मर्यादापालकले प्रदेश २ मा दौरा सुरुवाल लगाउन नपाउने, सभामुखलाई घरैमा तालिम



काठमाडौं, १९ माघ

प्रदेश २ मा सांसदहरुले आफ्नो भेषभुषा अनुसारको ड्रेस लगाउन पाउने भएका छन् । तर, प्रदेशसभामा एकरुपता देखाउनका लागि कोट वा वन्डीको रंग भने कफी कलरको हुनु पर्नेछ ।

प्रदेश २ मा सांसदहरुको ड्रेस कोड तयार भएको छ । यस अन्तरगत प्रदेशसभामा खटिने मर्यादापालकहरुले दौरासुरुवाल लगाउन नपाउने भएका नपाउने सहमति जुटेको छ ।

केन्द्रीय संसदका पुरुष मर्यादापालकले दौरासुरुवाल लगाउँछन् भने महिलाहरुले सारी चोलो लगाउँछन् । अन्य प्रदेशसभामा खटिएका मर्यादापालकहरुले पनि त्यही ड्रेसकोड पछ्याएका छन् । तर, प्रदेश २ ले भने अलग्गै पहिचान रोजेको छ ।

प्रदेश २ मा मैथिली संस्कृतिसँग मेल नखाने भन्दै दौरा सुरुवालको विकल्प रोजिएको छ । यहाँका मर्यादापालकले कोट पाइन्ट लगाउनुपर्ने सांसद शैलेन्द्र साहले जानकारी दिए ।

बैठकमा सहभागी कांग्रेस प्रदेशसभा सांसद रामसरोज यादवले भने, ‘आफ्नो अनुकुल धोती कुर्ता, पाइजामा लगाउन सकिन्छ । तर, कोटको रंग कफी कलरको हुनुपर्छ ।’

जाडोमा कोट लगाउन सकिने भए पनि गर्मीमा गाह्रो हुने भएकाले त्यसैले कोट तथा वण्डी भनिएको यादवले जानकारी दिए ।

यो ड्रेसकोड पुरुष तथा महिला सबै सांसदका लागि लागू हुनेछ । यद्यपि पहिलो बैठकमा पोशाक सिलाउन समय नपुग्ने भएकाले अनिवार्य गरिएको छैन ।

ड्रेस कोड कहिलेबाट लागू गर्ने भनेर पछि तय हुने नेताहरुले बताएका छन् ।

प्रदेश २ को प्रदेशसभाको पहिलो बैठक माघ २१ गतेलाई बोलाइएको छ । बैठकको तयारीबारे छलफल गर्न बिहीबार बसेको बैठकले प्रदेशसभाको डे्रसकोड र लोगो तय गरेको हो ।

लोगोमा जानकी मन्दिर

सर्वदलीय बैठकले प्रदेशसभा सदस्यहरुको लोगो पनि तय गरेको छ । लागोको माथिल्लो भागमा जानकी मन्दिरको तस्वीर हुनेछ भने तल हरियो फाँट र किसानको तस्वीर हुने प्रदेशसभा सांसद रामआषिश यादवले बताए ।

विहीबारको बैठकमा सीट निर्धारण, अध्यक्ष मण्डलको मनोनयन, सभाको अन्तरिम कार्यविधिबारे पनि छलफल भएको छ ।

सर्वदलीय बैठकमा प्रदेशसभामा राष्ट्रिय भाषा वा मातृ भाषाक प्रयोगबारे छलफल भए पनि कुनै निर्णय भएको छैन ।

कर्मचारी जनकपुर पुगेनन्

यसैवीच प्रदेशसभा सञ्चालनका लागि कर्मचारीलाई प्रशिक्षण दिन संसद सचिवालयबाट सहसचिव वंशिराज पौडेलको नेतृत्वमा चार सदस्यीय टोली जनकपुर आएको छ ।

तर, सामान्य प्रशासन मन्त्रालयबाट खटाएका कर्मचारीहरु नआइपुगेकाले तत्काल चारजनाले नै बैठक सञ्चालन गर्नेछन् ।

‘प्रशिक्षण लिएर सभा सञ्चालन गर्ने कर्मचारीहरु आइपुगेका छैनन्’ पौडेलले भने, ‘हाम्रो उद्देश्य बैठक सञ्चालन र प्रशिक्षण दिने हो, तर, प्रशिक्षण लिने कर्मचारी नै आएनन् ।’

‘सभामुख’लार्इ घरैमा तालिम !

यसैवीच माघ २१ गते बस्ने पहिलो प्रदेशसभा बैठक सञ्चालनका लागि संसद सचिवालयबाट आएको टोलीले जेष्ठ सदस्य लगन चौधरीलाई प्रथम बैठक सञ्चालन गर्ने विधिबारे जानकारी गराएको छ ।

चौधरीको सिराहा, लहानस्थित घरमै पुगेर बैठकको सञ्चालन प्रक्रियाबारे प्रशिक्षण दिएको संसदीय सचिवालय टोलीले जनाएको छ ।

माघ २१ गते बोलाइएको प्रदेश २ को प्रथम बैठकको सभाकक्षको तयारी अन्तिम चरणमा पुगेको प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्