शेरधन र अष्ठलक्ष्मीः एमालेभित्रै ‘डेञ्जर जोन’मा !



१७ माघ, काठमाडौं । एमालेको भागमा परेका प्रदेश नम्बर १, ३ र ४ का मुख्यमन्त्रीहरुको उम्मदेवारी शीर्षतहैबाट सहमतिमा टुंग्याउन नेतृत्वमाथि दबाव परेको छ । चुनाव गराउँदा पार्टीमा सन्तुलन बिग्रने भन्दै केही पोलिटब्यूरो सदस्यले नेताहरुलाई माथिबाटै सहमति गर्न दबाव दिएका हुन् ।

मुख्यमन्त्रीको उम्मेद्वार छान्न एमालेभित्रै चुनाव भए प्रदेश १ का शेरधन राई र प्रदेश ३ की अष्टलक्ष्मी शाक्य दुबै जना डेञ्जर जोनमा पर्न सक्ने देखिएको छ । प्रदेश ४ मा पनि पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ दुबैको स्थिति स्पष्ट छैन ।

एमालेले आन्तरिक चुनावबाट मुख्यमन्त्रीको उम्मदेवार छान्ने निचोड निकाले पनि कतिपय नेताले चुनावको साटो सहमति जुटाउन नेतृत्वलाई आग्रह गरेका छन् ।

मंगलबार स्थायी कमिटी बैठकमै पार्टी उपाध्यक्ष तथा ३ नम्बर प्रदेशबाट मुख्यमन्त्री दाबेदार अष्टलक्ष्मी शाक्यका साथै प्रदेश ४ को मुख्यमन्त्री दाबेदार किरण गुरुङलगायतले माथिबाटै मिलाउनु पार्टीको हितमा हुने बताएका थिए ।

एमाले एकताबद्ध छ भन्ने सन्देश दिनका लागि पनि अहिले प्रदेशसभा सांसदहरुलाई गुटमा विभाजित हुने वातावरण सिर्जना नगर्न शाक्यले आग्रह गरेकी थिइन् ।

तर, उपाध्यक्ष शाक्यको प्रस्तावमा झलनाथ खनाल, माधव नेपाललगायतका नेताले सकारात्मक नभएपछि बैठकले सकेसम्म सहमतिमा नेता चुन्ने र सहमति नभए निर्वाचन गराउने निर्णय लिएको हो ।

प्रदेश १ का मुख्यमन्त्रीका दाबेदार भीम आचार्यले खनाल र नेपाललाई चुनावको पक्षमा उभिन दबाव दिएको आशंका एमाले नेताहरुको छ ।

प्रदेश १ः समीकरण फेरिँदै
प्रदेश १ का संयोजक एवं पार्टी सचिव भीम आचार्यले प्रदेशसभामा आफूले टिकट दिएका र समानुपातिकमा राखेकाहरु धेरैले जितेका कारण चुनाव हुँदा आफुले जित्ने पोजिशन नेताहरुलाई सुनाएका छन् ।

जबकि माधव नेपाल पक्षकै नेता जीवन घिमिरेले सो पक्षबाट आफू पनि मुख्यमन्त्रीको उम्मेदवार बन्ने भन्दै आचार्यलाई स्वीकार नगर्ने बताइसकेका छन् । घिमिरेले पनि उम्मदेवारी दिए भने माधव नेपालपक्षको भोट बाँडिने छ र ओली पक्षका शेरधन राईलाई फाइदा पुग्ने छ ।

प्रदेश १ मा एमालेका ५१ सांसद छन् । गुटका आधारमा माधव नेपाल पक्षको संख्या बढी भए पनि भीम आचार्यलाई नेपाल पक्षले नै भोट नदिने कतिपयले बताइसकेका छन् ।

स्थानीय चुनावका बेला उम्मेदवार उठाउन पैसा लिएको आरोप आचार्यमाथि लागेको छ । नेपाल पक्षकै नेतासँग पैसा मागेको प्रमाण कोटेश्वरमा पुगेपछि माधव नेपालसमेत आचार्यको सन्दर्भमा अहिले बोल्न सकेका छैनन् ।

माधव नेपाल खनाल पक्षका मोरङका जीवन घिमिरे, राजकुमार ओझालगायत ८ जना सांसदले भीम आचार्यलाई मत नदिने बताइसकेका छन् । नेपाल पक्षकै राजेन्द्र राई, राजन राई लगायतका सांसदहरु खुलेका छैनन् । नेपाल पक्षकै पाँचथरका गणेश काङवाङले आचार्यलाई समर्थन नगर्ने बताइसकेका छन् ।

