
टेक्सास, १९ माघ : अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले बिहीबारबाट ल्याटिन अमेरिकी देशको भ्रमण शुरु गर्नुभएको समाचार छ ।
उहाँले पहिलो मुलुलकका रुपमा मेक्सिको लाग्नुअघि टेक्सासमा आफ्नो भ्रमणका साथै अमेरिकी विदेश नीतिका बारेमा टेक्सास विश्वविद्यालयमा प्रवचन दिनुभयो ।
त्यस अवसरमा गर्नुभएको सम्बोधनमा अमेरिकाले आफ्नो विदेश नीतिमा सुधार ल्याउन र आर्थिक विकासका लागि ट्रम्प प्रशासनले काम गरिरहेको जानकारी दिनुभयो ।
त्यस अवसरमा उहाँले ल्याटिन अमेरिकी देशमा चीन र रूसको बढ्दो उपस्थितिले खतरा उत्पन्न पनि गर्नसक्ने धारणा राख्नुभयो ।
ल्याटिन अमेरिकाको पहिलो भ्रमणका क्रममा बिहीबार मेक्सिको प्रस्थान गर्नुअघि टेक्ससमा बोल्दै टिलर्सनले सो धारणा राख्नुभयो । उहाँले चिनियाँ लगानीको अहिलेको मोडेलले ल्याटिन अमेरिका वा अमेरिकाका लागि राम्रो नगरेको पनि बताउनुभयो ।
टिलर्सनले त्यस अवसरमा अमेरिकाले भेनेजुएला र क्यूबामा प्रजातन्त्रको स्थापनाका लागि आवश्यक स्वतन्त्र र निश्पक्ष चुनाव गराउन दबाब दिइरहने पनि बताउनुभएको थियो ।
ल्याटिन अमेरिकाको भ्रमणमा निस्कनुअघि टेक्सस विश्वविद्यालयमा आफ्नो विदेश नीतिबारे पनि उहाँले लामो सम्बोधन गर्नुभएको थियो ।
उहाँले सबै ल्याटिन अमेरिकी देहलाई रूस वा चीनसँग भन्दा पनि अमेरिकासँग कामगर्न पनि आह्वान गर्नुभएको थियो ।
पछिल्लो समयमा चीन र रूसले ल्याटिन अमेरिकामा आफ्नो उपस्थिति दह्रो बनाउँदै लगेका छन् । उनीहरुले केही क्षेत्रमा लगानी पनि गरेका छन् ।
टिलर्सनले रूसले कतिपय निरंकुश शासन सञ्चालन गर्दै आएका देशमा हात हतियार बेचेको आरोप पनि विदेशमन्त्री टिलर्सनले लगाउनुभएको थियो ।
उहाँले ल्याटिन अमेरिकी देशमा पछिल्लो समयमा रुसको उपस्थिति र चासो बढ्दै जानुलाई खतराको संकेत हो भन्नुभएको टेक्सासबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।