आरन व्यवसायबाट राम्रै आम्दानी



बैतडी, १३ माघ
अहिलेको समय लोप हुँदै गएको आरन पेशाबाट यहाँका एक व्यक्तिले राम्रै आम्दानी गरिरेहका छन् ।

परम्परागत रुपमा दलित समुदायले गर्दै आएको कृषि औजार तथा भाँडाकुँडा बनाउने आरन पेशा पछिल्लो समयमा हराउदै गएको बेला यसलाई व्यावसायिक रुपमै सञ्चालन गर्ने हो भने राम्रो आम्दानी हुने उदारहण देखाएका छन् पुर्चौडी नगरपालिका, कुवाकोटका दिले लुहारले ।

बाउबाजेको पालादेखि घरमै आरन व्यवसाय गर्दै आएका लुहारलाई कृषि औजार र मूर्ति बनाउन कुनै तालीम लिनु परेको छैन । घरमै आरन उद्योग सञ्चालन गरेका लुहारले कुटो, कोदालो, फरुवा, बन्चरो, हँसिया, खुकुरी, दावा, खुर्पालगायतका घरायसी कृषि औजार र देवीदेवताका मूर्ति बनाउने गरेका छन् ।

यो व्यवसायबाट उनले मासिक रु ३० हजार भन्दा माथि आम्दानी गर्दै आएका छन् । उनले भने, “मेहनत गर्नसके स्वरोजगार बन्न सकिँदो रहेछ ।” सीप र जागर भएमा गाउँमै स्वरोजगार बन्न सकिने आरन व्यवसायी लुहारको भनाइ छ । पछिल्लो समय जिल्लामा कृषि व्यवसाय विस्तार हुँदै जाँदा कृषि औजारको पनि माग बढेकाले अहिले यो व्यवसायबाट राम्रो आम्दानी भइरहेको व्यवसायी लुहारले बताए ।

परम्परागत रुपमा आफ्नै बाउबाजेले गर्दै आएको पेशा, व्यवसायलाई आधुनिकीकरण गर्ने हो भने आफ्नै गाउँ ठाउँमा स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरण उनले दिएका छन् । आरन पेशा व्यावसायिक बनेपछि अहिले घरखर्च चलाउन सहजभएको लुहारले बताए ।

प्रतिक्रिया दिनुहोस्