माघ २२ मा प्रदेश अधिवेशन



१८ माघ, २०७४

विराटनगर — प्रदेश १ को प्रथम अधिवेशन माघ २२ गते डाकिएको छ । प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले संविधानको धारा १८३ को उपधार (१) बमोजिम माघ २२ गते सोमबार दिनको १ बजे प्रदेशसभा भवन (जिल्ला समन्वय समिति मोरङको कार्यालय) मा प्रथम अधिवेशन बोलाएका हुन् ।

सोमबार साँझ आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अब प्रदेशसभामा बहुमत प्राप्त दलको नेतालाई सरकार गठनको बाटो खुल्यो । संविधानबमोजिम अब प्रक्रिया अघि बढ्छ ।’ पहिलो अधिवेशनको मिति घोषणा गर्नुअघि तुम्बाहाङले राजनीतिक दलका प्रमुख तथा कानुनविद्सँग छलफल गरेका थिए ।
पहिलो बैठकका लागि जिल्ला समन्वय समितिको सभाहल मर्मत गरिँदै छ । हलमा १ सय ४० सिट छन् । प्रदेश १ मा ९३ जना सदस्य छन् । अधिवेशन सञ्चालनका लागि कम्तीमा १० जना कर्मचारी आवश्यक पर्छन् । २२ जना जति मर्यादापालक र १० जना सञ्चारकर्मी अट्ने हल बन्दै छ । प्रदेश १ मा वाम गठबन्धनको दुई तिहाइ मत छ । एमाले एक्लैको समेत बहुमत पुग्छ । (कान्तिपुर दैनिक)

प्रतिक्रिया दिनुहोस्