ओलीले नवराज सिलवाल र कोमल वलीको बचाउ गरे, दिपक मनाङ्गेको नाम नै जानेनन्



काठमाडौं, १४ माघ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गायिका कोमल वलीलाई राष्ट्रियसभाको टिकट दिएको विषयमा आलोचना भएपछि मुख खोलेका छन् । वलीलाई टिकट दिँदा पार्टीभित्र कुनै असन्तुष्टि रहे पनि नयाँलाई मौका दिइएको ओलीको भनाई थियो ।

बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले कहिले नयाँलाई चान्स दिएन भन्ने, दिँदा किन दिइयो भन्नेहरु रहेको बताए । “कोमल वलीका विषयमा कुनै असन्तुष्टि छैन ।” ओलीले भने । “अरु राष्ट्रिय सहमति पो देखियो । कांग्रेसले समेत उहाँविरुद्ध उम्मेदवारी परेन ।”

ओलीले पत्रकारको प्रश्न तेर्सिएपछि नवराज सिलवाल र दीपक मनाङ्गेका विषयमा पनि प्रतिक्रिया दिएका थिए ।
एमालेबाट ललितपुर १ मा सांसद विजयी पूर्वडीआईजी नवराज सिलवाललाई पक्राउ गर्ने प्रहरी प्रयास र सुरक्षा मागबारे पार्टीको धारणा दिदै ओलीले आफू असुरक्षित रहेको सिलवालको बयान स्वाभाविक भएको बताए ।

सिलवाल काण्डबारे अब बन्ने नयाँ सरकारले छानविन गर्ने भन्दै एमाले अध्यक्ष ओलीले नवराज सिलवाललाई समात्न सरकारले यति धेरै दुःख गर्न नपर्ने बताए ।

“सपथ लिन त आउलान् नि । देशलाई ठूलो नोक्सान र्पुयाएर भागेको पनि होइन । किन १६५ प्रहरी कुदाएर तामासा गर्दैछ ?” ओलीको प्रश्न थियो ।

ओलीलाई दीपक मनाङ्गेबारे पनि पत्रकारहरुले प्रश्न गरेका थिए । मनाङ्गेको विषयमा भने ओलीले आफूलाई केही जानकारी नभएको बताए ।

ओलीले स्वतन्त्र सभासद भन्दै मनाङ्गेका नामसमेत थाहा नपाएको जस्तो गर्दै भने, “नाम के रे ?”
मनाङ्गेको विषयमा आफूहरुको कुनै सरोकार नभएको ओलीको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्