राजेन्द्रले चुनावकै बेला शेरधन मुख्यमन्त्री भनेर भोट मागेकाले अहिले भीम आचार्यको पक्षमा उभिन नमिल्ने आफू निकटहरुलाई बताएका छन् । चुनाव भएको अवस्थामा शेधरनको पक्षमा ५१ मध्ये ३० सांसद पुग्न सक्ने स्रोतको दावी छ । एमालेमा दलको नेता जित्न २६ मत भए पुग्छ ।

भीम आचार्य, शेरधन राई र जीवन घिमिरे तीनै जनाले चुनाव भएमा आफूले जित्ने दाबी गरेका छन् । काठमाडौंमै भेटिएका घिमिरेले माधव नेपाल पक्षबाट आफू उम्मेवार हुने बताए । उनले भीम आचार्यले माधव नेपाल र झलनाथ खनाल पक्षको सबै मत नपाउने दावी गरे ।

प्रदेश ३ः अष्टलक्ष्मीलाई अप्ठ्यारो
यता प्रदेश ३ मा भने फरक अवस्था छ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउनुपर्छ भन्नेमा अध्यक्ष ओली पनि सकारात्मक छन् ।
तर, चुनाव भयो भने ओली र नेपाल पक्षमा सांसदहरु विभाजित हुँदा शाक्यको जित्ने निश्चित छैन ।

पार्टी उपाध्यक्ष, नेवार समुदायका साथै महिला, प्रदेश संयोजक र व्यक्तित्वका कारण शाक्यलाई मुख्यमन्त्री बनाउनुपर्ने भन्दै अरुण नेपाल लगायतका नेताले शीर्ष नेतृत्वले संवेदनशीलता देखाउनुपर्ने बताएका छन् ।

जातीय र लैंगिक सन्तुलन मिलाउन पनि नेतृत्वले सहमतिको पहल गर्नुपर्ने उनीहरुको भनाइ छ । यसबारेमा ती नेताहरुले माधव नेपाल, ईश्वर पोखरेल लगायतका नेताहरुसँग पनि कुरा गरेका छन् । ‘अहिले हामीले जातीय र लैंगिक समावेशी आधारमा मुख्यमन्त्री चयन गर्ने अवसर छ । गुटको चुनावका नाममा यो अवसर गुमायौं भने धेरै वर्षसम्म एमालेले आरोपको सामना गर्नुपर्नेछ’ शीर्ष नेताहरुसँग उनीहरुले भनेका छन् ।

तर, भीम आचार्य र राजेन्द्र पाण्डेले भने जातका आधारमा मुख्यमन्त्री बन्ने तर्क गलत रहेको बताएका छन् । प्रदेश ३ मा राजेन्द्र पाण्डे ओली पक्षको उम्मेदवार बन्न खोजिरहेका छन् । उनी चुनावअघिसम्म माधव नेपाल पक्षमा थिए ।

त्यसो त मुख्यमन्त्रीका लागि चुनाव हुँदा ओली पक्षबाटै पोलिटव्यूरो सदस्य राजेन्द्र पाण्डे बाहेक सानु श्रेष्ठ सहित केशव स्थापित, डोरमणि पौडेल र कैलाश ढुंगेल संसदीय दलको नेताको दाबेदारका रुपमा देखिएका छन् । यद्यपि ओलीले अहिलेसम्म कसैलाई संकेत दिएका छैनन् ।

प्रदेश ३ को प्रदेशसभामा एमालेका ५८ सांसद छन् । राजेन्द्र पाण्डेले अष्टलक्ष्मी शाक्य र आफ्नो प्रतिस्पर्धा हुँदा आफूले ३८ मत पाउने दाबी गरेका छन् ।

समानुपातिकका केही सांसद प्रष्ट नखुले पनि यहाँ चुनाव हुँदा ओली पक्षको मत बढी छ । ओली पक्षले आफ्नो पक्षमा ३४ सांसद रहेको दाकी गरेको छ ।

माधव नेपाललाई उनकै पक्षको दबाव
पार्टीको शीर्ष नेतृत्वले अष्टलक्ष्मीलाई दलको नेतामा सर्वसम्मत गराउन पहल लिनुपर्ने निकटका नेताहरुले बताएका छन् । त्यसको लागि प्रदेश १ को मुख्यमन्त्री शेरधनलाई बनाउन नेपाल र खनालले आचार्यलाई ब्याक गर्नुपर्ने भए पनि तयार रहनुपर्ने नेपाल पक्षका एक प्रभावशाली नेताले बताए ।

