​ एकीकृत नमुना सन्तपुर बस्ती निर्माण अन्तिम चरणमा



रौतहट, १० माघ
हाँस्यकलाकार द्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ले गत असोज ४ गते बाट निर्माण सुरु गरेको एकीकृत नमुना सन्तपुर बस्तीको कार्य अन्तिम चरणमा पुगेको छ ।

रौतहटको चन्द्रपुरस्थित निर्माण भएको बस्तीमा ४७ वटा घर, एक सामुदायिक भवन, मन्दिर, खानेपानीको धारा, सार्बजनिक शौचालय, भ्यु टावर, आधारभूत तहको स्कुल, बगैंचा लगायतका संरचना निर्माण गरिएको छ । चन्द्रपुर नगरपालिका–८ स्थित जीर्ण झुपडीमा बस्दै आएका माझी मुसहर, दुसाद, लोहार र हजामका ४७ परिवार अव माघ २१ गतेदेखि यो बस्तिमा बस्दैछन् ।

माघ २१ गते हस्तान्तरण गर्न लागिएको बस्तिको अहिले फिनिसिङ गर्ने कार्य भइरहेको धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीतारामले जानकारी दिए । ५ करोड ९५ लाखको लागतमा निर्माण हुँदै गरेको नमुना बस्तीका लागि १ करोड ३० लाख रकम अपुग भएको समेत उनले जानकारी दिए । दिन-दिनै सहयोग रकम जुटिरहे पनि छोटो समयमा यति ठूलो रकम जुटाउनुपर्ने भएकाले समस्या आएको समेत उनले बताए । सहयोगि मनहरुले सहयोग गरिरहेका कारण रकम चाँडै जुट्ने विश्वास रहेको पनि उनले बताए ।

एकीकृत नमुना सन्तपुर बस्ती निर्माणमा सहयोगीहरुको राम्रो साथ पाएकाले बस्ती निर्माण सुरु गर्दा तोकिएको समय भन्दा ३ दिन अगाडी वस्ती हस्तान्तरण गर्न सम्भव भएको कट्टेलले बताए ।

प्रतिक्रिया दिनुहोस्