किन मारिए राजा वीरेन्द्र ?



राजा वीरेन्द्रको सम्झनाले धेरै नेपालीको हृदय द्रबित हुन्छ । मुटु झङ्कृत भएझैँ लाग्छ र नयन रसाउन थाल्छन् । नेपाल र नेपालीलाई शान्त, समृद्ध, सुखी र खुसी राख्न चाहने राजा वीरेन्द्रको जन्मदिन पुस १४ गते । त्यसैले, उनीप्रति श्रद्धा राख्ने सबैले यो दिनलाई महत्वपूर्ण मान्ने गर्छन् । र, बारम्बार प्रश्न गर्छन्, किन मारिए राजा वीरेन्द्र ? कसले मार्यो उनलाई ?

२०५० साल जेठमा तत्कालीन सांसद तथा विपक्षी दल एमालेका महासचिव मदनकुमार भण्डारीको निधनप्रति दुःख व्यक्त गर्दै राजा वीरेन्द्रले दिएको समवेदना सन्देशमा भण्डारीलाई ‘समर्पित राष्ट्रवादी तथा सिद्धान्तवादी राजनीतिज्ञ’ भनिएको छ ।

राजा वीरेन्द्रको व्यक्तित्वबारे एउटा लेखमा संक्षिप्त चर्चा गर्न सकिएला तर सम्पूर्ण योगदान र बहुआयामिक पक्षबारे थोरै शब्दमा विशद् चित्रण गर्न सम्भव छैन । २००२ पुस १४ गते तत्कालीन युवराज महेन्द्र तथा युवराज्ञी इन्द्रराज्यलक्ष्मीदेवी शाहका ज्येष्ठ सुपुत्रका रूपमा नारायणहिटी राजदरबारमा जन्मिएका वीरेन्द्रले प्रारम्भिक शिक्षा भारतको दार्जिलिङस्थित सेन्ट जोसेफ स्कुलमा लिएका थिए भने २०१६ सालमा उनी ब्रिटेनको इटन कलेजमा भर्ना भएका
थिए ।

ब्रिटेनमा केही वर्ष पढेपछि २०२४ सालमा उनी टोकियो विश्वविद्यालयमा भर्ना भए । त्यसपछि उनी हार्वर्ड विश्वविद्यालयमा पढ्न थाले । डिन प्राइस, हेनरी किसिन्जर, कार्ल डचेच, ई. राइसआवर, जोन केनेथ ग्राल्ब्रेथ लगायतका प्राध्यापकबाट प्राप्त ज्ञानले उनको जीवनमा ठूलो प्रभाव पारेको देखिन्छ । हार्वर्डको अध्ययनपछि वीरेन्द्रले एसिया, ल्याटिन अमेरिका, युरोप, क्यानडा र अफ्रिकी राष्ट्रहरूको भ्रमण गरेर त्यहाँँका राष्ट्राध्यक्ष, वरिष्ठ राजनीतिज्ञ, विद्वान्, विदूषी आदिसँग भेट गरे । त्यो पनि अध्ययनकै एउटा पाटो थियो ।

२०२८ साल माघ १७ गते राजा महेन्द्रको असामयिक स्वर्गाराहेण भएपछि युवराज वीरेन्द्र नेपालका राजा भए । राष्ट्रियता, विकास र प्रजातन्त्रलाई मुख्य आधार बनाएर उनले शासनको बागडोर सम्हाले । राष्ट्रिय स्वतन्त्रता सदैव अक्षुण्ण रहोस् भन्ने अभिप्रायले उनले देशवासीलाई लगातार घच्घच्याइरहे । २०३१ फागुन १२ गते श्री ५ वीरेन्द्रको शुभराज्याभिषेक वैदिक विधि तथा राजपरम्परा अनुसार विशेष सार्वजनिक समारोहबीच वसन्तपुर दरबारको प्रांगणमा अवस्थित नासल चोकमा सुसम्पन्न भयो । विश्वका एक मात्र हिन्दुराजाको शुभराज्याभिषेकमा सहभागी हुन साठी राष्ट्रका राष्ट्रप्रमुख, सरकार प्रमुख र प्रतिनिधिहरू नेपाल अएका थिए । राजा महेन्द्रले ५३ राष्ट्रसँग कूटनीति सम्वन्ध स्थापना गरिसकेकाले धेरैजसो राष्ट्र नेपालबारे अनभिज्ञ थिएनन् । विश्वमञ्चमा नेपालको भूमिका महत्वपूर्ण हुँदै गएको र नेपालले हजारौँ वर्षदेखि बचाएको स्वतन्त्रता, एकता र अखण्डता अन्य देशका लागि समेत उदाहरणीय बनेको सन्दर्भमा त्यसबेला संसारले नेपाललाई सुक्ष्म रूपमा हेरिरहेको थियो ।

