निर्वाचन आयोगद्वारा रामबहादुर थापाको उम्मेदवारी खारेज



काठमाडौं, १४ माघ

प्रदेश नं ४ बाट राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका रामबहादुर थापाको उम्मेदवारी खारेज भएको छ । एमाले नेता थापाले वाम गठबन्धनको तर्फबाट प्रदेश ४ बाट अपाङ्ग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका थिए । तर, नयाँ निर्देशिका अनुसार अपाङ्ग परिचय पत्र नलिएको भन्दै कांग्रेस उम्मेदवार बनेका तनहुँका प्रकाश पन्थले निर्वाचन आयोगमा उजुरी दिएका थिए ।

छानविन पश्चात आयोगले शनिबार थापाको उम्मेदवारी खारेज गरेको हो । थापाले २७ असार २०६२ मै अपाङ्गताको परिचयपत्र लिएका थिए । तर, नयाँ निर्देशिका अनुसार नयाँ परिचय पत्र नबनाएको पाइएपछि उनको उम्मेदवार खारेज गरिएको आयोगले जनाएको छ ।

थापाको उम्मेदवार खारेजसँगै कांग्रेस उम्मेदवार पन्थ राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । प्रदेश ६ बाट अपाङ्ग कोटामा उम्मेदवारी दिएका वाम गठबन्धनका जीवन बुढाविरुद्ध पनि उम्मेदवारी परेको थियो । तर, उनको उम्मेदवारी कायम भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्