ओली र खनालबीच राष्ट्रपतिको विषयलाई लिएर हात हालाहालको अवस्था



काठमाडौं, १८ माघ

राष्ट्रपतिको विषयलाई लिएर एमालेभित्र विवाद चर्किन थालेको छ । मंगलबार एमाले स्थायी कमिटि बैठकमा ओलीले विद्या भण्डारीलाई फेरि राष्ट्रपतिमा उठाउने प्रस्ताव गरेपछि विवाद देखा परेको हो ।

ओलीले उक्त प्रस्ताव राखेपछि बरिष्ठ नेता झलनाथ खनालले ठाडै अस्वीकार गरेका थिए । उनले एकै व्यक्तिलाई दोहोर्याउन नहुने अडान लिए ।

खनालले आफूलाई राष्ट्रपतिको दाबेदारको रुपमा आफूलाई प्रस्तुत गर्दै आएका छन् । बैठकमा ओलीले भण्डारीलाई नै पूनः दोहोर्याउने प्रस्ताव गर्न नपाउँदै उनले त्यसको विरोध मात्रै गरेनन् । निर्णय नगर्दासम्म सशक्त प्रतिवाद गर्नेसम्मको संकेत दिएको स्रोतको दाबी छ । खनालले झर्केर उक्त अडान लिएपछि ओली पनि कड्कीएका थिए । उनीहरुबीच केहीबेर विवाद भएको थियो ।

ओलीले बिद्या भण्डारीलाई नै पुनः राष्ट्रपति बनाउने कुरा बारम्बार उठाएपछि खनाल आक्रोशित बनेका छन् । केहिदिन अघि पनि खनालले आफु राष्ट्रपति बन्नका लागि कसैसँग हात नाजोड्ने बताएका थिए ।

‘राष्ट्रपति दोहोर्याउने विषयलाई लिएर उहाँहरुबीच केहीसमय विवाद भयो,’स्रोतले भन्यो, ‘अन्य साथीहरुले पनि सहमतिका आधारमा चयन गर्ने कुरामा विवाद नझिकौं भनेपछि साम्य भयो ।’ खनाल र ओलिबीचको बिवाद हात हालाहालसम्मको अवस्थामा पुगेपछि अन्य नेताहरूले साम्य पारेका थिए ।

तर ओलीको उक्त प्रस्तावबारे अर्का बरिष्ठ नेता एवम पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल भने मौन देखिएका थिए । ओलीले यसअघि नै कम्तिमा राष्ट्रपतिले पाँच वर्ष चलाउन पाउनुपर्ने आफूहरुको मान्यता भएकोले अहिलेको राष्ट्रपति भण्डारीलाई दोहोर्याउने धारणा सार्वजनिक गरेका थिए ।

भण्डारीलाई राष्ट्रपति दोहार्याउन नहुने भन्दै खनाल एमालेभित्र एक्ला देखिएका छन् । यता भण्डारीले आफूलाई नै दोहोर्याउन ओली र प्रचण्डलाई दबाब दिँदै आएकी छन् । ओलीले भण्डारीको पक्ष लिएका छन् । उनले यसअघि नै भण्डारीलाई राष्ट्रपति बनाउन आश्वाशन दिई सकेको स्रोतको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्