अब सूचना प्रविधिबाटै जंगल व्यवस्थापन



नवलपरासी, १७ माघ
नेपालमै पहिलो पटक नवलपरासीमा सूचना प्रविधिमार्फत वन व्यवस्थापन गर्न थालिएको छ । इन्टरनेटमा आधारित प्रविधिमार्फत जिल्लामा वन व्यस्थापनको कामअघि बढाइएको वन अधिकृत विजयराज सुवेदीले जानकारी दिए ।

डाटा म्यानेजमेन्ट/ट्रयाकिङ नामाकरण गरिएको सो प्रविधिमार्फत जिल्लामा वन व्यवस्थापनको काम शुरु गरिएको र यसका लागि कार्यालयले अनलाइन मोबाइल एप्स तयार गरेर २४ वटा मोबाइल सेटमा सो प्रविधि डाउनलोड गरी दिनभर भएका काम फिल्डबाटै इन्टरनेट मोबाइलमा अपडेट हुने व्यवस्था मिलाइएको वन अधिकृत सुवेदीले बताए ।

सो प्रविधिमार्फत फिल्डमा खटिएका कर्मचारीले इन्टरनेटको माध्यमबाट गरेका काम तत्कालै सो एप्समा अपलोड गर्ने र त्यसबाट सम्बन्धित फाँट वा शाखाले भएका गतिविधि तत्काल थाहा हुने व्यवस्था गरिएको छ ।

पन्ध्रवटा इलाका कार्यालयका लागि आवश्यक कर्मचारी, तीनवटा सशस्त्र वन रक्षकसहित प्रत्येक क्याम्पमा मोबाइल सेट उपलब्ध गराइएको र यसबाट फिल्डमा गरिएको काम, काठको नाप जाँच, कटान लगायतका सबै तथ्यांक अनुसारका विवरण अनलाइनमार्फत सोही दिन अपलोड गरिने व्यवस्था मिलाइएको छ ।

यसबाट सवारी साधनका साथै कर्मचारीको दुरुपयोग रोकिने र काममा पनि प्रभावकारिता आउने विश्वास लिइएको छ ।
नवलपरासी(बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) दुबै जिल्लामा सो प्रविधिमार्फत काम अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्