इन्टरपोल नै गुहार्नुपर्ने नवराज सिलवाल कुन तहको अपराधि हुन् प्रधानमन्त्री ज्यु ?



काठमाडौँ , १४ माघ

नेपालका कामचलाउ प्रधानमन्त्री शेरबहादुर देउवाज्यु, तपाईं कस्तो नेता, तपाईंको पार्टी कस्तो, तपाईं कुन देशका को को मान्छेको इशारामा चल्नु हुन्छ, तपाईंमा इज्जत,इमानदारिता र शिष्टता भन्ने चिजको अलिकति बिउ पनि रहेनछ, यो त सारा जनताले बुझे। अब हाम्रो संगठन तपाईंसंग यो जान्न चाहन्छ, जवाफ दिनुस् । ललितपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक बहुमतले निर्वाचित माननीय सांसद नवराज सिलवाल देशद्रोही, आतंकवादी, ज्यानमारा, भ्रष्टाचारी, डकैती, देशबेचुवा, जस्ता, त्रिपाल बेचुवा अर्थात कुन तहका अपराधी हुन् ?  जसलाई पक्राउ गर्न इन्टरपोल सम्म गुहार्यौ।

तिम्रा आँखाले दुनियाँ यतिसम्म बुध्धु देख्यो कि परिक्षा दिने परिक्षार्थीले आफ्नो रिजल्ट आँफै बनाउँछ, नवराज सिलवाल रिक्त प्रमनि पदका योग्य र काविल ब्यक्ति थिए, नियुक्ति गरि पाउँ भनेर निवेदन दिए निवेदन माथि छलफल गर्ने, कासमु तयार पार्ने, अंक दिने, पेश गर्ने सबै काम निवेदकको हो ? अनि राष्ट्रको सुरक्षा दिन्छौं भन्ने संस्थाले एउटा निवेदकको गोप्य कागजको सुरक्षा गर्न सकेन नवराज सिलवालले अंक बढाएर पेश गर्न सके? एक ठाउँमा बुझाएको फाइल किर्ते भएछ रे, अर्को निकायमा फाइल छैन, सबै निकायका सबै फाइलमा अंक बढाउन भ्याए नवराजले? लाज लाग्दैन शेरबहादुर महोदय तपाईंलाई ? अनि लाज लाग्दैन शेरबहादुरका कठपुतली बहालवाला आइजी साहेव र आँखामा कालो चस्मा लगाएर सेतो फाइल हेर्ने प्रधानन्यायाधीश महोदय ?

ओरालो लागेको मृगलाई बाछाले खेदे झैं घेरा हालेर खेदेका थियौ, त्यसरी खेदिएको मान्छेले साराका सारा फाइल किर्ते गर्ने काम कसरी सम्भव थियो ? ति सब किर्ते गराउने काम देउवा सरकार र नवराज बिरोधीलाई त्यतिबेला सम्भव भयो जति बेला नवराज सिलवाल जनताको घर दैलोमा भोट माग्दै र बिजयी भैसकेका थिए। यदि किर्ते उनले गरेको भए दाबी बिरोधको समय किन चुप बस्यौ, किन उम्मेदवारी खारेज गराएनौ ? शक्तिमा त आँफै थियौ । अझै सिधा बुझ्ने हो भने किर्ते फाइल माथि किन त्यति लामो अवधि छलफल चलायौ ?

किन त्यतिबलै कारबाही गरेनौ सर्वोच्चमा मुद्दा हाल्ने सम्मको मौका कसरी पाए नवराजले? त्यतिबेला उनी डिआईजी थिए, आईजी मागे। देशीविदेशी शक्ति सम्म लाग्यौ आईजी हुन दिएनौ। जागिर खान्न भने, राजिनामा दिए । स्वीकृत गर्यौ पब्लिक भए, त्यसै दिनबाट त्यो अध्याय समाप्त ! अब उनी पूर्व डिआईजी मात्र होइन, जननिर्वाचित सांसद हुन्।

वाईयात हल्ला पिटाएर भ्रम छर्ने काम नगर, अब जनतालाई नवराज सिलवालको जागिरे जीवनको होइन, अब हाम्रो पक्षमा बोल्छन् कि बोल्दैनन्, हाम्रो गाउँ, क्षेत्र, जिल्ला र देश बिकास गर्नेछन् कि गर्दैनन् भन्ने मात्रै चासो छ। अन्तमा:बिदेशीको इशारामा एक निर्दोष ब्यक्ति बिरुद्ध सिंगो राज्य शक्तिको दुरुपयोग नगर, दोषी छन् भने नयाँ जनादेश प्राप्त सरकार बन्छ, छानबिन गर्छ, दोषी प्रमाणिात भए कारबाही गर्छ। होइन अझै पनि सिंगौरी खेल्छौ भने, हामी पनि मुखमा बुझो र हातमा दही जमाएर बस्ने छैनौं, देशभरका भूपू सैनिक/ प्रहरीहरु अन्याय बिरुद्ध उत्रने छौं, यो हाम्रो चेतावनी हो ।

(केसी नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन,केन्द्रीय समितिका महासचिव/प्रचार विभाग प्रमुख हुन् ।)

 

प्रतिक्रिया दिनुहोस्