डिजी बनाउन करोडको चलखेल, गच्छदारको मध्यस्थतामा लेनदेन



१४ माघ, काठमाण्डौ । पर्यटनमन्त्री जितेन्द्र देवले तीन महिना नपुग्दै सचिवको सरुवा गरेका छन् । मन्त्रिपरिषद्को बैठकले महेश्वर न्यौपानेलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गर्ने निर्णय गरेको हो । पर्यटन मन्त्रालयमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव कृष्ण देवकोटालाई ल्याइएको छ ।

कात्तिक ७ गतेको मन्त्रिपरिषद् बैठकबाट पर्यटनमा सरुवा भएका न्यौपाने मन्त्रीले दिएको दबाब नमान्दा सरुवामा परेका हुन् ।
स्रोतका अनुसार मन्त्री देवले नागरिक उड्ययन प्राधिकरण (क्यान) मन्त्रालयका महानिर्देशक (डिजी)फेर्न चाहेका थिए । देवलाई उपप्रधानमन्त्री बिजय गच्छदारले क्यानको डिजी फेर्न दबाब दिँदै आएका थिए ।

स्रोतका अनुसार, गच्छदारको स्वार्थ बमोजिम काम नगर्दा क्यानका डिजी संजिव गौतम मन्त्री देवको निशानामा परेका थिए ।
गच्छदारका छोरा सुवास गच्छदारलगायतले गत असोजबाट गौतमलाई हटाउने प्रयास गर्दै आएका छन् ।

मन्त्री निकट स्रोतले सचिवकै असहयोगले क्यानको डिजी परिवर्तन गर्न नसकिएको देशसञ्चारलाई बताएको थियो ।
गच्छदारले देव मार्फत निर्वाचन भन्दा अगाडि नै क्यानको डिजी फेर्न प्रयास गरेका थिए । तर निर्वाचन आयोगको असहमति पछि उनीहरुको प्रयास सफल भएको थिएन ।

अहिले आचारसंहिता नलागेको भन्दै मन्त्रीले लामो समय देखि न्यौपानेलाई डिजी फेर्न प्रस्ताव तयार पार्न दवाब दिदैं आएका थिए । तर मन्त्रीले भने बमोजिम नगर्दा न्यौपाने सार्वजनिक खरिद तथा अनुगमन कार्यालयमा थन्किएका हुन् ।

स्रोतका अनुसार शुक्रबार बेलुका सम्म पनि देवकोटा पर्यटनमा जान राजी थिएनन् ।
आयल निगमका महाप्रबन्धक गोपाल खड्कालाई कारवाही सिफारिस गरे पछि देवकोटा आपूर्ति मन्त्रालयबाट सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका थिए ।

श्रोतका अनुसार सुनसरी घर भएका सह सचिब सुरेश आचार्यलाई गौतमको ठाउमा सरुवा गराउने शर्तमा गच्छेदारले २ करोड असुली सकेका छन् ।
सुरेश आचार्यले डिजी बन्नका लागि कांग्रेस नेतृ आरजु राणालाई पाँच करोड दिइसकेको बताइएको छ । तर आचार्य लाई डिजी बनाइएन । त्यसैले पाँच करोड बुझाइसकेका आचार्य अहिले आरजु र गच्छादारकोमा धाइरहेका छन् ।

राष्ट्रियसभा चुनावका लागि आचारसंहिता लागु भइसकेकाले आफूले डिजी बन्नका लागि दिएको पाँच करोड डुब्ने चिन्तामा आचार्य छन् ।
पाँच करोडमध्ये आरजुले एक करोड, गच्छादार र देवले २–२ करोड लिने गरी गच्छादारले नै मध्यस्थता गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्