जिल्लामै पहिलोपल्ट अन्तराष्ट्रिय केःलाङ महोत्सव हुदै



पाँचथर, ११ माघ
पाँचथर सदरमुकाम फिदिममा आगामी फागुन ७, ८ र ९ गते अन्तराष्ट्रिय केःलाङ (च्याब्रुङ नाँच) महोत्सव हुने भएको छ । किरात लिम्बू जातिको लोकप्रिय नाँच च्याब्रुङ नाँचको संरक्षण र बिकासका लागि महोत्सव गर्न लागिएको बिहीबार फिदिममा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

स्थानीय फिदिम माविको खेलमैदानमा हुने महोत्सवमा एक हजार च्याब्रुङ प्रदर्शनी गरिने बताइएको छ । त्यस्तै एक सय भन्दा बढी समूहको च्याब्रुङ नाँच प्रस्तुत गरिने महोत्सव मूल आयोजक समितिका अध्यक्ष मन कुमार केरुङले बताए । ‘यसले लिम्बू जातिको मौलिक बाजा च्याब्रुङ र च्याब्रुङ नाँचको संरक्षणको सन्देश समेत जानेछ’ अध्यक्ष केरुङले पत्रकार सम्मेलनमा जानकारी दिए ।

तीन दिनसम्म चल्ने महोत्सवमा भारतको सिक्किम, दार्जिलिङ सँगै नेपालको ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, तेह्रथुम, काठमाण्डौं उपत्यका र पाँचथरका च्याब्रुङ नाँच समूहहरुको सहभागिता रहनेछ । महोत्सवको पहिलो र दोस्रो दिन च्याब्रुङ र च्याब्रुङ नाँच प्रदर्शनी हुनेछ भने अन्तिम दिन ९ फागुनमा च्याब्रुङ नाँचबारे कार्यपत्र प्रस्तुती र विमर्श गरिने मूल आयोजक समितिका सचिव मधुराज केरुङले बताए ।

महोत्सवमा लिम्बू जातिको मौलिक भेषभूषा, परिकार र पुस्तक प्रदर्शनी समेत गरिने जनाइएको छ । पत्रकार सम्मेलनमा आयोजकले दश लाख ५८ हजारको लागत अनुमान समेत प्रस्तुत गरेको छ । आर्थिक स्रोतका लागि स्थानीय तह, विभिन्न संघ-संस्था र ब्यक्तिहरुसँग समन्वय गरिने बताइएको छ ।

जिल्लामै पहिलोपल्ट हुन लागेको केःलाङ महोत्सवमा साँस्कृतिक समाज, किरात याक्थुङ चुम्लुङ पाँचथर, लिम्बू भाषा विकास संस्था (लिल्डा), लिम्बू चलचित्रकर्मी संघ पाँचथर र लिम्बुवान स्टडी सेन्टर सुम्हा ? लुङ च्याप्टरले संयुक्त रुपमा गर्न लागेको हो । लिम्बू जातिले विबाह कर्म, नयाँ घर सर्ने क्रममा त्यस्तै विभिन्न मेला, पर्व र उत्सवहरुमा ‘केःसाम’ (च्याब्रुङ नाँच्दा गाइने गीत) गाउँदै च्याब्रुङ नाँच्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्