करोडौं लगानीमा अत्याधुनिक सार्वजनिक शौचालय बन्ने



बिराटनगर, १० माघ
देशैभरि खुला दिसामुक्त अभियान चलिरहेका बेला मोरङको सुन्दरहरैंचा नगरपालिका भित्रका केही मुख्य बजारहरूमा ६ करोडभन्दा बढीको लगानीमा अत्याधुनिक सार्वजनिक शौचालय बन्ने भएका छन् । खुल्ला दिसामुक्त अभियान सार्वजनिक शौचालयकै अभावका कारण चुनौतीपूर्ण बन्दै गइरहेका बेला मोरङका विराटचोक, खोर्साने, सलकपुर, गोठगाउँ, गछिया, बलिया, तथा हरैंचामा ६ करोड ४० लाखको लगानीमा शौचालय बन्न लागको हो ।

स्थानीय जनताको लगानीमा बन्न लागेका शौचालयहरू अपाङ्गमैत्री समेत हुने अभियानका संयोजक तथा उध्योग-वाणिज्य संघ सुन्दरहरैंचाका पूर्वअध्यक्ष भोलेश्वर दुलाले बताए । ‘हामीले शौचालय निर्माण गर्नका लागि विराटचोकमा एउटा मेलाको आयोजना गरेरर केहि रकम संकलन गरेका छौं, ‘ दुलालले भने, ‘अन्य उध्योग-वाणिज्य संघ तथा केही संघ-संस्थाको सहयोगमा शौचालय निर्माण गर्न लागेका हौँ ।’ मोरङ जिल्लाकै नमूना नगरका रुपमा स्थापना भएको सुन्दरहरैंचा नगरपालिकाका अधिकांश बजारहरू व्यस्त मानिन्छन् । तैपनि अहिलेसम्म शौचालय भने निर्माण हुन सकेका थिएनन् ।

शौचालय निर्माण नहुँदा बजार भर्न आएका ग्राहकका लागि समस्या हुने गरेको थियो । ‘अब अत्याधुनिक सुविधासहितको शौचालय निर्माण गर्न लागेका छौं ।’ सुन्दरहरैंचा उध्योग-वाणिज्य संघका अध्यक्ष नवराज चापागाईंले भने, ‘केही वर्षभित्रै शौचालय बनाइसक्ने योजनाअनुरुप विराटचोक तथा हरैंचामा काम सुरु गरिसकेका छौँ, अन्य क्षेत्रको पनि जग्गा खरिद सकिएकाले सबैतिर चांडै काम सुरु हुनेछ । ‘महिला र पुरुषका लागि छुट्टा-छुट्टै शौचालय निर्माण गरिने बताउँदै उनले शौचालय दुर्गन्धरहित र अपाङ्गमैत्री हुने स्पष्ट पारे ।

बजारमा शौचालयको सुविधा भएपछि व्यापारमा समेत वृद्धि हुने व्यवसायीहरूको अपेक्षा छ । दुर्गन्ध फैलने डरले शौचालय अन्यत्र सार्न दबाब दिइरहेका व्यवसायीहरूले समेत सुविधासम्पन्न शौचालय बन्ने भएपछि निर्माणको समर्थन गरेका छन् । आफ्नो गाउँको पर्यावरण आफैले जोगाउनुपर्ने दुलालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्