श्री ५ वीरेन्द्रको शुभराज्याभिषेक समारोहमा अमेरिका, ब्रिटेन, अस्टे«लिया, चीन, भारत, इजरायल, इटाली, अस्ट्रिया, अल्जेरिया, उत्तर र दक्षिण कोरिया, पाकिस्तान, अफगानिस्तान, इन्डोनेसिया, कुवेत, क्यानडा, चिली, इराक, जर्मनी (पूर्व र पश्चिम), जापान, जोर्डन, टर्की, डेनमार्क, नर्वे, पोल्यान्ड, सोभियत संघ, इरान र न्युजिल्यान्डका प्रतिनिधि उपस्थित भए । यस्तै, फ्रान्स, बंगलादेश, बर्मा, बुल्गेरिया, भुटान, मंगोलिया, मलेसिया, इजिप्ट, मोरक्को, युगोस्लाभिया, ग्रीस, रोमानिया, लाओस् र लेवनानका प्रतिनिधि आएका थिए । यस्तै, श्रीलंका, सिंगापुर, स्पेन, थाइल्यान्ड, स्वीडेन, स्वीट्जरल्यान्ड, हंगेरी र संयुक्त राष्ट्रसंघका प्रतिनिधि पनि समारोहमा सामेल भएका थिए ।

राजा वीरेन्द्रको शासनकालमा दुईवटा प्रमुख घटनालाई विश्वका सञ्चारमाध्यम र कूटनीतिज्ञहरूले धेरै महत्व दिएको पाइन्छ । २०३६ सालमा उनले निर्दलीय पञ्चायती व्यवस्थाबारे लोकसम्मति बुझ्न राष्ट्रिय जनमत संग्रह गराउने घोषणा गरे । त्यस्तै २०४६ सालमा निर्दलीय पञ्चायती व्यवस्थाको सट्टामा बहुदलीय प्रणालीको पुनःस्थापना गराए । ब्रिटिस मोडलको संवैधानिक राजतन्त्र स्वीकार गर्ने उनी नेपालका प्रथम राजा हुन् । त्यसैले, पश्चिमका सञ्चारमाध्यमले समेत उनलाई ‘प्रजातान्त्रिक र उदार राजा’ भनेका छन् ।

इतिहास साक्षी छ, ठूल्ठूला घटना–दुर्घटनाबाट पाठ सिकेर धेरै राष्ट्रले अस्तित्वको रक्षा गरेका छन् । राष्ट्रिय स्वाभिमान बचाएका छन् । राष्ट्रिय एकताको संरक्षण गर्दै राष्ट्रहितको संवद्र्धन–सम्पोषण गरेका छन् । स्पेन, फ्रान्स र अस्ट्रियाले पटकपटक थिचोमिचो गरेपछि राष्ट्रलाई शक्तिशाली, निःस्वार्थी र विवेकशील नेतृत्व चाहिन्छ भन्ने इटालीका जनतामा चेतना आयो । मेजिनीकै समयमा राजा चाल्र्स अल्बर्टले इटालीलाई स्वाधीन तुल्याउन अस्ट्रियासँग युद्ध गरेका थिए । कस्टोजाको युद्धमा इटाली परास्त भयो । गणतन्त्रवादी नेता मेजिनीले राजालाई सल्लाह दिए, “म सहज स्थितिमा राजातन्त्रको समर्थन नगर्ने मान्छे तर आज राष्ट्र गम्भीर संकटमा छ । त्यसैले म राष्ट्र बचाउन तपाईंलाई (राजालाई) जुनसुकै मद्दत गर्न तयार छु ।” नोभोराको युद्धमा पनि राष्ट्र परास्त भएपछि राजाले छोरा भिक्टर इमान्युअललाई गद्दी सुम्पे । उदार हृदयका भिक्टरले गणतन्त्रवादी नेता मेजिनीसँग मिलेर राष्ट्रियताको रक्षा गर्ने योजना बनाए । राष्ट्रिय एकता र अखण्डता बचाउन मेलमिलापको नीति लिए । मेजिनीको सल्लाहमा प्रबल राष्ट्रवादी नेता क्याभरलाई राजाले प्रधानमन्त्री बनाए । उनले इटालीका जनतामा राष्ट्रवादको अपूर्व लहर ल्याए । क्याभरले भने ‘इतालिया फारा दा से’ (इटाली आफ्नो रक्षा आफैँ गर्छ ।) विदेशी हस्तक्षेपविरुद्ध यो खुला चेतावनी र सन्देश थियो ।

