रेष्ठ र केशव स्थापित लगायत पनि देखिएका
छन् ।

मुख्यमन्त्री हुन गुट परिवर्तन
गुट परिवर्तन गरेर पाण्डेले आफ्नो पल्ला भारी गरिरहेका छन् । माधव नेपाल गुटबाट उपाध्यक्षमा उठेर पराजित भएका पाण्डे अध्यक्ष केपी ओली गुटमा आएर प्रदेश ३ को संसदीय दलको नेता हुने कसरतमा लागेका छन् ।

प्रदेश ३ मा ओली गुटको पल्लाभारी छ । डोरमणी पौडेल, रामेश्वर फुयाल, सानुकुमार श्रेष्ठ, केशव स्थापित, चन्द्रबहादुर लामा, बसुन्धरा हुमागाई र सरेश नेपाल लगायत ३० जना बढी ओली पक्षधर हुन् । अर्कातिर अरुण नेपाल, पशुपति चौलागाईँ र लक्ष्मण लम्साल नेपाल पक्षधर हुन् ।

कुल ११० सिट रहेका प्रदेश सभामा एमालेले स्पष्ट बहुमतसहित ५८ सिट जितेको छ । पार्टीको संसदीय दलको नेताका लागि अष्टलक्ष्मी र पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेश ३ मा अध्यक्ष ओलीको आर्शिवाद पाउने व्यक्ति नै संसदीय दलको नेता हुने निश्चित छ । तर ओलीले प्रदेश ५ का शंकर पोखरेल बाहेक अन्यलाई आश्वासन नदिएको बताए चुनावबाटै नेता छान्ने छनक दिइसकेका छन् ।

सबैभन्दा योग्य र सिनियर
दाबेदार पाण्डेले पार्टी निर्माणदेखि नै लागेकाले मुख्यमन्त्रीको लागि सबैभन्दा योग्य आफु भएको बताए । ‘म ५० जना पनि संगठित नहुँदाको सदस्य हुँ, सिनियरको हिसाबमा म नै अगाडि छु । पद मात्रै मेरो पोलिब्यूरो हो’, उनले भने ।

पाण्डेले ४ पटक प्रतिनिधि सभाको सांसद, सचेतक, मुख्य सचेतक हुँदै मन्त्रीसम्म भएको बायोडाटा सुनाए । स्थानीय निकाय विभागको प्रमुख भएर १० वर्षसम्म राम्रो अनुभव लिएको दाबी पाण्डेले गरेका छन् । उनले दाबी गर्नेमध्ये नेतामा सबैभन्दा योग्य र अनुभवी आफैँ भएको बताए ।

‘मुख्यमन्त्रीका धेरै जिम्मेवारी छन्, केन्द्रका धेरै काम प्रदेशले गर्नु पर्नेछ, त्यहाँ जाने महिला, जनजाति, ठाउँ विशेष भनेर होइन, योग्य छ की छैन, अनुभव र क्षमता कति छ, त्यसको आधारमा जिम्मेवारी दिनुपर्छ’, उनले भने ।

गुट फेरेको छैन
उनले मुख्यमन्त्री हुनकै लागि गुट परिवर्तन गरेको भन्ने कुरा प्रति असहमति जनाए । ‘मुख्यमन्त्री हुन गुट परिवर्तन गर्‍यो भन्ने कुरा फजुल हो’, उनले एमाले गुट नै नभएको दाबी गर्दै भने ।

पार्टी अध्यक्ष ओली र नयाँ बन्ने नेपाल कम्युनिष्ट पार्टी मात्रै आफुलाई थाहा भएको उनले बताए । पाण्डेले आफुले संसदीय दलको निर्वाचन भएमा जितेर देखाउने पनि जिकिर गरे। संसदीय दलको नेता चयनमा निर्वाचनमै जानुपर्ने उनको भनाइ छ । उता सभामुखमा भने डोरमणी पौडेलको नाम करिब निश्चित छ ।

प्रदेश नम्बर ३ मा सबै प्रदेश भन्दा पहिले प्रदेश सभाको बैठक बसिसकेको छ । बैठकले माघ २७ गते सभामुख चयनको कार्यसूची बनाएको छ । सबै प्रदेशमा फागुन ३ गते भित्र मुख्यमन्त्री चयन भइसक्ने छन् । (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्