तर, दलको नेताका लागि चुनाव नै हुने अवस्थामा शाक्य उम्मेदवार नबन्ने सम्भावना पनि छ ।

त्यो अवस्थामा नेपाल पक्षबाट पशुपति चौलागाई र अरुण नेपालमध्ये एक उम्मेदवार हुनेछन् । तर, शाक्यलाई मुख्यमन्त्री बनाउने निर्णय प्रदेश सचिवालयले चुनावअघि नै गरेकाले सबै इमानमा अडिनुपर्ने तर्क अरुण नेपालको छ ।

पीएस र किरणसँग ओलीको संवाद
प्रदेश ४ मा भने मुख्यमन्त्रीका लागि एकै गुटका नेता प्रतिस्पर्धामा छन् । मुख्यमन्त्रीका दाबेदार पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ दुवैजना ओली निकट नेता हुन् । पृथ्वीसुब्बा पार्टी सचिव तथा संगठन बिभाग प्रमुख हुन् भने किरण स्थायी कमिटी सदस्य तथा प्रदेश ४ संयोजक हुन् ।

किरण शुरुमै मुख्यमन्त्री बन्ने तयारीसहित प्रदेशको उम्मेदवार बनेका थिए भने माओवादीसँग सिट बाँडफाँटका क्रममा लमजुङमा प्रतिनिधिसभा माओवादीलाई छाड्नुपरेपछि पृथ्वीसुब्बा प्रदेशसभामा उम्मेदवार बने । उनले पनि मुख्यमन्त्रीको दाबीसहित चुनाव लडेका हुन् ।

आफूनिकट दुई नेताको प्रतिस्पर्धा भएपछि ओलीले दुवैलाई बोलाएर कुरा गरेका छन् । किरणलाई मुख्यमन्त्री बनाउन ओलीमाथि बामदेव गौतमको पनि दबाव छ । दुवै नेताको उचित व्यवस्थापनका लागि रविन्द्र अधिकारीलगायतले आधा-आधा कार्यकाल बाँड्ने मध्यमार्गी प्रस्ताव दिएका छन् ।

जातीय र लैंगिक समावेशी
एमालेभित्र मुख्यमन्त्रीका सन्दर्भमा यसअघि जातीय र लैंगिक समावेशी बनाउने बहस भएको थियो ।

राई लिम्बुको बाहुल्य रहेको प्रदेश १ मा शेरधन राई र नेवार तामाङ बाहुल्य रहेको ३ नम्बरमा अष्टलक्ष्मी शाक्य सम्भावित मुख्यमन्त्रीका रुपमा हेरिएका थिए ।

त्यस्तै ४ नम्बरमा गुरुङ मुख्यमन्त्री हुने भनिएको थियो । ‘ठूला जातीय समुदायको भावना समेट्ने गरी मुख्यमन्त्री बनाउनुपर्छ भन्ने कुरा भएकै हो’ एक एमाले नेताले भने ‘सम्भवतः त्यही नै हुनेछ, नेताहरुले दाबेदारहरुलाई राखेर छलफल गर्दा मिल्छ ।’

ओलीको प्रष्टीकरण
यसैबीच एमाले अध्यक्ष ओलीले आफूले कसैलाई पनि मुख्यमन्त्रीको आश्वासन दिएर चुनावमा नपठाएको प्रष्टीकरण दिएका छन् । केही नेताले चुनावअघि नै आफूलाई मुख्यमन्त्रीको आश्वासन दिएको दाबी गर्दै हिँडेपछि मंगलवारको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले प्रष्टीकरण दिएका हुन् ।

ओलीले शंकर पोखरेलबाहेक अरुलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएर नपठाएको बताएका हुन् । कृष्णबहादुर महरासँग एउटै क्षेत्रमा दाबी परेपछि माओवादी नेतृत्वसँगकै छलफलबाट पोखरेललाई मुख्यमन्त्री बन्ने गरी प्रदेशसभामा उम्मेदवार बनाइएको ओलीले बताएका थिए ।

ओलीको भनाइ उधृत गर्दै एक नेताले भने, ‘चुनावअघि भीम आचार्य र योगेश भट्टराई पनि आउनुभएको थियो । शेरधन पनि आउनुभएको हो । तर, मैले अहिले नै भन्ने स्थिति छैन भनेर पठाएको हो । मैले कसैलाई आश्वासन दिएको छैन ।’
साभार : अनलाईन खबर

प्रतिक्रिया दिनुहोस्