राजा वीरेन्द्रको शासनकालमा लामो प्रवासी जीवन त्यागेर बिपी कोइराला स्वदेश फर्के । उनले पनि मेजिनीले झैँ राष्ट्र संकटमा परेका बेला राजसंस्था र प्रजातान्त्रिक संस्थाहरू मिल्नुपर्छ भन्दै ‘मेलमिलापको नीति’ ल्याए । राष्ट्रिय जनमत संग्रहमा बहुदलीय पक्ष पराजित भए पनि बिपीले जनमत संग्रहको परिणाम सहर्ष स्वीकार गरे । त्यस्तै बिपीलाई क्यान्सरको उपचारका निम्ति अमेरिका पठाउन राजा वीरेन्द्रले लाखौँ रुपियाँ सहयोग गरेको कुरा बिपीका मित्र तथा प्रसिद्ध लेखक भोला चटर्जीले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । राजा वीरेन्द्र र बिपीबीचको सम्बन्ध पछिल्ला दिनहरूमा सुमधुर बन्दै थियो भन्ने यो एउटा उदाहरण हो ।

तीस वर्षसम्म राजा वीरेन्द्रको सामीप्यमा रही निकट सम्बन्ध राख्न सफल डा. यादवप्रसाद पन्त (पूर्व अर्थमन्त्री, कूटनीतिज्ञ र राष्ट्र बैंकका पूर्व गभर्नर) राजा वीरेन्द्रसँग अत्यन्त प्रभावित थिए । कालिकास्थान (काठमाडौँस्थित निवासमा उनले पंक्तिकारसँग भनेका थिए, “कृषि र उद्योगमा प्रगति गर्न सकेनौँ भने नेपालको राष्ट्रिय आय माथि उठाउन सकिँदैन भन्ने राजा वीरेन्द्रको धारणा थियो ।” पन्तले “श्री ५ वीरेन्द्रको आर्थिक विकासको अवधारणा” शीर्षकको आलेखमा पनि यसको व्याख्या गरेका छन् ।

२०४३ सालमा प्रधानमन्त्री भएका मरीचमानसिंह श्रेष्ठ राजा वीरेन्द्रसँग खुलेर छलफल गर्थे भन्ने कुरा उनका अन्तर्वार्ता र उनीसँगको कुराकानीका प्रसंगमा छर्लंग भएका छन् । २०४५ सालमा सेनाले चीनबाट एन्टी एयरक्राफ्ट गन लगायतका सामग्री झिकाउँदा भारतले १५ महिनासम्म नेपालविरुद्ध नाकाबन्दी ग¥यो । भारतका विदेशसचिव एस. के. सिंह ६ बुँदे प्रस्ताव लिएर आए । अब भारतसँग मात्र हतियार किन्नुपर्ने, भारतको स्वीकृतिबेगर कुनै राष्ट्रसँग कूटनीतिक सम्बन्ध राख्न नपाइने, व्यापार र पारवहनमा भारतको स्वीकृति लिनुपर्ने आदि विषय त्यसमा उल्लेख थियो । राजा वीरेन्द्रले सो प्रस्तावबाट नेपालको राष्ट्रिय स्वाभिमान खरानी हुन्छ भन्दै ठाडै अस्वीकार गरिदिए । त्यसपछि भारतले दिल्लीका नेता एवं पत्रकारहरूको हुल पठाएर “राजा वीरेन्द्रको एकाधिकार र निरंकुशता तोडेर दलहरूका हातमा शासन व्यवस्था ल्याउनुपर्छ” भन्दै २०४६ सालको आन्दोलन सुरु गरायो । चन्द्रशेखर, हरकिशनसिंह सुरजित, सुब्रमव्यम् स्वामी, एम.जे. अकबरलगायतका नेताले राजा वीरेन्द्र ‘तानाशाह’ हुन् भन्दा नेपालका कैयन् नेताले थप्पडी बजाए । बिपीका जेठा छोरा प्रकाश कोइरालादेखि पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्यसमेत धेरै राष्ट्रवादीहरू २०४६ सालको आन्दोलनका पक्षमा थिएनन् ।
दिल्ली फर्किने बेलामा तत्कालीन भारतीय विदेश सचिव एस. के. सिंहले राजा वीरेन्द्रले भारतको प्रस्ताव अस्वीकार गरेकाले उनले अत्यन्त ठूलो दुष्परिणाम भोग्नुपर्ने बताउँदै विमानस्थलमा उनी निकट केही व्यक्तिलाई ६ बुँदेको सट्टा त्यसको डबल १२ बुँदे प्रस्ताव ल्याएर एकदिन नेपालको राजतन्त्र ढाल्ने चेतावनी दिएको बताइन्छ । भनिन्छ, राजा वीरेन्द्रको हत्यापछि दिल्लीमा नेपालका राजनीतिक दलहरूलाई १२ बुँदे सम्झौतामा हस्ताक्षर गराएर भारतले नेपालमा राजतन्त्रसँग प्रतिशोध लिएको थियो ।

