प्रधानमन्त्री देउवासँग विदेशमन्त्री स्वराजको भेट



काठमाडौँ, १९ माघ

प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतका विदेशमन्त्री सुष्मा स्वराजले शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए ।

सो अवसरमा प्रधानमन्त्री देउवाले मैत्रिपूर्ण भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध आगामी दिनमा अझ सुदृढ र प्रगाढ हुने विश्वास व्यक्त गरे ।

भेटमा विदेशमन्त्री स्वराजले नेपालले नयाँ संविधानअनुसार स्थानीय, प्रादेशिक र राष्ट्रिय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै यसले नेपालमा लोकतन्त्र संस्थागत होस् भनी शुभकामना दिएका परराष्ट्र सल्लाहकार डा भट्टराईले बताए ।

दुईदिने नेपाल भ्रमणका लागि बिहीबार यहाँ आइपुग्नुभएकी विदेशमन्त्री स्वराजले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । उनले बिहीबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुसँग भेटवार्ता गरेका थिए ।

विदेशमन्त्री स्वराजसँग बिहीबार राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु र आज संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका थिए । उनि आजै स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्