खाडीमा दु:ख भोगेपछि गाउँमै कुखुरा पालन



तेह्रथुम, ११ माघ
विदेशी भुमीमा केही वर्ष पसिना वगाएर फर्किएपछि सुखी जीवन विताउने आशामा खाडी मुलुक कतार पुगेका ५० वर्षिय चन्द्रकुमार श्रेष्ठले केही कमाउने आशामा जवानीको उर्जाशील समय खाडीको एक होटलमा विताए । कतारको राजधानी दोहा स्थित न्यु क्यापिटल होटलमा लन्ड्री व्वाईको रुपमा दश वर्ष काम गर्दा उनले सोचजस्तो कमाई हात पार्न सकेनन् । विदेश वाट फर्किए पछि ल्याएको थोरवहुत पैसाले उनले व्यापार शुरु गरे । त्यसमा पनि हातलागी शुन्य ।

आईए सम्म अध्ययन गरेका ४५ वर्षिय उनका भाई प्रेमकुमार श्रेष्ठ रोजीरोटीका लागि खाडी मुलुक साउदी अरेवीया पुगे । ३ वर्ष ६ महिना अरेवीयन एरलाईन्स्मा यात्रुको झोला जहाजमा लगाउने र निकाल्ने काम गरेका उनले पनि भने जस्तो कमाई हात लगाउन सकेनन् । सोही समय कमाएको केही पैसाले उनले गाउँमा थोरै जग्गा जोडे । कमाएर ल्याउने सपना वोकेर खाडीमा पसिना वगाउन पुगेका श्रेष्ठ दाजुभाई त्यताको कमाईले गुजरा नचलेपछि अहिले गाउँमै व्यवसायीक कुखुरा पालक किसान वनेका छन् । गाउँमै खोलेको कुखुरा फार्मले उनीहरुलाई अहिले मासिक ५० हजार रुपैंयाको आमदानी दिन थालेको छ । खाडीको भन्दा त कुखुरा पाल्दाको कमाई नै राम्रो भएको दाजु चन्द्रकुमारले वताए । ‘जवानीको जोस खाडीमा विताइयो’ उनले भने ‘सोचे जस्तो कमाई गर्न नै सकीएन ।’

अव गाउँ घरमै केही गर्ने सोचले व्यवसायीक कृषिमा लागेका श्रेष्ठ दाजुभाईले कुखुरा, गाई र अकवरे खुर्सानी खेती समेतका लागि ५ लाख ५० हजार रुपैंया लगानी गरीसकेका छन् । फार्ममा अण्डा र मासुका लागि कुखुरा पालीएको छ । उत्पादीत अण्डा र मासु स्थानीय वजारमा खपत हुन्छ । कुखुराको सुली पनि गाउ“मै प्रतिबोरा ३ सय रुपैंयाका दरले विक्री हुन्छ । मागको आधारमा उत्पादन कम भएकोले सवैलाई पुर्याउन नसकीएको श्रेष्ठ दाजुभाईले वताए । श्रेष्ठ दाजुभाईले विस्तारै गाई फार्म पनि शुरु गर्ने उदेश्यले पहिलो चरणमा दुई माउ गाई खरीद गरेका छन् । गाईको दुध स्थानीय वजारमा विक्री हुन्छ । व्यवसाय संचालनका लागि उनीहरुले जिरिको खिम्तीमा रहेको कस्तुरी जडीवुटी सहकारी संस्था मार्फत युवा स्वरोजगार कोषको ३ लाख रुपैंया ऋण लिएका छन् ।

‘ईच्छा शक्ति र काम गर्ने हिम्मत भए पैसा यही पनि रहेछ’ भाई प्रेमकुमारले भने । एक वर्ष अघि देखी व्यवसायीक कृषिमा लागेका श्रेष्ठ दाजुभाई आगामी वर्ष देखी लगानी वढाएर दोब्बर वनाउने सोचमा छन् । त्यसका लागि उनीहरुले केही वित्तिय संस्था संग लगानीका लागि कुरा अगाडी वढाएको समेत वताए । कृषि कर्ममा भविष्य देखेका यी दाजुभाईले आफु जस्तै विदेशमा गएर दुख पाएका युवाहरुलाई समेत समेटेर रोजगारी दिने सोच बनाएका छन् । त्यसका लागि विदेश जान खुट्टा उचालेर वसेका युवाहरुलाई त्यस तर्फ जान लाग्ने लगानी यही लगानी गर्न प्रोत्साहीत गरीरहेका छन् । व्यवसायीक कृषिमा लाग्दा विदेशको जस्तो कमाई यही हुने उनीहरुको अनुभव समेत बताए ।

प्रतिक्रिया दिनुहोस्