२०४५ सालमा राजा वीरेन्द्रले झन्डै बीसजना वामपन्थी राजबन्दीलाई राष्ट्रियतालाई सहयोग गर्ने सर्तमा कारावास मुक्त गरिदिएका थिए । तर उनीहरूमध्ये कैयन्ले महाकाली सन्धि लगायत कतिपय भारतीय स्वार्थको पक्ष लिएर आफ्नो सक्कली अनुहार देखाए । वामपन्थी नेताहरूमध्ये एक जनाले “भारतीय सेना बोलाएर राजा वीरेन्द्रलाई पाता कस्नुपर्छ” भनेर बैठकमा अभिव्यक्ति दिएपछि मदन भण्डारीले उनलाई बेस्सरी हप्काएको र त्यस्ता शब्द फिर्ता लिन चेतावनी समेत दिएको बताइन्छ । राधाकृष्ण मैनालीले आफ्नो पुुस्तकमा यो प्रसंग उठाएका छन् भने बैठकका कतिपय सहभागीहरूले त्यसबेला राजासँग सहकार्य गर्ने कि भारतसँग ? भन्ने निकै बहस चर्केको बताउँछन् ।

२०५० साल जेठमा तत्कालीन सांसद तथा विपक्षी दल एमालेका महासचिव मदनकुमार भण्डारीको निधनप्रति दुःख व्यक्त गर्दै राजा वीरेन्द्रले दिएको समवेदना सन्देशमा भण्डारीलाई ‘समर्पित राष्ट्रवादी तथा सिद्धान्तवादी राजनीतिज्ञ’ भनिएको छ । हरेक दलका प्रमुख नेताका गतिविधिबारे सूक्ष्म सूचना राख्ने राजा वीरेन्द्रले मदन भण्डारीको उच्च मूल्यांकन गरेको पाइन्छ भने भण्डारीले राष्ट्रियताबारे राखेको अडानबाट राजा वीरेन्द्र प्रभावित भएको देखिन्छ ।

पुराना कोटहरू पनि मर्मत गराएर पहिरिने, दरबारका पुराना फर्निचरहरू समेत मर्मत गराएर पुनः प्रयोग गर्ने, एउटै लुगा दश–बाह्र वर्षसम्म प्रयोग गर्ने, जनताको करबाट राजस्व आउने भएकाले त्यसको दुरुपयोग गर्नु हुँदैन भन्ने राजा वीरेन्द्रको सरल जीवन उदाहरणीय मानिन्छ । भारतसँगको निर्भरता घटाउँदै अन्य राष्ट्रसँग आर्थिक कूटनीति बढाउनुपर्ने उनको मान्यता र योजना थियो । २०५७ फागुनमा भएको बोआओ फोरमको बैठकमा उनलाई चीनले विशिष्ट अतिथिका रूपमा सहभागी गराएको थियो । त्यसबेला वीरेन्द्र तथा चीनका उच्चस्तरका नेताहरूबीच भएको संवाद निकै अर्थपूर्ण मानिएको छ ।
२०५८ जेठ ३ गते राजा वीरेन्द्र र चीनका प्रधानमन्त्री झु रोङ्जीबीच काठमाडौँमा लामो, गम्भीर र गोप्य वार्ता भएको थियो । नेपालमा चीनको लगानी बढाएर आर्थिक समृद्धिको क्षेत्रमा योगदान गर्न चीन तत्पर देखियो । राजा वीरेन्द्रका बारेमा राम्ररी अध्ययन गरेका वरिष्ठ अधिवक्ता गणेशराज शर्मा र कतिपय पुराना कूटनीतिज्ञले भारत तथा पश्चिमी राष्ट्रहरूको नचाहिँदो हस्तक्षेपबाट नेपाललाई मुक्त गराउन राजा वीरेन्द्रले सुरु गरेको प्रयत्न नै उनको हत्याको प्रमुख कारण हुनसक्ने विश्लेषण गरेका छन् ।

