यी हुन् महिनाको एक लाख तलब पाउने सात ‘छोटे राष्ट्रपति’हरु



सरकारले सातै वटा प्रदेशका लागि सात जना प्रदेश प्रमुखको सिफारिश गरेको छ। नियुक्ति भने राष्ट्रपतिले गर्ने प्रावधान छ। प्रदेश प्रमुखको काम के हो त? काम खासै केही हुन्न हेर्नुस्। केन्द्रमा राष्ट्रपतिको जस्तो काम हो, त्यस्तै हो प्रदेश प्रमुखको काम। सेरेमोनियल हेड। प्रदेशमा केन्द्रको प्रतिनिधि हुने। प्रदेश सभामा बहुमत भएकोलाई मुख्यमन्त्री बनाउने, प्रदेश सभा विघटन गर्ने, निर्वाचन मिति तोक्ने, मुख्य मन्त्री र प्रदेश मन्त्रीहरुलाई शपथ खुवाउने, प्रदेशको संसदमा सम्बोधन गर्ने, प्रदेशको मन्त्रिपरिषद् नहुँदा कार्यकारिणी अधिकार प्रयोग गर्ने आदि इत्यादी।

को को बन्ने भए त छोटे राष्ट्रपति?

प्रदेश नम्बर १ डा. गोविन्द सुब्बा
धनकुटा स्थायी घर। पाटन क्याम्पसमा अंग्रेजी विषयका प्राध्यापक। पहिले अखिलको राजनीति गरेका पछि कांग्रेसका।

प्रदेश नम्बर २ रत्नेश्वरलाल कायस्थ
पूर्व सचिव, योजनाका आयोगका पूर्व सदस्य।

प्रदेश नम्बर ३ अनुराधा कोइराला
माइती नेपालकी संस्थापक अध्यक्ष, सिएनएन हिरो, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा सहायक मन्त्री।

प्रदेश नम्बर ४ बाबुराम कुँवर
पूर्व महान्यायाधीवक्ता हुन्। सुशील कोइराला प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता। घर अर्घाखाँची।

प्रदेश नम्बर ५ उमाकान्त झा
पूर्व सचिव। खिलराज रेग्मीको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री। महन्थ ठाकुरका सम्धी।

प्रदेश नम्बर ६ दुर्गाकेशर खनाल
सुर्खेत कांग्रेसका संस्थापक नेता। जनपब्लिक हाइस्कुलका पूर्व शिक्षक। ०४८ सालमा कांग्रेसबाट राष्ट्रियसभा सदस्य।

प्रदेश नम्बर ७ मोहनराज मल्ल
पूर्व राष्ट्रिय पञ्चायत सदस्य र परराष्ट्र सहायक मन्त्री। घर कैलाली

के छन् सुविधा?

ऐनमा गरिएको व्यवस्था अनुसार प्रदेश प्रमुखले महिनामा रु एक लाख ४ हजार रुपैयाँ पाउनेछ। यति धेरै तलब भनेर आलोचना हुन्छ भनेर होला पारिश्रमिकका रुपमा ६४ हजार रुपैयाँमात्र छुट्याइएको छ। बाँकी ४० हजार चाहिँ अतिथि सत्कार र भैपरी खर्च भनेर दिइनेछ। यसको बिल पेश गरिरहनु नपर्ने भएकोले र मासिक आउने भएकोले यसलाई पनि पारिश्रमिक मै जोडे फरक पर्दैन। अरु पनि छन् सुविधा, सुन्ने हो?

वर्षमा १८ हजार रुपैयाँ पोशाक सुविधा
स्वदेशमा घुमे प्रति दिन ३ हजार रुपैयाँ भत्ता
विदेशमा घुमे प्रति दिन २५० अमेरिकी डलर भत्ता
युरोपियन मुलुकहरु, अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, क्यानडा, कुवेत, कोरिया, जापान, हङकङ, रुस, कतार, जाम्बिया, युएई, सिंगापुर, लेबनान, बहराइनको भ्रमण गर्दा ३३ प्रतिशत थप रकम
स्वदेशमा उपचार गराउँदा वा मेडिकल बोर्डको सिफारिशमा विदेशमा उपचार गराउँदा उपचार खर्च नेपाल सरकारले व्यहोर्ने
त्यतिमात्र हैन कुरुवा बस्नुपर्ने भएमा कुरुवा खर्च वापत् एकजनाको मनासिब खर्च पनि नेपाल सरकारले उपलब्ध गराउने
प्रदेश प्रमुखले आफ्नो पदीय हैसियतले सम्पादन गरेका कामकारबाहीको विषयमा निज पदमा रहँदा वा सेवानिवृत्त भएपछि निज उपर कुनै अदालतमा मुद्दा नचलाउने
प्रदेशको राजधानीमा सरकारी घर आवासको रुपमा सुविधा
आवासको सुविधा नभएसम्म घरभाडावापतको रकम
सरकारी आवासको मर्मत तथा सम्भार खर्च
घरको लागि उपयुक्त फर्निचरको व्यवस्था
सवारी साधनको व्यवस्था
गाडीको लागि इन्धन, मोबिल र मर्मत सम्भारको व्षवस्था
टेलिफोन, कम्प्युटर, इन्टरनेट, फ्याक्स, पत्रपत्रिका जस्ता सञ्चार सुविधा
एक जना निजी चिकित्सकको व्यवस्था
चाडपर्व खर्चको रुपमा प्रत्येक वर्ष एक महिनाको पारिश्रमिक बराबरको रकम।
१२ जना कर्मचारी रहेको निजी सचिवालय
सुविधाहरु देखेर तपाईँलाई लोभ लाग्यो होला। प्रदेश प्रमुखको काम चाहिँ के हुन्छ त?

के योग्यता हुनुपर्दो रहेछ त प्रदेश प्रमुख अर्थात् प्रदेशको छोटे राष्ट्रपति हुन?

-संघीय संसदको सदस्य हुन योग्य भएको,
-३५ वर्ष उमेर पूरा भएको र
-कुनै कानुनले अयोग्य नभएको

प्रतिक्रिया दिनुहोस्