सिन्धुलीमा हावाबाट बिजुली उत्पादन



सिन्धुली, १३ माघ
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा हावाबाट सफल रुपमा बिजुली उत्पादन गरिएको छ । यसबाट ३५ किलोवाट विद्युत् उत्पादन भइरहेको जिल्ला समन्वय समिति सिन्धुलीका वातावरणीय अधिकृत सन्दिप उपाध्यायले जानकारी दिए ।

नेपाल सरकार तथा एसियाली विकास बैंकले रु एक करोड ७२ लाख ५८ हजार ७५६ सहयोग, उपभोक्ता, हरिहरपुरगढी गाउँपालिका र जिल्ला समन्वय समिति सिन्धुलीको लागत रु १७ लाख ४० हजार ७ रुपैंया गरी कूल रु एक करोड ८९ लाख ९८ हजार ७७३ मा परियोजना सम्पन्न भएको वातावरणीय अधिकृत उपाध्यायले बताए ।

परियोजनाको कूल क्षमतामध्ये १५ किलोवाट सौर्य र २० किलोवाट वायु गरी ३५ किलोवाट विद्युत् नियमित उत्पादन भइरहेको छ । बिहान १० बजेपछि वायुको कम चाँप हुँदा विद्युत् उत्पादनमा केही कमी हुने हुँदा बिहान १० बजेपछि सौर्य प्रणालीबाट ब्याट्री चार्ज हुने र रातको समयमा सौर्य प्रणाली निष्क्रिय भई हावाबाट मात्र ब्याट्री चार्ज हुने उपभोक्ताहरुले जानकारी दिएका छन् ।

हाबाबाट बिजुली उत्पादन गर्ने लक्ष्य अनुरुप देशका विभिन्न स्थानमा विद्युत् उत्पादन गर्ने कार्य भइरहे पनि सिन्धुलीमा अहिलेसम्मकै सबै भन्दा बढी क्षमताको विद्युत् उत्पादन भएको हो ।

प्रतिक्रिया दिनुहोस्