हिमाली जिल्लाहरूको धर्म, संस्कृति र जनजीवनबारे गहिरो अध्ययन गरेका मुस्ताङ निवासी कृष्णलाल थकालीले अमेरिकी सहयोगमा नेपालमा सञ्चालित खम्पा विद्रोह दबाउन राजा वीरेन्द्रले खेलेको भूमिकाबाट चीन निकै प्रभावित भएको बताएका छन् । नेपाललाई आधार इलाका बनाएर चीनलाई टुक्र्याउन खोज्ने अमेरिकी योजना असफल तुल्याएपछि अमेरिका लगायतका पश्चिमा राष्ट्रहरू समेत राजा वीरेन्द्रसँग निकै रुष्ट रहेको बुझिन्छ ।

२०५३ साल भदौको पहिलो हप्ता चीनका राष्ट्रपति जियाङ जेमिनको निमन्त्रणामा राजा वीरेन्द्र चीन भ्रमणमा गएका बेला नेपालमा ठूलो आर्थिक लगानी गर्न चीनले चासो देखाएको थियो भने नेपाल र चीनबारे विकसित हुँदै गएको नयाँ आयामप्रति भारत र पश्चिमा राष्ट्रहरू निकै सशंकित भएको पाइन्छ । राजा वीरेन्द्रको हत्याकाण्डमा यी सबै घटनाक्रम जोडिएको हुन सक्ने कतिपयको विश्लेषण छ ।
‘नेपालको सुरक्षात्मक रणनीति’ नामक पुस्तकमा चीनका प्राध्यापक वाङ चुङले राजा वीरेन्द्रको हत्यामा भारत र अमेरिकाको ‘खुनी हात’ रहेको भन्दै कठोर आलोचना गरेका छन् । गिरिजाप्रसाद कोइरालाको मृत्युको केही दिनपछि एउटा दैनिक पत्रिकामा प्रकाशित एउटा लेखमा पूर्वपरराष्ट्रमन्त्री चक्रप्रसाद बाँस्तोलाले त्यस्तै आशंका गरेका छन् भने गिरिजाप्रसाद कोइरालाको आत्मवृतान्त ‘आफ्नै कथा’मा भारतीय गुप्तचर संस्था ‘रअ’को योजनाअनुसार नेपाली कांग्रेसले नेपालको विमान अपहरण गरेर भारु ३० लाख रुपैयाँ लुटेको, नक्कली भारतीय नोट छापेको र युरेनियम ओसारपसार गरेको स्वीकार गरेका छन् ।
मदन भण्डारीको रहस्यमय मृत्यु र राजा वीरेन्द्रको हत्या जस्ता घटनाबारे स्पष्ट लेख्ने कतिपय लेखक र विश्लेषकले “चीनलाई सार्कको सदस्य बनाउनुपर्छ” भन्ने अभिव्यक्ति दिएपछि राजा ज्ञानेन्द्रलाई बाह्यशक्तिको दबाबमा गद्दीच्युत गरिएको विश्लेषण गरेका छन् । राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता, एकता, अखण्डता, अस्तित्व र इतिहासको रक्षा गर्न चाहने व्यक्ति र स्थायी शक्तिलाई सिध्याएर आफ्नो स्वार्थ पूरा गर्न चाहनेहरूले २०४७ सालको संविधान निर्मूल गरेर जुन मार्गमा नेपाललाई डो¥याउन खोेजे, अहिलेको राजनीतिक अस्थिरताको जरो त्यही हो । तसर्थ राष्ट्रमा स्थायी शान्ति, समृद्धि र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न राजनीतिक दलहरूका साथै चेतनशील समुदायले परमुखापेक्षी प्रवृत्ति त्यागेर आफूलाई राष्ट्रवादको भावधारामा अगाडि बढाउन सक्नुपर्छ । नत्र जति वर्ष बिते पनि नेपाल सदैव अस्थिर, अशान्त र अन्यौलग्रस्त भइरहने देखिन्छ । साभार : नागरिक न्यूज

लेखकबाट थप
राम्रो : प्रजातन्त्र कि गणतन्त्र ?
पृथ्वीनारायणको गल्ती के ?
महेन्द्रमाला–२०७४
किन मारिए राजा वीरेन्द्र ?
बाह्रबुँदे विषवृक्ष

प्रतिक्रिया दिनुहोस्