संविधान संशोधनका लागि तयार छौँ : एमाले महासचिव



काठमाडौँ, १३ माघ : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संविधान संशोधन र नयाँ सरकार गठनका विषयमा मधेशी दलसँग आफूहरु सहकार्यका लागि तयार रहेको बताउनुभएको छ ।

अखिल नेपाल महिला संघले आज यहाँ स्थानीय तह र प्रदेशसभामा निर्वाचित पार्टीका जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मुद्दाका आधारमा संविधान संशोधनका लागि वाम गठबन्धन तयार रहेको र सहमति भएमा मधेशी दललाई केन्द्रीय सरकारमा सहभागी गराउन कुनै समस्या नरहेको स्पष्ट गर्नुभयो । एमालेले प्रदेश नं २ मा मधेशी दलको नेतृत्वमा सरकार बनाउन पनि पार्टीले समर्थन गर्न सक्ने उहाँले बताउनुभयो ।

राष्ट्रिय जनता पार्टी र मधेशी जनाधिकार फोरम नेपालले प्रदेशको सीमांकन, नागरिकतालगायतका विषयमा संविधान संशोधनको माग राख्दै आएको छ । “हामीलाई जुन प्रकारले मधेश विरोधी भनेर चिनाउन खोजिएको छ, त्यो गलत हो, हामी जायज मागमा संशोधन र सहकार्यका लागि तयार छौँ ।” महासचिव पोखरेलले भन्नुभयो, “औचित्यले पुष्टि गरेमा शक्ति सन्तुलनको विन्यासका आधारमा संविधान संशोधन संधै खुल्ला रहन्छ ।”

अर्काे प्रश्नमा उहाँले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकता र नयाँ सरकार गठन सँगसँगै अघि बढे पनि दुवैलाई एउटै सन्दर्भमा जोड्न नमिल्ने बताउनुभयो । उहाँले पार्टी एकतापछि प्रधानमन्त्री वा पार्टी अध्यक्षमा आलोपालो नेतृत्व भन्ने सवाल नरही नेताको कार्यविभाजन हुने जनाउनुभयो ।

महासचिव पोखरेलले राष्ट्रियसभाको निर्वाचनमा तालमेल र प्रदेशसभा गठनका विषयमा कार्यदलले काम गरिरहेको र अब बस्ने एकता संयोजन समितिले वैचारिक र संगठन व्यवस्थापनसम्बन्धी कार्यदल गठन गर्ने स्पष्ट गर्नुभयो ।

यसैगरी एमालेका सचिव भीम आचार्यले आज एक बेग्लै पत्रकार भेटघाट गरी प्रदेश नं १ को मुख्यमन्त्रीमा आफ्नो उम्मेदवारी हुने जनाउ दिनुभएको छ । उहाँले निर्वाचनको टिकट वितरणमा जोडेर आफूलाई लाञ्छित गरिए पनि त्यसमा सत्यता नभएको दाबी गर्नुभयो । सो प्रदेशको मुख्यमन्त्रीमा एमालेका पोलिटब्यूरो सदस्य शेरधन राईको पनि दाबी छ । रासस

प्रतिक्रिया दिनुहोस्